नेपाल-चीन सम्बन्ध: नेपालका चार कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वलाई वरिष्ठ चिनियाँ अधिकारीले के सन्देश दिए

चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटेको थियो

तस्बिर स्रोत, RSS

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली

चिनियाँ उच्च अधिकारीको चारदिने नेपाल भ्रमण सकिए पनि अहिले त्यसको उद्देश्य र त्यसले पार्ने सम्भावित प्रभावबारे चर्चा चलिरहेको छ।

आइतवार काठमाण्डू ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानछाओ बुधवार फर्किए।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरूसँगको भेटवार्ताबाट सुरु भएको उनको भ्रमण नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँगको भेटघाटसँगै टुङ्गिएको थियो।

कतिपयले पछिल्लो भ्रमणबाट चीनले नेपाली कांग्रेसलाई 'नयाँ ढङ्गले महत्त्व दिएको' सन्देश प्रवाह गरेको ठानेका छन्।

तर चिनियाँ अधिकारीले चारवटा वामपन्थी पार्टीसँगको भेटवार्तामा कस्तो अपेक्षा व्यक्त गरे अनि पछिल्ला केही वर्षयता नेपालमा आलोचित बनेको आफ्नो भूमिकाप्रति पुनर्विचार गर्ने सङ्केत दिए भन्ने चासो बढेको छ।

ओलीसँग चिनियाँ अधिकारी

तस्बिर स्रोत, idcpc.org.cn

कम्युनिस्ट मिलापको मोहभङ्ग?

खासगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन र पार्टी एकीकरण हुँदै विभाजनमा पुग्दासम्म चीनले नेपालमा कम्युनिस्ट पार्टीबीच एकता चाहेको र त्यसको निम्ति उसले प्रेरकको भूमिका निर्वाह गरेको छ भन्ने विषय निकै चर्चामा रह्यो।

प्रचण्डसँग चिनियाँ अधिकारी

तस्बिर स्रोत, .

नेकपा फुट्न नदिन पनि काठमाण्डूस्थित चिनियाँ राजदूतले निकै दौडधुप गरेको विवरणहरू प्रकाशित भएका थिए।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गङ्गालाल तुलाधरले कम्युनिस्ट पार्टी भएको नाताले कम्युनिस्टहरूबीच एकता होस् भन्ने चाहना राख्नु अनौठो नभएको बताउँदै भने, "मोटामोटी रूपमा 'तपाईँहरू सबै मिलेर जानुहोस्' भन्ने ढङ्गले कुरा गर्नुभयो। चिनियाँले त्यो सद्भावपूर्ण कुराभन्दा हामीबाट अरू अपेक्षा गरेको पाइनँ।"

नेकपा फुटेर एमाले र माओवादी केन्द्र पुन: अस्तित्वमा आएका हुन् भने एमालेका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको हो।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि 'शुभेच्छाको तहमा सबै कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्छ भन्ने त जहाँका कम्युनिस्टको धारणा रहने' बताउँदै त्यसलाई स्वाभाविक रूपमा लिए।

नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफल गर्दै चिनियाँ प्रतिनिधिमण्डल

तस्बिर स्रोत, idcpc.org.cn

चिनियाँ नेताले भेटेका अन्य तीन दलभन्दा नेमकिपाले आफूलाई खास कम्युनिस्ट पार्टी ठान्छन्।

भेटमा सहभागी नेता प्रेम सुवालले चिनियाँ नेताहरूबाट "अहस्तक्षेपको नीति" बारम्बार आएको बताउँदै अन्य दलसँगको भेटवार्तामा पनि कम्युनिस्ट एकतामा जोड दिएको विश्वास आफूलाई नलागेको बताए।

गठबन्धन निरन्तरताको पक्षमा चीन?

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख राम कार्कीले भने विभाजनको कारण बुझाउन नसक्दा एकताको चर्चा हुने गरेको सुनाए।

उनले भने, "फुटेपछि त अलगअलग 'कोर्स'मा जानुपर्ने, त्यो त देखिएन। त्यसैले चीनलाई पनि हामीले विभाजनको कारण बुझाउन सकेका रहेनछौँ।"

नेकपा किन फुट्यो भनेर चिनियाँ चिन्ता सङ्केतिक रूपमा समेत प्रकट नभएको नेताहरूले बताएका छन्।

एकीकृत समाजवादीका नेता तुलाधरले हाँस्दै "फुटेर बनेको र नफुटेको दुवै पार्टीसँग चिनियाँ नेताले भेट गरेको" उल्लेख गर्दै त्यसको अर्थ खोज्न आग्रह गरे।

के विभाजनप्रति चिन्ताभन्दा फुटलाई अनुमोदन गरेको हो त? यो प्रश्नमा उनले त्यसरी बुझ्न नमिल्ने बताउँदै भने, "हाम्रो पार्टीको भूमिका उच्च छ र त्यसको नेतृत्व माधवकुमार नेपालले गरिरहेको कुराको उच्च मूल्याङ्कन र स्वीकार गरेका हुन्।"

नारायणमान बिजुक्छेसँग भेट्दै चिनियाँ अधिकारी

तस्बिर स्रोत, idcpc.org.cn

उनले त चिनियाँहरू वर्तमान सत्तागठबन्धन अघि बढोस् भन्ने चाहना प्रकट गरेको आफूले बुझेको समेत सुनाए।

'आफूहरूले अहिले गरिरहेको काममा अघि बढेको' चिनियाँहरूले देख्न चाहेको उनको बुझाइ छ।

"उहाँहरूले तपाईँहरू अहिलेको गठबन्धनमा सामेल हुनुहुन्छ र यो गठबन्धन अगाडि बढोस् भन्ने चाहन्छौँ भनेको मेरो बुझाइ छ," तुलाधरले भने।

कम्युनिस्टसँगको भेटमा बीपीको चर्चा

एकजना पूर्वराजदूतको बुझाइमा "राजतन्त्रको अन्त्यसँगै रिक्त भरपर्दो शक्तिको स्थान नेकपाले लिन सक्ने" भ्रमबाट चिनियाँहरू बिउँझिएका छन्, त्यसैले कांग्रेससँगको पुरानो राजनीतिक नाता अघि बढाउन खोजेका हुन्।

हुन पनि चिनियाँ नेताहरूले एमाले र माओवादी केन्द्रका नेताहरूसँगको भेटमा पनि बीपी कोइरालाको सन्दर्भ बारम्बार उल्लेख गरेर त्यसको सङ्केत दिएको कतिपयले ठानेका छन्।

चिनियाँ नेताको भ्रमणले दिएको सन्देशबारे एमाले नेता रिजालको सङ्क्षिप्त ठम्याइले पनि त्यस्तै सङ्केत दिन्छ।

उनी भन्छन्, "नेपालका कम्युनिस्ट-गैरकम्युनिस्ट सबै पार्टीसँग समान तहको हार्दिक सम्बन्ध विकास गर्ने चाहेको देखिन्छ।"

प्रधानमन्त्री देउवासँग चिनियाँ अधिकारी

तस्बिर स्रोत, RSS

नेमकिपाका नेता सुवालका भनाइमा पारस्परिक सम्मान र अहस्तक्षेपको नीतिका आधारमा सम्बन्ध विस्तारको पक्षमा चिनियाँ नेताहरू दृढ देखिएका थिए।

कतिपयले केही वर्षयता नेपालमा एकपक्षलाई असन्तुष्ट तुल्याउनेगरी सक्रिय देखिएको चीनको भूमिका आगामी दिनमा सन्तुलित हुने सङ्केत दिएर चिनियाँहरू फर्किएको ठानेका छन्।