खशोग्जी हत्याका सन्दिग्ध सुपुर्दगी गर्न माग

रेजेप ताइप एर्दोआन

तस्बिर स्रोत, Getty Images

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले साउदी पत्रकार जमाल खशोग्जीको हत्याका सन्दिग्धहरूलाई इस्तानबुलमा मुद्दा चलाउन तिनीहरूलाई सुपुर्दगी गर्न माग गरेका छन्।

राष्ट्रपति एर्दोआनले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्जीको ज्यान लिने योजना निकै दिन अगाडि नै भएको हुनुपर्ने बताए।

उनले गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र "क्रुर" हत्या भएको देखाउने बलियो प्रमाण टर्कीसँग रहेको बताए।

एर्दोआनले खशोग्जीको मृत्यु दुर्घटनावश भएको भन्ने साउदी दावीको खण्डन गरेका थिए।

प्रश्न

उनले खशोग्जीको शव कहाँ छ र उनको ज्यानलिने गरी भएको कारबाहीको आदेश कस्ले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ पनि साउदी अरेबियाले दिनुपर्ने माग गरेका छन्।

बीबीसीका टर्की सम्वाददाता मार्क लोवेन भन्छन् राष्ट्रपतिको सम्बोधनअघि उनले यो घटना पछाडिका 'नग्न सत्य' सार्वजनिक गर्ने बताइएको थियो।

तर उनले जे बताए त्यो यसअघि नै सार्वजनिक भएको विवरणभन्दा खासै फरक छैन।

जमाल खशोग्जी

तस्बिर स्रोत, EPA

तर उनले टर्कीसँग रहेको दावी गरिएका ती साउदी पत्रकारको हत्यासँग सम्बन्धित रेकर्डिंगहरूको कुनै चर्चा नै गरेनन्।

साउदी अरेबियाले ती पत्रकारको मृत्यु वाणिज्य दूतावासभित्र भएको पिटापिटका क्रममा भएको भन्दै युवराज मोहम्मद बिन सलमानको निर्देशन विना नै सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको थियो।

संयम

टर्कीका राष्ट्रपतिले साउदीहरूको त्यस्तो दावीलाई अन्तर्राष्ट्रिय समुदायले नपत्याउने पनि बताए।

उनले साउदी राजा सलमानको विश्वसनीयतामा शङ्का गर्ने आफूसँग कुनै कारण नरहेको पनि बताए। तर युवराजका बारेमा भने उनले कुनै उल्लेख गरेनन्।

जमाल खशोग्जी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, साउदी वाणिज्य दूतावासमा खशाोग्जी प्रवेश गर्दै गर्दाको सीसीटीभी फुटेज

हाम्रा सम्वाददाता भन्छन् मुठभेडको अवस्थाबाट जोगिन नखोज्ने छवि भएका राष्ट्रपतिकालागि यो साउदी अरेबियासँगको कूटनीतिक सम्बन्ध जोगाइराख्‍ने एउटा प्रयास हुनसक्छ वा संयम अपनाउन रियाद अथवा वाशिङ्टनबाट परेको दबाबको नतिजा पनि।

थुप्रै विश्व नेताहरूले ति वाशिङ्गटन पोस्ट पत्रिकाका स्तम्भकारको हत्याको निन्दा गर्दै घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग गरिरहेका छन्।