महारानी एलिजाबेथ अन्तिम संस्कार: यस्तो छ आजको योजना र समयतालिका

Black and white image of the Queen

तस्बिर स्रोत, Getty Images

सोमवार महारानी एलिजाबेथ द्वितीयाको राजकीय अन्तिम संस्कार हुन लागेको छ। उनी ब्रिटेनमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रप्रमुख हुन्।

वेस्टमिन्स्टर एबीमा आयोजित एउटा भव्य समारोहपछि उनलाई स्थानीय समयानुसार साँझपख समाधिस्थ गरिनेछ।

विन्ड्सर कासलस्थित च्यापलमा अन्तिम पारिवारिक समारोह हुनुअघि लन्डनमा उनको शवयात्रा निस्किनेछ।

आफ्नो अन्तिम संस्कारको योजनामा महारानीले व्यक्तिगत रूपमा केही कुरा थपेको बकिङ्गम राजदरबारले जनाएको छ।

सेप्टेम्बर १९, सोमवार अर्थात् आज हुने कार्यक्रमबारे अहिलेसम्म हामीलाई थाहा भएका कुरा यहाँ प्रस्तुत गरिएको छ।

जीएमटी ६:३०

महारानीको शवपेटिका राखिएको लन्डनको केन्द्रमा अवस्थित वेस्टमिन्स्टर हलमा सार्वजनिक श्रद्धाञ्जलिको कार्यक्रम सोमवार सबेरै टुङ्गिसकेको छ।

हजारौँ मानिसहरू उनको शवपेटिका हेर्न कुरेर बसिरहेका छन्।

जीएमटी ८:००

केही पर वेस्टमिन्स्टर एबीमा पाहुनाहरूका ढोका खुला गरिनेछ। जीएमटी ११ बजे हुने हुने समारोहका लागि उनीहरू त्यहाँ भेला हुनेछन्।

विश्वभरिबाट राष्ट्रप्रमुखहरू र शीर्षस्थ नेताहरू शोकाकुल राजपरिवारलाई भेटेर महारानीको जीवन र सेवा स्मरण गर्न यूके आएका छन्।

यूकेका वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्रीहरू पनि त्यहाँ उपस्थित हुनेछन्।

युरोपका विभिन्न देशबाट राजपरिवारका सदस्यहरू समेत आउने अपेक्षा गरिएको छ। तीमध्ये धेरैजसो महारानीसँग रक्तसम्बन्ध भएका नातेदारहरू हुन्।

बेल्जियम र स्पेनका राजा र रानी समेत त्यहाँ उपस्थित हुनेछन्।

जीएमटी १०:४४

अब अन्तिम संस्कार को अनुष्ठानको क्रम सुरु हुनेछ। बुधवार अपराह्णदेखि सार्वजनिक श्रद्धाञ्जलिका लागि राखिएको स्थानबाट महारानीको शवपेटिका उठाएर अन्तिम संस्कार समारोहका लागि वेस्टमिन्स्टर एबीतिर लगिनेछ।

महारानीको शवपेटिका रोयल नेभीको स्टेट गन क्यारिजमा राखेर १४२ जलसैनिकले बोक्नेछन्।

महारानी एलिजाबेथ द्वितीया

उक्त बग्गी यसअघि सन् १९७९ मा राजकुमार फिलिपका काका लर्ड माउन्टब्याटनको अन्तिम संस्कारका बेला देखिएको थियो।

महारानीका पिता राजा जोर्ज छैटौँको अन्तिम संस्कारका बेला सन् १९५२ मा पनि उक्त बग्गी प्रयोग भएको थियो।

शवयात्राका बेला स्टेट गन क्यारिज पछिपछि नयाँ राजा र उनका छोराहरू राजकुमार विलियम र राजकुमार ह्यारीसहित राजपरिवारका वरिष्ठ सदस्यहरू हुनेछन्।

स्कटिश र आइरिश रेजिमन्टका पाइप्स एन्ड ड्रम्सले उक्त समारोहको नेतृत्व गर्नेछ। सो अवसरमा रोयल एअर फोर्स र गोर्खा सैनिकहरू पनि सँगसँगै हुनेछन्।

उक्त मार्गमा रोयल नेभी र मरीनका सैनिकहरू पनि हुनेछन्। पार्लिमन्ट स्क्वेअरमा गार्ड अफ अनर तैनाथ हुनेछ। त्यसमा तीनवटा सैन्य सेवा र रोयल मरिन्स ब्यान्ड सहभागी हुनेछन्।

जीएमटी ११:००

वेस्टमिन्स्टर एबीमा सुरु हुने महारानीको अन्तिम संस्कार समारोहमा २,००० अतिथि सहभागी हुने अपेक्षा गरिएको छ।

त्यहाँ विशेषतः राजा वा रानीका लागि तय गरेको विशेष विधिअनुसार राजकीय अन्तिम संस्कार समारोह हुनेछ।

महारानी एलिजाबेथ द्वितीया

अन्तिम संस्कारको समारोह हुने एबी ऐतिहासिक गिर्जाघर हो जहाँ ब्रिटेनका राजा र रानीलाई राजमुकुट पनि पहिराइन्छ।

त्यहाँ सन् १९५३ मा महारानी एलिजाबेथ द्वितीयालाई राजमुकुट पहिराइएको थियो।

त्यस ठाउँमै सन् १९४७ मा तात्कालिक राजकुमारी एलिजाबेथले राजकुमार फिलिपसँग विवाह गरेकी थिइन्।

महारानी एलिजाबेथ द्वितीया

अठारौँ शताब्दीपछि राजगद्दीमा बसेका राजा वा रानीको त्यहाँ अन्तिम संस्कार समारोह भएको छैन।

यद्यपि सन् २००२ मा त्यहीँ महारानीकी आमाको अन्तिम संस्कार सम्पन्न भएको थियो।

त्यहाँको समारोहको सञ्चालन द डीन अफ वेस्टमिन्स्टरका डेभिड होइलले गर्नेछन् र क्यान्टरबरीका आर्चविशप जस्टिन वेल्बीले प्रवचन दिनेछन्।

प्रधानमन्त्री लिज ट्रसले एउटा धार्मिक ग्रन्थको एक अध्याय वाचन गर्नेछिन्।

जीएमटी ११:५५

उक्त समारोहको अन्तिमतिर केही बेर बिगुल बजाइनेछ। त्यसलाई लास्ट पोस्ट भनिन्छ। त्यसपछि दुई मिनेट देशभरि मौनधारण गरिनेछ।

महारानीको पाइपरले र एउटा विरहधुन बजाएपछि सो समारोह मध्यदिनतिर सम्पन्न हुनेछ।

जीएमटी १२:१५

समारोहपछि महारानीको शवपेटिकालाई वेस्टमिन्स्टर एबीबाट लन्डन हाइड पार्क कोर्नरस्थित वेलिङ्टन आर्चमा लगिनेछ।

बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध हुनेछन्। शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा अवस्थित घडी बिग बेनको घण्टी एक-एक मिनेटको अन्तरालमा बज्नेछ।

हाइड पार्कबाट प्रत्येक मिनेट तोपको सलामी दिइनेछ।

शवयात्राको अग्रभागमा रोयल क्यानेडियन माउन्टिड पोलिस हुनेछ।

शवयात्रामा आ‍-आफ्ना साङ्गीतिक ब्यान्ड भएका सातवटा समूह हुनेछन्। यूके र कमनवेल्थका सशस्त्र सुरक्षा सेवाका सदस्यहरू, प्रहरी र एनएचएस समेत सहभागी हुनेछन्।

क्वीन कन्सोर्ट कमिला, प्रिन्सेस अफ वेल्स, द काउन्टेस अफ वेसिक्स र डचिज अफ ससिक्स पनि कारमा चढेर यात्रामा सहभागी हुनेछन्।

झन्डै १ बजेतिर वेलिङ्टन आर्चमा शवपेटिकालाई न्यू स्टेट हअर्स नामक एउटा विशेष गाडीमा सार्दै विन्ड्सर कासलमा हुने अन्तिम यात्राका लागि लगिन्छ।

विन्ड्सर कासलमा झन्डै १,००० वर्षमा ४० शासक बसेका थिए। महारानीको जीवनमा उक्त स्थानको विशेष महत्त्व थियो।

महारानी एलिजाबेथ द्वितीया

युद्ध भइरहेको बेला लन्डनमा बमबारीको त्रास थियो।

त्यसैले राजकुमारी एलिजाबेथलाई त्यहाँ बस्न पठाइएको थियो।

पछिल्लो पटक कोभिड महामारीका बेला पनि महारानी एलिजाबेथ त्यहीँ बस्न गएकी थिइन्।

जीएमटी १५:००

यतिबेला महारानीको शवपेटिका भएको गाडी विन्ड्सर कासलको लङ वाकमा आइपुग्ने अपेक्षा गरिएको छ।

पाँच किलोमिटर लामो यो परिसरमा सशस्त्र सैनिकहरू पङ्क्तिबद्ध हुनेछन्।

केही बेरपछि राजा र राजपरिवारका वरिष्ठ सदस्यहरू विन्ड्सर कासलको क्वाड्र्‍याङ्गलमा शवयात्रामा मिसिनेछन्।

कासलको सेबास्टोपोल र कर्फ्यू टावरमा भएका घण्टीहरू प्रत्येक मिनेट बजाइनेछ र कासलको मैदानबाट तोपको सलामी दिइनेछ।

जीएमटी १६:००

त्यसपछि शवपेटिका सेन्ट जोर्जेज् च्यापलमा समाधिस्थ गर्ने समारोहका लागि लगिनेछ।

उक्त गिर्जाघर राजपरिवारको विवाह, नवजात शिशुको नामकरण वा अन्तिम संस्कारका लागि सधैँ राजपरिवारको रोजाइमा पर्दै आएको छ।

यही च्यापलमा नै ड्यूक एन्ड डचिज अफ ससिक्स राजकुमार ह्यारी र मेगनले विवाह गरेका थिए।

महारानीका पति राजकुमार फिलिपको पनि यहीँ अन्तिम संस्कार गरिएको थियो।

त्यहाँ हुने समारोहमा झन्डै ८०० जनाजति सहभागी हुनेछन्। महारानीलाई समाधिस्थ गर्ने समारोह द डीन अफ वेस्टमिन्स्टरका डेभिड होइलले सञ्चालन गर्नेछन् र क्यान्टरबरीका आर्चविशप जस्टिन वेल्बीले आशीर्वचन प्रदान गर्नेछन्।

उक्त समारोहमा महारानीको शासनकाल समाप्त भएको सङ्केत गर्ने परम्पराहरू समाविष्ट हुनेछन्।

क्राउन जूअलरले शवपेटिकाबाट द इम्पिरिअल स्टेट क्राउन तथा महारानीको गोलाकार प्रतीक र राजदण्ड हटाउनेछन्। यसको अर्थ महारानीबाट उनको मुकुट अन्तिम पटक छुट्ट्याउनु हो।

महारानी एलिजाबेथ द्वितीयाका राजदण्ड र अन्य सामग्री

स्तुतिगान सकिएपछि राजाले आफ्नी आमाको शवपेटिकामाथि ग्रेनडिअर गार्ड्सको क्वीन्स् कम्पनी क्याम्प कलर वा झन्डा राख्नेछन्।

त्यही बेला लर्ड चेम्बरलेनले आफ्नो सेतो छडी "भाँचेर" शवपेटिकामाथि राख्नेछन्। गत वर्ष महारानीले पूर्वगुप्तचर प्रमुख एन्ड्रू पार्करलाई उक्त पदमा नियुक्त गरेकी थिइन्।

छडी भाँच्नुको अर्थ उनले महारानीका लागि गरेको सेवा सकिनु भन्ने हो।

त्यसपछि महारानीलाई रोयल भल्टमा ओरालिनेछ। त्यतिबेला महारानीका पाइपरले बाजा बजाउनेछन्। त्यसपछि आशीर्वचन दिइनेछ र "ईश्वरले राजाको रक्षा गरून्" भन्दै गाइनेछ।

महारानी एलिजाबेथ द्वितीयाको व्यक्तिगत चाहनाअनुसार विन्ड्सरमा पाइपरले बाजा बजाउने भाग थपिएको बकिङ्गम प्यालेसले बताएको छ।

जीएमटी १६:४५

त्यहाँ उक्त समारोह सकिनेछ। त्यसपछि राजा र राजपरिवारका सदस्यहरू च्यापलबाट बाहिरिनेछन्।

जीएमटी १९:३०

साँझमा एउटा निजी पारिवारिक समारोहबीच किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा महारानीलाई उनका दिवङ्गत पति ड्यूक अफ एडिन्बरासँगै समाधिस्थ गरिनेछ।

उक्त च्यापल सेन्ट जोर्जेज् च्यापलभित्र अवस्थित छ।

त्यहाँ राखिने मार्बलमा अङ्ग्रेजीमा एलिजाबेथ द्वितीया १९२६-२०२२ लेखिएको हुनेछ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, महारानी एलिजाबेथ द्वितीयाको निधन
भिडिओ क्याप्शन सुरु हुँदैछ, लाइनमा बसेका मानिसलाई भेट्न पुगे राजा चार्ल्स र राजकुमार विलियम
भिडिओ क्याप्शन सुरु हुँदैछ, महारानी एलिजाबेथको बाल्यकाल
भिडिओ क्याप्शन सुरु हुँदैछ, बकिङ्गम प्यालेसमा महारानी एलिजाबेथ द्वितीयाको मृत्युको घोषणा