भारतः विहारमा नौजनाको ज्यान लिएको 'नरभक्षी' बाघ मारियो

बङ्गाल टाइगर प्रजातिको बाघ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बङ्गाल टाइगर प्रजातिको बाघ (फाइल तस्बिर)
    • Author, मालु कर्सिनो
    • Role, बीबीसी न्यूज

भारतका प्रहरीले कम्तीमा नौजना मानिसको ज्यान लिएको एक नरभक्षी बाघलाई शनिवार गोली हानी मारिदिएका छन्।

चम्पारणको नरभक्षी नाम दिइएको उक्त जनावरको शिकारमा संलग्न टोलीमा करिब २०० जना प्रहरी तथा जिल्ला अधिकारीहरू रहेका थिए। उक्त बाघलाई फेला पार्न केही अधिकारीहरूले हात्ती चढेर गस्तीसमेत गरेका थिए।

बाल्मिकी बाघ आरक्षको उक्त भाले बाघका कारण त्यस जङ्गल क्षेत्र वरपरका समुदायमा डर तथा त्रासको वातावरण फैलिएको थियो।

संसारमा जङ्गली अवस्थामा रहेका बाघहरूमध्ये भारतमा त्यस्तो बाघको सङ्ख्या ७० प्रतिशत रहेको छ।

जनावरहरूलाई संरक्षित अवस्थामा राखिने भारतका बाघ आरक्षहरूको आकार त्यसमा बस्ने बाघहरूको सङ्ख्या बढेको अनुपातमा बढेको छैन।

यसकारणले गर्दा केही ठूला बाघहरू आहाराका लागि मानवबस्ती रहेका क्षेत्रमा निर्भर हुन पुग्दछन् र परिणाम स्वरूप घरपालुवा बस्तुभाउ र जनावरहरूका साथै कहिलेकाहीँ मानिसहरू पनि बाघको आक्रमणमा पर्ने गर्छन्।

'नरभक्षी'

उक्त नरभक्षी बाघलाई मार्ने अभियानको नेतृत्व विहार प्रहरीले गरेको थियो जस्ले सितलटोला बालुवा नाम गरेको गाउँको उखु खेतमा घेराबन्दी गरेर टी-१०४ नाम दिइएको उक्त बाघलाई मारेको थियो।

उक्त क्षेत्रका प्रमुख वन्यजन्तु वार्डन कुमार गुप्ताले टाइम्स अफ इन्डिया पत्रिकासँग कुरा गर्दै उक्त बाघलाई "मानव जीवनका लागि खतरनाक" ठहर गरिएको थियो भने।

वाल्मिकी टाइगर रिजर्भका निर्देशक नेसमनी के का अनुसार उक्त टी-१०४ बाघको खोजी शनिवार नै आरम्भ गरिएको थियो। एकजना आमा र उनको बच्चा बाघको आक्रमणमा मारिएका भन्ने समाचार आएको केही समयपछि नै शिकारी टोली परिचालन गरिएको थियो।

हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै एकजना गाउँवासी पल्टु महतोले "सारा गाउँ नै रातभरि नसुतेर" बाघको शिकारमा सघाएको बताए। उनले भने, "हामीले रातभरि ढुङ्गा बजाएर बस्यौँ त अरूले धातुका भाँडा बजाएर बाघलाई धपाउने प्रयास गरेका थिए।"

गुप्ताका अनुसार बाघलाई ट्र्याङ्क्वीलाइजर प्रहार गरेर लट्ठ्याउने र पक्रने प्रयास सफल हुन सकेन। शिकारीहरूको टोलीको घेराबन्दीमा परेको बाघमा "डरको कुनै सङ्केतसमेत देखिएन" उनले भने।

हात्तीमा सवार दुईवटा टोली बाघको खोजीमा जङ्गलमा पसेको थियो भने तेस्रो टोली उक्त बाघ भागेर आउन सक्ने ठानिएको बाटोमा पर्खेर बसेको थियो।

शनिवार स्थानीय समय अनुसार दिउँसोको सवा तीन बजे बाघलाई मारिएको थियो।

सन् २०१९ को सरकारी तथ्याङ्क अनुसार बाघको आक्रमणबाट भारतमा वर्षेनी ४० देखि ५० जना मानिसको ज्यान जाने गरेको थियो।