अफगानिस्तान: ट्यूशन सेन्टरमा आत्मघाती बम आक्रमण, तयारी परीक्षामा सहभागी छात्राहरूको मृत्यु

तस्बिर स्रोत, Getty Images
अफगानिस्तानको राजधानी काबुलमा एउटा ट्यूशन सेन्टरमा गरिएको आत्मघाती आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा अधिकांश महिला रहेको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन्।
दास्त-ए बार्सीस्थित काज शिक्षा केन्द्रमा भएको हमलामा करिब ३० अन्य घाइते भएका छन्।
विद्यार्थीहरू एउटा विश्वविद्यालयको तयारी परीक्षामा रहेको बेला बम विस्फटोन भएको थियो। हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।
त्यो क्षेत्रमा अल्पसङ्ख्यक हजारा समुदायको बसोबास छ। इस्लामिक स्टेट समूहले उक्त समुदायमाथि आक्रमण गर्ने गरेको छ।
पीडित को हुन्?
स्थानीय टीभी र सामाजिक सञ्जालमा राखिएका फुटेजमा नजिकैको अस्पतालमा राखिएका शवहरू देखिन्छ।
अन्य सञ्चारमाध्यमले निजी कलेजको भग्नावशेष र कक्षाकोठाभित्रका टेबलहरू उल्टिएको अवस्थामा देखाएका छन्।
आफ्नी बहिनीको खोजी गर्दै एउटा अस्पतालमा पुगेकी एक महिलाले एएफपी समाचारसंस्थासँग भनिन्,"हामीले यहाँ उनलाई भेटाएनौँ। उनी १९ वर्षकी थिइन्।"
प्रत्यक्षदर्शीले बीबीसीलाई अधिकांश पीडित महिला भएको बताएका छन्। एक घाइते विद्यार्थीले एएफपी समाचारसंस्थालाई बताएअनुसार आक्रमण भएको समयमा उक्त कोठामा ६०० मानिस थिए।
काज ट्यूशन सेन्टर एउटा निजी कलेज हो जहाँ छात्र र छात्रा दुवै अध्ययन गर्न जान्छन्।
अघिल्लो वर्षको अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा अधिकांश छात्रा पढ्ने विद्यालय बन्द रहेका छन्। तर कतिपय निजी विद्यालय खुला छन्।
अधिकांश हजाराहरू शिया मुसलमानहरू हुन् र उनीहरूलाई लामो समयदेखि सुन्नी इस्लामको पक्षधर रहेका आईएस र तालिबानहरूले निसानामा पार्दै आएका छन्।
हजारा अफगानिस्तानको तेस्रो ठूलो जातीय समूह हुन्।

आक्रमणको निन्दा
शुक्रवार तालिबानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले घटनास्थलमा सुरक्षाकर्मी पुगेको बताउँदै सो आक्रमणको निन्दा गरेका छन्।
अब्दुल नाफी तकुरले गैरसैनिक नागरिकरूलाई आक्रमण गर्नुले "शत्रुको अमानवीय क्रूरता र उनीहरूमा रहेको नैतिक आचरणको अभाव" प्रमाणित गरेको बताए।
सो हमलाको संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले भर्त्सना गरेका छन्।
अफगानिस्तानस्थित अमेरिकी नियोगमा कार्यरत कूटनीतिक अधिकारी केरन डेकरले विद्यार्थीहरूले भरिपूर्ण कक्षाकोठामा हमला गर्नु कायरतापूर्ण भएको उल्लेख गर्दै ट्वीट गरेकी छन्।
अफगानिस्तानमा तालिबानले शासन हातमा लिएयता केही सुधार भएको सुरक्षा अवस्था हालैका महिनाहरूमा बिग्रिँदै गएको छ।
ती हमलाहरू सर्वसाधारण र तालिबानका समर्थकहरू पनि निसानामा परेका छन्।
कतिपय आक्रमणको जिम्मेवारी तालिबानको प्रतिद्वन्द्वी रहेको आईएसले लिएको छ।
दस्त-ए बार्सी क्षेत्रमा अस्पताल र विद्यालयहरूमा शृङ्खलाबद्ध आक्रमणहरू भएका छन्। तीमध्ये अधिकांश आईएसले गराएको ठानिएको छ।
अघिल्लो वर्ष तालिबानले सत्ता सम्हाल्नुअघि त्यहाँ रहेको एउटा छात्राहरू अध्ययन गर्ने विद्यालयमा भएको बम आक्रमणमा कम्तीमा ८५ जनाले ज्यान गुमाएका थिए र सयौँको सङ्ख्यामा घाइते भएका थिए।
यो पनि हेर्नुहोस्









