अफगानिस्तान: कुनै बेला तालिबानका निसाने‍बाज जो अहिले कार्यालयको काम गर्छन्

ऐनुदिन आफू लडाइँका बेला र अहिले पनि खुसी रहेको बताउँछन्
तस्बिरको क्याप्शन, ऐनुदिन आफू लडाइँका बेला र अहिले पनि खुसी रहेको बताउँछन्

गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानमा शक्ति हत्याएसँगै त्यहाँका धेरै जनताको जीवन फेरियो।

पछिल्लो वर्षमा दशौँ हजार अफगानहरूलाई उद्धार गरेर देशबाहिर पुर्‍याइयो।

बालिका तथा किशोरीहरू पढ्ने धेरैजसो माध्यमिक विद्यालयहरू बन्द गर्न भनियो। त्यहाँ गरिबी बढ्दो क्रममा छ।

तर चार दशकभन्दा बढी समयमा पहिलो पटक देश युद्धग्रस्त अवस्थामा छैन।

पहिले व्याप्त उच्च भ्रष्टाचार समेत उल्लेख्य रूपमा घटेको छ।

तालिबानले सत्ता हत्याएका बेला बीबीसी संवाददाता सिकुन्दर केर्मानी अफगानिस्तानमा थिए। र गत वर्ष आफूले भेटेका मानिसहरू भेट्न उनी अहिले त्यहाँ फर्किए।

नयाँ दैनिकीमा तालिबानका निशानेबाजहरू

गत गर्मियाममा देशभर अफ्गान सरकारको नियन्त्रणमा रहेका ठाउँमा तालिबानको प्रभाव बढिरहँदा विदेशी फौजहरू भने फर्कने तयारीमा थिए।

त्यसैबेला हामीले उत्तरी जिल्ला बाखमा तालिबानका एकजना प्रतिबद्ध लडाकु ऐनुदिनलाई भेट्यौँ।

हामी कुरा गरिरहँदा उनका आँखामा कठोर र निर्दयी भाव देखिन्थ्यो।

"सर्वसाधारणलाई हानी नपुर्‍याउन हामी सक्दो गरिरहेका छौँ, तर यो लडाइँ हो र मानिसहरू मर्नेछन्," हिंसाको औचित्य कसरी पुष्टि गर्नुहुन्छ भन्ने मेरो प्रश्नमा उनले भनेका थिए।

"यहाँ अफगानिस्तानमा इस्लामिक प्रणालीबाहेक हामी केही स्विकार्नेछैनौँ।"

हाम्रो संवाद छोटो थियो र युद्ध जारी रहेको त्यसबेला सरकारी हवाई हमलाको जोखिम अझै जारी थियो।

केही महिनापछि तालिबान सरकार स्थापित भएसँगै अफगानिस्तान र उज्बेकिस्तानलाई छुट्याउने अमुदर्या नदिछेउ बसेर तारेको माछा खाँदैगर्दा ऐनुदिनले आफू कुनैबेला तालिबानको निशानेबाज रहेको बताए।

उनले अफगान सुरक्षा फौजका दर्जनौँ सदस्यहरूको हत्या गरेका बताउँछन्।

उनको अनुमानमा दशवटा फरक फरक घटनामा उनी स्वयं घाइते भएका छन्।

यद्यपि तालिबानले शक्ति हत्याएपछि उनी बाख प्रान्तको भूमि तथा शहरी विकास सम्बन्धी निर्देशकको भूमिकामा नियुक्त भए।

सत्तामा तालिबान आएपछिको सुरुवाती दिनमा मैले उनलाई लामो समय लडेको "जिहाद"को के तपाईँलाई न्यास्रो लाग्छ भनेर सोधेको थिएँ।

उनले ठाडै जबाफ दिए: "लाग्छ।"

बाख

अहिले एक वर्षपछि इस्लामिक इमिरेटको ठूलो सेतो र कालो झण्डासाथ काठे टेबलपछाडि कुर्सीमा बसेका उनी अझै आफ्नो नयाँ जीवनमा अनुकूलित हुन सङ्घर्ष गरिरहेका देखिन्छन्।

तर उनले आफ्नो भूमिकाको महत्त्वबोध गरेको बताउँछन्।

"हामी हाम्रा शत्रुहरूविरूद्ध बन्दूकले लडिरहेका थियौँ, ईश्वरलाई धन्यवाद छ कि हामीले उनीहरूको प्रतिरक्षा गर्न सक्यौँ, र अहिले हामी हाम्रा मानिसहरूलाई कलमको माध्यमबाट सेवा गर्न खोजिरहेका छौँ।"

ऐनुदिनले आफू लडाइँका बेला र अहिले पनि खुसी रहेको बताउँछन्।

अग्रमोर्चामा रहेका केही अन्य तालिबान सदस्यहरूले अनौपचारिक कुराकानीमा भने अफिसमा बसेर काम गर्ने नयाँ भूमिकाले आफूहरूलाई दिक्क लागेको बताउँछन्।

ऐनुदिनको मातहतमा रहेर काम गर्ने धेरैजसो कर्मचारीहरू अघिल्लो सरकारको पालामा नियुक्त भएका हुन्।

हामीले शहरमा अन्यत्र भने पूर्व तालिबान लडाकूहरूले जागिर खोसिदिएका केही गुनासाहरू त्यहाँका बासिन्दाहरूबाट सुनेका छौँ।

मैले ऐनुदिनलाई के उनी आफूले पाएको पदका लागि योग्य छन् त भनेर सोधेँ।

"हामीले दुवैखाले सैन्य र आधुनिक शिक्षा लिएका छौँ," उनले भने।

"सैन्य पृष्ठभूमिबाट भए तापनि हामी अहिले यस क्षेत्रमा काम गरिरहेका छौँ। तपाईँले नतिजाहरू अघिल्लो सरकारसँग तुलना गर्न सक्नुहुन्छ, र कसले राम्रो काम गरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ।"

तर उनले छापामार युद्धभन्दा "सुशासनको विषय लड्न कठिन छ...युद्धमा जिम्मेवारी कम हुने भएकाले लड्न सजिलो थियो" भने।

तालिबान विद्रोहीबाट शासक भएकाले यो समय तालिबान आन्दोलनका लागि चुनौतीपूर्ण छ।

बलियो सुरक्षा

अफगानिस्तानका मुख्य शहरमा कहाली लाग्दा बम विस्फोटन हुँदा सञ्चारमाध्यममा धेरैको ध्यान खिचिने गर्छ।

तर धेरै पीडादायी द्वन्द्व ग्रामीण क्षेत्रका मुख्य मोर्चामा हुनेगर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तामा लाखौँ मानिस भोकमरीको जोखिममा

सामान्य मानिसहरू अन्तर्राष्ट्रिय फौजको सहयोग पाएका अफगान सेना र तालिबानबीच चेपुवामा पर्छन्।

कतिपयले ती दुवैपक्षबीच केही भिन्नता देख्दैनन्। ती मानिसहरूको इच्छा कुनै पक्ष नलिइकन शान्तिपूर्ण ढङ्गले बाँच्न पाउने हुनेगर्छ।

सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई महिनौँको तलब दिइएको छैन र उनीहरूको तलब समेत कटौती गरिएको छ।
तस्बिरको क्याप्शन, सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई महिनौँको तलब दिइएको छैन र उनीहरूको तलब समेत कटौती गरिएको छ।

तालिबान सत्तामा आएको केही समयपछि हामी राजधानी काबुलको दक्षिणपूर्वमा पर्ने लोगार प्रान्त अन्तर्गतको पद्ख्वाब गाउँमा पुगेका थियौँ।

त्यहाँका मानिसहरूले केही साता अघिसम्म कसरी युद्धले उनीहरूको जीवन छायामा पार्‍यो भनेर त्यसको सङ्केत देखाउन खोजिरहेका थिए।

"अवस्था निकै खराब थियो," टायलको काम गर्ने व्यक्ति समिउल्लाहले भने।

"हामी केही गर्न सक्दैनथ्यौँ, पसलहरू वा बजार जान नि पाउँदैनथ्यौँ। धन्य भगवान अहिले हामी जहाँ पनि जान सक्छौँ।"

पद्ख्वाबजस्ता गाउँमा तालिबानका विचार शहरी क्षेत्रमा बस्ने मानिसहरूसँग भन्दा धेरै मिल्छ।

अघिल्लो सरकारका पालामा समेत महिलाहरूले सार्वजनिक ठाउँमा अनुहार ढाक्ने र स्थानीय बजारमा बिरलै देखिने गर्थे।

हामी हालै त्यहाँ फर्कँदा बजारको केन्द्रभागमा रहेका घरमा गोलीले पारेका प्वाल पुरिएका थिए। र बासिन्दाहरूले सुरक्षामा आएको सुधारका लागि कृतज्ञता व्यक्त गरिरहेका थिए।

"यो सबै धेरै मानिसहरू, खासगरी कृषकहरू घाइते हुनु र मारिनुअघि भयो। धेरै पसलेहरू मारिए," लुगा सिउने काम गर्ने गुल मोहमदले भने।

तर अमेरिका फर्किएसँगै अफगानिस्तानको अर्थतन्त्र धराशायी बनिरहेको छ।

विदेशी सहायताहरू त्यहाँको सार्वजनिक खर्चको ७५ प्रतिशत हिस्सा ओगट्छन्। त्यो घटिरहेको छ र धेरैजसो अन्तर्राष्ट्रिय ब्याङ्कहरूले आर्थिक प्रतिबन्ध तोडिने भन्दै त्यहाँ रकमान्तर गर्न रोकिरहेका छन्।

तालिबानले अफगानिस्तानको केन्द्रीय ब्याङ्कका रकम रोक्का गरिदिएको भन्दै अमेरिकालाई दोष दिन्छ।

पश्चिमा कूटनीतिज्ञहरूले बारम्बार महिलाहरूप्रतिको तालिबानको कडा नीतिहरूले गर्दा उसलाई दिइने जुनकुनै सहयोगमा सरकारलाई छल्नुपर्न अवस्था रहने बताउँदै आएका छन्।

जसले गर्दा यसअघि शहरी क्षेत्रमा मध्यमवर्गीय परिवारको कमाई ह्वात्तै घटेको छ।

सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई महिनौँको तलब दिइएको छैन र उनीहरूको तलब समेत कटौती गरिएको छ।

पहिले नै कठिन अवस्थामा हुनेहरूलाई घरबार धान्न झन् धौधौ परिरहेको छ।

पद्ख्वाबमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा दैनिक बढिरहेको खर्च र कामको अभाव साझा गुनासो छन्।

"अवस्था निकै खराब थियो," टायल बनाउने काम गर्ने व्यक्ति समिउल्लाह भन्छन्
तस्बिरको क्याप्शन, "अवस्था निकै खराब थियो," टायल बनाउने काम गर्ने व्यक्ति समिउल्लाह भन्छन्
1px transparent line

"अर्थतन्त्र ध्वस्त भएको छ, केही काम र रोजगारी छैन," समिउल्लाहले भने।

"सबैजना विदेशमा रहेका आफन्तको भरमा छन्।"

"मानिसहरू पिठो किन्न सकिरहेका छैनन्, मासु वा फलफूलको कुरै छाडौँ," गल मोहम्मदले भने।

"पहिले पैसा धेरै हुने कुरा सत्य हो तर हामीले त्यसबेला धेरै दबाव खेप्यौँ," अफगान सरकारका फौजले गाउँमा धेरै दुर्व्यवहार गरेको सम्झँदै उनले भने।

देशमा खुला रूपमा तालिबानको आलोचना दुर्लभ विषय बनेको छ तर उनीहरूको जितले धेरैको जीवन सहज बनाएको छ।

तर अन्य कतिपयले आफ्नो परिश्रमले बनाएको देश आफ्नै अघि हराइरहँदा अब के होला भन्ने लागेको बताउँछन्।

यूट्यूबरका प्रयास

गतवर्ष तालिबान लडाकूहरू काबुल प्रवेश गर्न थालेसँगै राजधानीका धेरै बासिन्दाहरू त्रस्त बने।

उक्त शहरमा कैयौँ वर्षदेखि उक्त समूहले आत्मघाती बमहमला र निशानाबद्ध हत्याहरू गरेका थिए।

तर रमाइला यूट्यूब भिडिओहरू बनाउने एकजना युवती रोइनाले उनीहरूका पक्षमा बोल्ने निर्णय लिइन्।

"महिला र पुरूषका अधिकारहरू बराबर छन्," उनले गतवर्षको अस्थिरतामाझ भनेकी थिइन्।

एक वर्षपछि पनि रोइनामा आफ्नो काम जारी राख्न नपाइने हो कि भन्ने अनिश्चितता छ
तस्बिरको क्याप्शन, एक वर्षपछि पनि रोइनामा आफ्नो काम जारी राख्न नपाइने हो कि भन्ने अनिश्चितता छ

आफ्नो काम जारी राख्न पाइएला-नपाइएला भन्ने त्यसबेला उनलाई केही थाहा थिएन।

एक वर्षपछि पनि उनमा त्यो अस्थिरता कायमै छ। त्यस्तो उनलाई मात्र भएको होइन, देशभरि देखिन्छ।

संसारभर र खासगरी अफगानहरूमा - र तालिबानको उच्च ओहदामा पनि बालिकाहरूको माध्यमिक विद्यालय देशभरि बन्द गरिने नेतृत्वको निर्यणलाई लिएर असन्तोष छ।

पछिल्लो तालिबान सरकार सन् १९९० को दशकमा स्थापना भएको थियो। त्यसबेला भन्दा फरक साना बालिकाहरूलाई र विश्वविद्यालयमा भिन्न समय छुट्याएर पढिरहेका महिला विद्यार्थीहरूलाई पढाइ जारी राख्न दिइएको छ।

तर कट्टरपन्थी र प्रभावशाली तालिबान नेताहरूले किशोरीहरूलाई पढ्न दिन खोजिरहेका छैनन्।

र दुई दशकमा महिला अधिकारका क्षेत्रमा भएका प्रगति उल्टने देखिन्छ।

त्यसैगरी शिक्षा वा स्वास्थ्य क्षेत्रबाहेकका सार्वजनिक क्षेत्रमा काम गर्ने महिलाहरूलाई कार्यालय नफर्कन भनिएको छ।

तर पनि तुलनात्मक रूपमा कम सङ्ख्यामा निजी व्यवसायमा काम गरिरहेका महिलाहरूले भने आफ्नो काम जारी राख्न पाएका छन्।

रोइनाले अझै परिचय लुकाएर भिडिओहरू बनाइरहेकी छन्। उनी स्काफलाई बलियोगरी कसेर अनुहारलाई ढाक्छिन्।

काबुल वरपर डुल्दा उनी पहिलेभन्दा झन् परम्परागत भएर अनुहार ढाक्छिन्। तालिबानले सार्वजनिक ठाउँमा महिलाका लागि त्यो अनिवार्य नियम बनाएका छन्।

तर हाललाई धेरै शहरमा त्यसलाई ठूलो समस्याका रूपमा लिइएको छैन र महिलाहरू कपाल मात्र ढाकेका देखिन्छन्।

अहिलेको अवस्थाबारे बताउन तालिबान लक्षित हुनेगरी रोईनाले सजगतापूर्वक शब्द चयन गर्छिन्।

"महिला र केटीहरूले हिजाबलाई मान्छन्। उनीहरूलाई इस्लामले दिएको सबै स्वतन्त्रता दिनुपर्छ। उनीहरूको अधिकार खोसिनुहुन्न। उनीहरूलाई काम गर्न र पढ्न दिनुपर्छ।"