डार्ट नासाः अमेरिकी अन्तरिक्ष निकायले पठाएको यो प्रोब डाइमर्फस क्षुद्रग्रहमा योजनाबद्ध किसिमले ठोक्कियो

    • Author, जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

अमेरिकी अन्तरिक्ष निकाय नासाले एउटा क्षुद्रग्रहमा डार्ट प्रोब अर्थात् विशेष खालको अन्तरिक्षयान पठाएर गरेर प्रहार गरेको छ। सो क्रममा उक्त प्रोब नष्ट भएको छ।

उक्त ठक्कर नियोजित थियो। अन्तरिक्षस्थित उक्त चट्टान पृथ्वीका लागि जोखिमपूर्ण हुनसक्ने ठानी त्यसलाई अन्यत्र मोड्न सकिएला कि भनेर परीक्षण गरिएको थियो। 

डार्ट प्रोबमा जडित क्यामराले १६० मिटर फराकिलो डाइमर्फस क्षुद्रग्रहमा ठक्कर हुँदासम्मको अवस्थाका लागि प्रतिसेकेन्ड एउटा तस्बिर पृथ्वीमा पठाएको थियो। 

सो प्रोब नष्ट भएसँगै तस्बिर प्रवाह हुने क्रम रोकिएको थियो। 

त्यसरी डार्टको क्यामरामा डाइमर्फसको दृश्य देखिएसँगै जोन्स हप्किन्स यूनिभर्सिटीको अप्लाइड फिजिक्स ल्याब्रटरी (जेएचयू-एपीएल) मा हर्षोल्लास गरिएको थियो।

यद्यपि त्यसको केही क्षणमै त्यो खाली देखियो। 

ठक्कर

प्रारम्भिक आकलनअनुसार उक्त ठक्कर डाइमर्फसको मध्यभागभन्दा १७ मिटरजति छेउमा भएको थियो। 

नासा नेतृत्वको उक्त अभियान सफल भयो कि भएन त्यो थाहा पाउन अझै केही साता लाग्नेछ। 

तर नासाको प्लानेटरी साइन्सकी निर्देशक डा. लोरी ग्लेज भने केही उल्लेख्य परिणाम हासिल भएकोमा आफू ढुक्क भएको बताउँछिन्। 

"हामी मानवजातिको नयाँ युगतर्फ जाँदै छौँ, जुन युगमा सम्भवत: हामीसँग खतरनाक क्षुद्रग्रहको ठक्करबाट आफूलाई जोगाउन सामर्थ्य हुनेछ। कस्तो अद्भुत काम - हामीसँग यसअघि कहिल्यै यस्तो क्षमता थिएन," उनले संवाददाताहरूसँग भनिन्। 

जेएचयू-एपीएलकै मिशन प्रणाली इन्जिनियर डा. एलिना एडम्सले बाह्य प्रहार खेप्न सक्ने क्षमता भएकाले "पृथ्वीवासीहरू आनन्दले सुत्न सक्ने" बताइन्। 

के यो अभियान सफल भएको हो

अध्ययनकर्ताहरूले यो अभियान कति सफल भयो भनेर निर्क्योल गर्नेछन्।

त्यसका लागि डाइमर्फसले अर्को क्षुद्रग्रह डिडिमसलाई परिक्रमा गर्ने कक्षमा आएको परिवर्तनको अध्ययन हुनेछ।

पृथ्वीमा जडित टेलिस्कोपहरूबाट ती दुई चट्टानको युग्म प्रणालीलाई मापन गरिनेछ।

ठक्कर हुनुअघि डाइमर्फसले ७८० मिटर फराकिलो आफ्नो साथी क्षुद्रग्रहलाई ११ घण्टा ५५ मिनेट लगाएर परिक्रमा गरेको थियो। 

ठक्करपछि त्यो केही मिनेटले कम हुने ठानिएको छ। 

पृथ्वीबाट कति टाढा छ यो क्षुद्रग्रह

उक्त गतिविधिका प्रमाणहरू प्रमाण पृथ्वीबाट एक करोड १० लाख किलोमिटर परबाट आएका थिए। सबै कुरा योजनानुरूप नै भएको देखिन्छ। 

डार्ट अन्तरिक्षयान प्रतिघण्टा २२,००० किलोमिटरको सापेक्षित गतिले अगाडि बढिरहेको थियो। 

उक्त यानमा जडित अनुसन्धानमूलक सफ्टवेअरको काम ठूलो चट्टाननजिकै रहेको सानो चट्टानलाई ठम्याउनु थियो। 

वैज्ञानिकहरूले छोटो समयका ती दुई क्षुद्रग्रहका भिन्नभिन्न आकार लागि देखे।

सोचे जस्तै डिडिमस हीरा आकारको थियो। त्यसको सतहमा ढुङ्गाहरू थिए तर कतै समथर भाग समेत देखिएको थियो। 

डार्टको क्यामरा प्रणालीमा काम गरेकी डा. क्यारोलिन एर्न्स्टले डाइमर्फस देख्न पाउँदा आफू निकै नै उत्साहित बनेको बताइन्। 

उनले भनिन्, "त्यो लोभलाग्दो देखिन्छ। यो त्यही सानो चन्द्रमा हो - यो निकै सुन्दर छ।"

डार्ट अङ्ग्रेजीमा डबल एस्टरोइड रिडिरेक्शन टेस्टको सङ्क्षिप्त रूप हो।

के हो क्षुद्रग्रह

क्षुद्रग्रहहरू सौर्यप्रणाली निर्माणका बेला बाँकी रहेका चट्टानहरू हुन्। तीमध्ये अधिकांश पृथ्वीका लागि खतरा होइनन्।

तर कुनै बेला सूर्यको परिक्रमा गर्दा ती चट्टान र पृथ्वीको बाटो एउटै पर्दा क्षुद्रग्रहहरू पृथ्वीसँग ठोकिन सक्छन्।

साढे ३२ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको डार्ट मिशनले बाइनरी भनिने एकअर्कालाई परिक्रमा गर्ने दुईवटा क्षुद्रग्रहलाई लक्ष्य बनाएको छ। ठूलो डिडिमस ७८० मिटरको छ भने डाइमर्फस १६० मिटर चौडा छ।

डाइमर्फसको आकारको चट्टान पृथ्वीमा ठोक्किएर विस्फोट भएमा परमाणुबम विस्फोट हुँदाभन्दा धेरै ऊर्जा निस्किन्छ अनि कुनै बस्ती भएको क्षेत्रमा लाखौँ मानिसको ज्यान लिन सक्छ।

तीन सय मिटरभन्दा ठूलो क्षुद्रग्रह ठोक्किँदा एउटा महादेशभरि र एक किलोमिटरभन्दा बढीको क्षुद्रग्रह ठोक्किए विश्वभरि असर गर्छ।

डाइमर्फससँग ठोक्किनुअघि डार्टले अन्तरिक्षमा सूर्यलाई परिक्रमा गरेको थियो। त्यतिबेला डाइमर्फस पृथ्वीबाट ६७ लाख माइल टाढा थियो।

डाइमर्फससँग ठोक्किँदा डार्टको गति ६.६ किलोमिटर प्रतिसेकन्डजति थियो।

त्यसबाट उक्त खगोलीय पिण्डको गति एक मिलिमिटर प्रतिसेकन्डको पनि एउटा सानो अंशले परिवर्तन भएको हुनसक्छ।

अत्यन्तै कम परिवर्तन भए पनि त्यो पृथ्वीसँग ठोक्किने मार्गमा भएको क्षुद्रग्रहलाई नठोक्किने बनाउन यथेष्ट हुने अपेक्षा गरिएको छ।

सन् २००५ मा अमेरिकी संसद्‌ले नासालाई पृथ्वीनजिक रहेका १४० मिटरभन्दा बढी चौडाइ भएका क्षुद्रग्रहहरू खोज्न निर्देशन दिएको थियो।

त्यति सानो कुनै पनि क्षुद्रग्रहबाट पृथ्वीलाई अहिले कुनै जोखिम छैन तर ४० प्रतिशत मात्रै क्षुद्रग्रहको अहिलेसम्म खोजी भएको छ।

यो पनि हेर्नुहोस्