युरोपेली सङ्घ: ग्यास प्रयोग कटौती गर्न युरोपेली देशहरू सहमत

तस्बिर स्रोत, Reuters
- Author, माइकल रेस
- Role, बीबीसी व्यापार संवाददाता
युरोपेली सङ्घ (ईयू) का सदस्यहरू रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेको अवस्थामा त्यसको प्रयोग कटौती गर्न सहमत भएका छन्। तर केही देशहरूलाई यो बाध्यताबाट छुट हुनेछ।
ईयूका सदस्य राष्ट्रहरू स्वैच्छिक रूपमा अगस्टबाट मार्चसम्म ग्यासको प्रयोग १५ प्रतिशत घटाउन सहमत भएका हुन्।
"यो पूरा नहुने लक्ष्य थिएन," आलोपालो प्रणाली अनुसार ईयूको अध्यक्षता गरिरहेको चेक रिपब्लिकले ट्विट गर्दै भनेको छ।
यसअघि कुनै पनि देशलाई यो सहमति बाध्यकारी भनिएको कारण कतिपयले विरोध गरेका थिए।
ईयूले यो सहमतिको उद्देश्य जाडो यामअघि ग्यासको बचत गर्नु रहेको जनाइएको छ। साथै युरोपेली राष्ट्रहरूको सङ्गठनले 'ऊर्जा आपूर्तिलाई निरन्तर हतियार बनाएको' भन्दै रुसलाई चेतावनी समेत दिएको छ।
आपूर्ति सङ्कटको तहमा पुगेको अवस्थामा यो स्वैच्छिक सहमति बाध्यकारी हुने भनिएको छ। यद्यपि ईयूको ग्यास पाइपलाइन नपुगेका आयरल्यान्ड, माल्टा र साइप्रसलाई ग्यासको प्रयोग घटाउने सहमति बाध्यकारी हुने छैन।
उनीहरूसँग आपूर्तिको वैकल्पिक स्रोत नभएकाले छुट दिइएको जनाइएको छ।
युरोपेली विद्युतीय प्रणालीमा नजोडिएका र विद्युत् उत्पादनका लागि पनि ग्यासमा निर्भर रहेका अरू बल्टिक राष्ट्रहरूलाई पनि यो बाध्यकारी लक्ष्यमा छुट हुनेछ। ग्यासको भण्डारण लक्ष्य पूरा गरिसकेका देशहरूले पनि यो सहमतिबाट छुटका लागि आग्रह गर्न सक्नेछन्।
संवेदनशील उद्योगहरूका लागि ग्यासमा अति निर्भर रहेका र विगत पाँच वर्षको औसत प्रयोगको तुलनामा गत वर्ष ग्यासको उपयोग कम्तीमा आठ प्रतिशतले बढेका देशहरूलाई पनि सहमतिको यो लक्ष्यमा छुट हुनेछ।इन्भेष्टेकका लागि तेल र ग्यास विश्लेषक नाथन पाइपर ईयूले रुसी ग्यासको परनिर्भरता घटाउने प्रयास गर्दा 'उच्च राजनीतिक र आर्थिक मूल्य' पर्ने बताउँछन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
तर ऊर्जाका लागि युरोपेली आयुक्त कद्री सिम्सनले इन्धनको प्रयोग कटौती गर्ने लक्ष्यमा देशहरूलाई दिइएको सबै छुट उपयोग गरे पनि यसले 'औसत जाडो सुरक्षित रूपमा कटाउन सहयोग गर्ने' बताएकी छन्।
उनले अजरबैजान, अमेरिका, क्यानडा, नर्वे, इजिप्ट र इजरेलबाट वैकल्पिक ग्यास आपूर्ति गर्न सकिनेबारे पनि उल्लेख गरेकी छन्।
जर्मनीका अर्थमन्त्री रोबेट बाहेकले 'युरोपले यसरी नै काम गर्ने' प्रतिक्रिया दिएका छन्।
उनले 'समस्याहरू आउन सक्ने' तर सहमतिमा छुट दिनु 'युक्ति सङ्गत' भएको प्रतिक्रिया दिएका छन्। सहमतिमा हङ्गेरीले मात्रै विरोध जनाएको थियो।
बीबीसीकी व्यापार संवाददाता जेसिका पार्करले रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ अन्तर्गतका देशहरूमा आपूर्ति हुने तेलको मात्रामा ठूलो कटौती गर्ने घोषणा गरेपछि ईयूका मन्त्रीहरू ग्यासको प्रयोगमा सम्झौता गर्नुपर्ने दबाबमा रहेको उल्लेख गरेकी छिन्।मुख्य पाइपलाइनमा मर्मतको लागि भन्दै ग्याजप्रोमले सोमवार नर्ड स्ट्रीम-१ पाइपलाइनको एउटा टर्बाइन बन्द गरिने र यसले इन्धनको उत्पादनमा २० प्रतिशत कटौती हुने जनाएको थियो।








