साउदी अरबः अमेरिकी राष्ट्रपति बाइडनले पत्रकार खशोग्जीको हत्याबारे राजकुमार मोहम्मद बिन सलमानलाई के भने

साउदी राजकुमारसँग बाइडनले भेट्दाको क्षण

तस्बिर स्रोत, Reuters

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई उनी पत्रकार जमाल खशोग्जीको हत्यामा जिम्मेवार रहेको आफूलाई लागेको कुरा बताएको सार्वजनिक गरेका छन्।

जेदाहमा साउदी राजकुमारसँग भेटवार्ता गरेपछि बाइडनले सलमानलाई आफूले त्यसो भनेको सञ्चारमाध्यमसँग बताएका हुन्।

राजकुमार सलमानले खशोग्शी हत्याकाण्डमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्। राजा सलमानका उत्तराधिकारी उनी साउदी शासनका हर्ताकर्ता हुन्।

खशोग्जीले काम गरेको पत्रिका द वाशिङ्टन पोस्टका प्रकाशकले बाइडनले राजकुमारसँग मुट्ठी ठोकेर अभिवादन गरेको दृश्य "लाजमर्दो" रहेको बताएको छ।

तर एक डेमोक्र्याटिक नेताले बीबीसीसँग कुरा गर्दै आफूले सम्बन्ध राख्न नचाहेका पक्षहरूसँग पनि अमेरिकाले काम गर्नुपर्ने अवस्था हुने टिप्पणी गरेका छन्।

जो बाइडनले साउदी राजकुमारलाई के भने?

विगतमा मानवाधिकार अवस्थाका कारण साउदी अरबलाई "एक्लो पार्ने" वाचा गरेका बाइडन अहिले सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित साउदी अरब पुगेका हुन्।

उनले सन् २०१८ मा गरिएको खशोग्जीको हत्याको विषय "म र संयुक्त राज्य अमेरिकाका लागि एकदमै महत्त्वपूर्ण छ" भनेका थिए।

तर राष्ट्रपति बाइडनले दुवै देशबीच अरू विषयहरूमा सहमति भएको पनि जनाएका छन्।

सन् २०१८ मा साउदी एजेन्टहरूले खशोग्जीको हत्या गरेका थिए

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०१८ मा साउदी एजेन्टहरूले खशोग्जीको हत्या गरेका थिए

राष्ट्रपति बाइडनको भ्रमणले सन् २०१८ को अक्टोबरमा टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गरिएको खशोग्जीको हत्यालाई वैधानिकता दिने भन्दै कैयौँले आलोचना गर्दै आएका छन्।

अमेरिकामा बस्ने खशोग्जी साउदी नीतिका कटु आलोचक थिए।

अमेरिकी गुप्तचर निकायहरूले साउदी राजकुमारले उक्त हत्याका लागि अनुमति दिएको आरोप लगाउँदै आएका छन्।

राजकुमारले ती आरोपहरू अस्वीकार गर्दै आएका छन्। साउदी अभियोजनकर्ताहरूले "उद्दण्ड" साउदी एजेन्टहरूले उक्त घटना गराएको दाबी गर्दै आएका छन्।

"बैठकको सुरुमै मैले खशोग्जी हत्याकाण्डको सन्दर्भ उठाएँ - पहिला त्यसबारे म के सोच्थेँ र अहिले त्यसबारे के सोच्छु भन्ने स्पष्ट पारेर," शुक्रवारको भेटवार्तापछि पत्रकार सम्मेलनमा उनले भने।

"अमेरिकी राष्ट्रपति मानवाधिकारको विषयमा मौन बस्नु हामी को हौँ र म को हुँ भन्नेमा असङ्गगत हुन्छ भन्ने मैले सोझै भनेँ। म सधैँ हाम्रा मूल्यमान्यताका पक्षमा उभिन्छु।"

समाचारसंस्था एपीका अनुसार साउदी राजकुमारले आफू उक्त हत्याका लागि "व्यक्तिगत रूपमा जिम्मेवार नरहेको" दाबी गरेको बाइडनले बताए।

"मलाई उनी जिम्मेवार छन् भन्ने लाग्छ भन्ने कुराको सङ्केत मैले दिएँ।"

अमेरिकी राष्ट्रपतिको आलोचना

उक्त बैठकअघि बाइडन र साउदी राजकुमारले मुट्ठी जुधाएर अभिवादन गरेका थिए जसलाई दुई देशबीचको सम्बन्धमा देखा परिरहेको न्यानोपनको अर्थमा लिइएको थियो।

खशोग्जीसँग बिहे टुङ्गो लागेकी महिला हाटीज जेङ्गिजले राष्ट्रपति बाइडनको कदमको आलोचना गरेकी छन्।

बाइडन

तस्बिर स्रोत, Reuters

बाइडन र मोहम्मद बिन सलमानको तस्बिर ट्वीट गर्दै जमालले त्यो देखेको भए कस्तो टिप्पणी गर्थे होलान् भन्दै लेखेकी छन्ः "के तिमीले मेरो हत्याको उत्तरदायित्व खोज्ने गरेको वाचा यही हो? एमबीएस [मोहम्मद बिन सलमान] का अर्का पीडितको रगत तिम्रो हातमा पोतिएको छ।"

यसैबीच वाशिङ्टन पोस्टका प्रकाशक र प्रमुख कार्यकारी अधिकृत फ्रेड र्‍यानले पनि तस्बिरमा देखिएको "आत्मीयता" र "सहजता" ले साउदी राजकुमारलाई उनले "आतुर भएर खोजिरहेको मुक्ति अनावश्यक रूपमा प्राप्त भएको" देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

को हुन् जमाल खशोग्जी?

खशोग्जी द वाशिङ्टन पोस्टका स्तम्भकार तथा चर्चित पत्रकार थिए।

उनले अफगानिस्तानमा सोभियत सङ्घको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचारसंस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे।

तर पछि उनको राजपरिवारसँग सम्बन्ध बिग्रियो र उनी अमेरिका निर्वासनमा गए।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले। त्यसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधको स्वर दमन गर्न लागेका राजकुमार मोहम्मदले आफूलाई समात्न लगान सक्ने आशङ्का व्यक्त गरेका थिए।

अमेरिका साउदी अरेबीया वार्ता

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति बाइडन र साउदी राजकुमारबीच अरू के विषयमा छलफल भयो?

खशोग्जीको हत्याबाहेक राष्ट्रपति बाइडनले उनी र उनका साउदी समकक्षीले ऊर्जाका विषयमा छलफल गरेको बताए।

उनले साउदी अरबले आगामी दिनमा बजारलाई स्थिर बनाउन थप कदमहरू चाल्ने आफूले अपेक्षा गरेको पनि जनाएका छन्।

बाइडनको कदमको प्रतिरक्षा गर्दै डेमोक्र्याटिक दलका सांसद ब्र्याड सर्मनले बीबीसीलाई साउदी अरबले तेलको आपूर्ति बजारमा बढाउँदा मानिसहरूको जीवनरक्षा हुने बताए।

उनले भने, "तेलको मूल्यको अर्थ गरिब देशमा मानिसहरूको ज्यान जानु पनि हो। त्यसले खानेकुरा र मलको मूल्य बढाएको छ र यसको अर्थ हजारौँको सङ्ख्यामा मानिसहरू भोकमरी र कुपोषणका कारण लाग्ने रोगहरूबाट ज्यान गुमाइरहेका छन्।"

"श्रीमती खशोग्जी (हाटीज जेङ्गिज) लाई 'ज्यान गुमाउने हजारौँ मानिसबारे चिन्ता नगर, त्यतिबेला मेरा हुन लागेका पतिको प्रतिशोध लिऊ' भन्न सजिलो छ। यहाँ तपाईँले सुझबुझ अपनाउनुपर्छ।"

राष्ट्रपति बाइडनले साउदी अरबले आफ्नो हवाईक्षेत्र इजरेल जाने र इजरेलबाट अन्यत्र जाने विमानका लागि पनि खुला गर्ने पनि घोषणा गरेका छन्।

विगतमा साउदी हवाईक्षेत्र इजरेलका लागि प्रतिबन्धित थियो।