न्यान्सी पलोसी ताइवान भ्रमणमा: अमेरिकी सभामुख ताइवान पुगेपछि चीन रिसायो

न्यान्सी पलोसी

तस्बिर स्रोत, Reuters

चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त गरेको छ।

चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति "खराब" भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन मौन नबस्ने बताए।

ताइवान भ्रमणमा रहेकी पलोसीले बुधवार त्यहाँकी राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गरेकी छन्।

भेटपछि उनले ताइवानसँग यसअघि जनाएको प्रतिबद्धताबाट अमेरिका पछि हट्न नहुने बताइन्।

त्यसपछिको संयुक्त पत्रकार सम्मेलनमा उनले यसअघि पुरुष सांसदहरू आउँदा चीनले केही नबोलेको तर आफू आउँदा ठूलो विवाद गरेको गुनासो गरिन्।

मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी त्यहाँको संसद्‌मा पनि पुगेकी थिइन्।

अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो।

पलोसी अमेरिकी सरकारको तेस्रो वरीयताकी वरिष्ठतम अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।

पलोसी

तस्बिर स्रोत, Reuters

चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ।

उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले "मूल्य चुकाउनुपर्ने" चेतावनी पनि दिएको थियो।

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

चीन-ताइवान

उनले भनिन्, "चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।"

मङ्गलवार चीनले ताइवान र मुख्य चिनियाँ भूभागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको थियो।

उसका सैनिकहरूले युद्धको अभ्यास पनि गरिरहेका छन् र चिनियाँ सेनाको पूर्वी सैन्य कमान्डले अनलाइनमा एउटा भिडिओ पोस्ट गर्दै आफूहरू "कुनै पनि परिस्थितिका लागि तयार रहेको" जनाएको छ।

ताइवानको रक्षा मन्त्रालयले उक्त टापुनजिकै भइरहेको सैन्य गतिविधिबारे आफू पूर्ण जानकार रहेको र चिनियाँ धम्कीबाट आफूलाई बचाउन पूर्ण कटिबद्ध रहेको जनाएको छ।

अमेरिकाको चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध छ भने ताइवानसँग त्यस्तो सम्बन्ध छैन।

तर उसले ताइवानसँग "मजबुत अनौपचारिक" सम्बन्ध रहेको बताउँछ।

ताइवान

पलोसीको एशिया भ्रमण

यसै साताको सुरुमा अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले पत्रकारहरूलाई चीनले सैन्य उक्साहटसहितको प्रतिक्रिया दिन सक्ने बताएका थिए।

उनले त्यस्ता गतिविधिमा ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गर्ने, ठूलो मात्रामा हवाई वा नौसेना गतिविधिहरू प्रक्षेपण गर्ने वा ताइवान स्ट्रेटको नौसैनिक नाकाबन्दीलाई उचित ठहराउन "नक्कली कानुनी दाबी" गर्ने सम्भावना भएको बताएका थिए।

पलोसीले आफ्नो यात्रा कार्यक्रममा ताइवानको उल्लेख नगरी आइतवारदेखि एशियाको भ्रमण सुरु गरेकी हुन्।

उनले हालसम्म सिङ्गापुर र मलेशिया भ्रमण गरिसकेकी छन् भने दक्षिण कोरिया र जापानमा पनि समय निर्धारण गरिसकिएको छ।

मङ्गलवार ताइवानका प्रधानमन्त्री सू जेन-चाङले टापुले कुनै पनि विदेशी पाहुनालाई "न्यानो स्वागत" गर्ने र कुनै पनि आगन्तुकका लागि "सबैभन्दा उपयुक्त व्यवस्था" गर्ने बताएका थिए।

श्रेणी

कूटनीतिक टाउको दुखाइ

यो भ्रमण ह्वाइट हाउसका लागि कूटनीतिक टाउको दुखाइ बनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता अमेरिकी सेनाले पलोसीको ताइवान भ्रमण "अहिलेका लागि राम्रो विचार होइन" भन्ने विश्वास गरेको बताएका थिए।

सोमवार कर्बीले पलोसीलाई "ताइवान भ्रमण गर्ने अधिकार भएको" र उनले "आफ्नो निर्णय आफैँ लिने" बताएका थिए।

उनले ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेसको स्वतन्त्रतालाई सम्मान गर्नेमा पनि जोड दिए।

उनका भनाइमा अमेरिकी जनता र अमेरिकी कङ्ग्रेसको ताइवानलाई बलियो द्विपक्षीय समर्थन रहेको छ।

पलोसी डेमोक्र्याटिक पार्टीकी वरिष्ठ व्यक्तित्व हुन्।

उनी लामो समयदेखि चिनियाँ नेतृत्वको मुखर आलोचक बनेकी छन्।

उनले त्यहाँ मानवाधिकारको प्रश्न उठाउँदै चीनको निन्दा गर्ने गर्छिन्।

उनले सुरुमा गत एप्रिलमा ताइवान भ्रमण गर्ने योजना बनाएकी थिइन् तर कोभिड-१९ बाट बिरामी परेपछि उनले यात्रा स्थगित गरिन्।

यो महिनाको सुरुमा उनले "ताइवानलाई समर्थन देखाउनु हाम्रो लागि महत्त्वपूर्ण कुरा हो" भनेकी थिइन्।

मलेशिया भ्रमणमा समकक्षीसँग पलोसी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, मलेशिया भ्रमणमा समकक्षीसँग पलोसी

कर्बीले सदनका रिपब्लिकन पूर्व सभामुख न्यूट गिङ्ग्रिएचले सन् १९९७ मा ताइवानको भ्रमण गरेको र अन्य अमेरिकी सांसदहरूले यसै वर्षको सुरुमा ताइवान भ्रमण गरेको कुरा औल्याएका छन्।

"केही परिवर्तन भएको छैन। कुराकानी गर्न त्यहाँ कुनै नाटकको आवश्यकता छैन। सदनका सभामुख ताइवान गएका पहिले पनि उदाहरण छन्," उनले भने।

उनले पलोसी आफ्नो एशियाली भ्रमणका क्रममा अमेरिकी सैन्य विमानमा यात्रा गरिरहेको बताए।

चीन-ताइवान सम्बन्ध

  • सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
  • ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन्।
  • ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हवाई आक्रमणबाट जोगिन ताइवानमा यस्तो अभ्यास