नेपाल पेट्रोलियम पदार्थ: दैलेखमा पेट्रोलियम अन्वेषण ‘स्थान छनोट’,चिनियाँले ड्रिल कहिलेबाट सुरु गर्छन्?

तस्बिर स्रोत, Department of Mines and Geology
नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषणका लागि कर्णाली प्रदेशको दैलेख जिल्ला पुगेको चिनियाँ टोली ड्रिलिङ (जमिन मुनिसम्म खन्ने कार्य) का लागि उपयुक्त ठाउँ यकिन गरी काठमाण्डू फर्किएको अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु गर्न आइपुगेको चिनियाँ प्राविधिकहरूको टोलीले यसअघि नै निर्क्योल गरिएका 'तीनवटा सम्भावित ठाउँ'मा अध्ययन केन्द्रित गरेको थियो।
उक्त टोलीले अब खानी तथा भूगर्भ विभागलाई प्रतिवेदन बुझाउने छ।
मङ्गलवार काठमाण्डू आइपुगेको चिनियाँ टोलीले अब नेपालको चीनसँगका दुई प्रमुख नाका भ्रमण गर्न सक्ने बताइएको छ।
अन्वेषणका लागि आवश्यक पर्ने 'ठूला' उपकरण नेपाल ल्याउने मार्गबारे अध्ययन गर्नका लागि उनीहरूले केरुङ र तातोपानी नाका भ्रमण गर्ने तय गरिएको बताइएको छ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो।
चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ भूकम्पीय (साईज्मिक) सर्वेक्षण सम्पन्न भइसकेको छ।

तस्बिर स्रोत, petroleumnepal.gov.np
त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ।
कुन ठाउँ छनोट भयो?
वर्षौँदेखि ग्याँस बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ।
तर त्यहाँ कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा भने यकिन हुन सकेको छैन।
यसपालिको चिनियाँ टोलीको भ्रमण त्यही कुरा पत्ता लगाउनका लागि स्थान छनोट गर्न र उक्त स्थानसम्म आवश्यक पर्ने उपकरण पुर्याउनका लागि सडक पूर्वाधारको अवस्था यकिन गर्न लक्षित रहेको अधिकारीहरूको भनाइ छ।

चिनियाँ टोलीले यसअघि नै तीनवटा सम्भावित स्थान छनोट गरेकामा यसपालि कुन स्थानमा ड्रिल (जमिन मुनिसम्म खन्ने) भन्ने कुरा यकिन गरेको छ।
खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार ड्रिल गर्नका लागि यकिन गरिएको ठाउँ पादुकास्थान र श्रीस्थानको बीचमा अवस्थित छ।
''पादुकास्थान भन्दा उत्तर पश्चिममा रहेको स्थानमा ड्रिल गर्ने यकिन गरिएको छ,'' नापितले भने।
हालसम्म उक्त स्थानमा सतहमा भूकम्पीय सर्वेक्षण र म्याग्नेटो टेलोरिक सर्वेक्षण गरिसकिएको छ। त्यसमा आधारित रहेर सम्भावित ठाउँहरू चयन गरिएको हो।

तस्बिर स्रोत, DEPARTMENT OF MINES AND GEOLOGY
तर एउटा स्थानमा मात्रै ड्रिलिङ गरेर निचोड भने निकाल्न नसकिने अधिकारीहरू बताउँछन्।
त्यसका लागि कम्तीमा तीनदेखि चारवटा स्थानमा ड्रिल गर्न आवश्यक रहेको खानी तथा भू-गर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरे बताउँछन्।
ड्रिल गर्ने कार्य कहिलेबाट सुरु हुन्छ?
नेपालमा मनसुन सक्रिय रहेको अवस्थामा तत्काल ड्रिल गर्ने कार्य सुरु भने हुने छैन।
तर यसपछिको चरणमा भने चिनियाँ अधिकारीहरू ड्रिलिङकै लागि नेपाल आउने अधिकारीहरू बताउँछन्।
त्यसअघि सरकारले विभिन्न दायित्व पूरा गर्नुपर्ने हुन्छ।

त्यसमा दैलेखसम्म उपकरण पुर्याउनका लागि सडक पूर्वाधार तयार पारिदिने, भार धान्न नसक्ने पुल छन् भने कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुङ्गोमा पुर्याउने, विद्युत् पहुँच स्थापित गर्ने, निजी जग्गा भए अधिग्रहण र सरकारी जग्गा भए प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया लगायतका विषयमा सरकारले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
अन्वेषण स्थल खोलाको बगरमा रहेको र त्यहाँ आसपासमा बाक्लो बस्ती नरहेकाले जग्गा प्राप्तिमा धेरै समस्या नहुने बुझाइ अधिकारीहरूको छ।
''हाम्रो लक्ष्य चारदेखि पाँच महिनामा (सबै काम) टुङ्ग्याएर ड्रिल गर्ने कार्य सेप्टेम्बर अक्टोबरबाट सुरु गर्ने हो,'' नापितले भने।


पछिल्लो भूकम्पीय अध्ययनका अनुसार यकिन भएको स्थानमा ३,५०० देखि ४,००० मिटर गहिरो ड्रिल गर्नुपर्ने हुन सक्छ।
हाल अन्वेषणकै चरणमा रहेकाले व्यवसायीकरण रूपमा उक्त स्थानमा पेट्रोलियम उत्पादन गर्न सकिने/नसकिने विषयबारे भने केही भन्न सकिने अवस्था नरहेको अधिकारीहरू बताउँछन् ।
'उपकरण पुर्याउन चुनौती'
अधिकारीहरूका अनुसार पेट्रोलियम अन्वेषणका लागि ६० टन सम्मका उपकरण दैलेख पुर्याउनुपर्ने हुन सक्छ।
दैलेखसम्मको बाटोमा रहेका कतिपय पुलले त्यति भार धान्ने/नधान्ने विषयमा स्पष्टता नरहेको नापित बताउँछन्।

तस्बिर स्रोत, Department of Mines and Geology
त्यसका लागि सडक विभागसँग छलफल गर्ने तयारी गरिएको उनले जानकारी दिए।
खासगरी ठूला पुलमा गाडीको भार पूर्ण रूपमा पर्ने हुँदा त्यसमा थप स्पष्टता खोज्नुपर्ने आवश्यकता उनले औँल्याए।
कहाँ कहाँ छ इन्धनको सम्भावना?
विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ।
नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।
विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरूलाई अन्वेषणको कार्य अघि बढाइएको थियो।
वि.सं २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएन।

तस्बिर स्रोत, Department of Mines and Geology, Nepal
''यो अलि जोखिमपूर्ण कार्य हो। यसमा ८ देखि १० प्रतिशत मात्रै सफल हुने दर रहेको छ,'' रजौरेले भने।
आगामी वर्ष सरकारले १० वटा 'ब्लक' (स्थान)मा अन्वेषणको कार्य अघि बढाउनका लागि टेन्डर निकाल्ने तयारी गरिरहेको छ।
विगतमा ती ब्लकहरूमा युरोप, अमेरिका र मध्य पूर्वका राष्ट्रहरूले काम गरिरहेका थिए।
तर वर्षौँसम्म त्यसमा प्रगति हुन नसकेपछि उनीहरूसँगको सम्झौता सरकारले रद्द गर्यो।
सरकारले सन् २०१४ मा अमेरिकाको बीबीबी च्याम्पियन र दुबईको इमिरेट्स असोसिएटेड बिजनेस ग्रुपको अनुमित रद्द गरेको थियो।
सन् २०१५मा अमेरिकी कम्पनी टेक्साना रिसोर्सेस र यूकेको केन इनर्जीको पनि इजाजत रद्द गरियो।
नेपालको तराई र शिवालिक क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि झन्डै पाँच-पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक (स्थल) छुट्टाइएको छ।
ती ब्लक पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्।
चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरै आकर्षण बढ्ने अपेक्षा सरकारको छ।

यो पनि हेर्नुहोस्










