कुखुराको मासुः भाउमा किन यति धेरै उतारचढाव भइरहन्छ

नेपालमा पाँच/छ हप्ताअघि कुखुराको मासुको खुद्रा मूल्य प्रतिकिलो ४७० रुपैयाँसम्म पुगेको थियो।
मासु विक्रेताहरूका अनुसार त्यो मूल्य केही समय यताकै सबैभन्दा उच्च थियो। त्यस बेला कुखुरापालक किसानले पनि जिउँदो कुखुराको 'राम्रै' भाउ पाएका थिए।
"किसानले नै जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३०० रुपैयाँभन्दा बढी पाएका थिए," नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बीबीसीसँग भने।
तर अहिले कुखुराको मासुको भाउ ओरालो लाग्ने क्रम जारी रहेको किसान एवं मासु विक्रेताहरूले बताएका छन्।
उनीहरूका अनुसार अहिले कुखुराको मासु प्रतिकिलो ३६०/३७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
भाउ किन यति अस्थिर?
खासगरी नेपाल र भारतमा कुखुराको मासुको मूल्यमा धेरै उतारचढाव भइरहनुको सम्बन्ध माग एवं आपूर्तिसँग नै जोडिएको किसान तथा मासु विक्रेता बताउँछन्।
"मागभन्दा उत्पादन धेरै हुन थालेपछि भाउ घट्छ अनि माग जति उत्पादन नहुँदा मूल्य बढन् थाल्छ," काठमाण्डू उपत्यकामा कुखुराको मासुको थोक एवं खुद्रा व्यापार गर्दै आएको भ्याली ग्रूपका संस्थापकमध्ये एक हरिकृष्ण रावलले बीबीसीसँग भने।
उनका अनुसार नेपालमा खासगरी भदौ, असोज, कार्तिक र मंसिर महिनामा धेरै मात्रामा कुखुरा उत्पादन हुने गरेको पाइन्छ।
"कुखुरा तयार भइसकेपछि लामो समयसम्म राखिराख्ने कुरा पनि हुँदैन। हुर्केका कुखुराले दाना पनि धेरै खान्छन् मृत्युदर पनि बढ्छ अनि जति मूल्य आउँछ त्यतिमा किसानले बेच्न थाल्छन्," भाउ घट्नुको एउटा कारणबारे नेपाल दाना उद्योगी सङ्घका अध्यक्ष रबिन पुरीले बीबीसीसँग भने।
नेपालमा कुखुराको मासुको भाउ अस्थिर हुनुको एउटा अर्को कारण भारतीय उत्पादन पनि भएको कुखुरापालक किसानहरूको दाबी छ।

तस्बिर स्रोत, Reuters
"जब अवैध रूपमा भारतबाट नेपालमा कुखुरा आउन थाल्छ तब हामीकहाँ कम उत्पादन हुँदासमेत भाउ घटिरहेको हुन्छ। अहिलेको अवस्था ठ्याक्कै त्यही हो," पोल्ट्री महासङ्घका अध्यक्ष विष्टले भने।
नेपालमा भारतबाट हिजोआज कुखुराको 'फ्रोजन' मासु पनि भित्रिइरहेको उनले दाबी गरे। तर अवैध रूपमा त्यसरी कुखुराको मासु नेपाल भित्रिने गरेको कुरा सरकारी अधिकारीहरू अस्वीकार गर्छन्।
"हामीकहाँ मास स्केलमा कुखुराको व्यावसायिक उत्पादन पनि हुन नसकेको कारणले बजार भाउमा यसरी उतारचढाव भइरहन्छ," विष्टले भने।
नेपालमा उपभोक्ताहरूले तुलनात्मक रूपमा कुखुराको ताजा मासु नै खोज्ने गरेको उक्त व्यवसायसँग सम्बद्ध व्यक्तिहरू बताउँछन्।
"हामीकहाँ फ्रोजन मासु खाने चलन पनि त्यति धेरै छैन। त्यो भएर पनि कुखुराको मासुको भाउ अस्थिर भइरहन्छ," दाना उद्योगी सङ्घका अध्यक्ष पुरीले भने।
कुखुराले खाने दानाको मूल्य पनि मासुको भाउसँग जोडिएको किसानहरू बताउँछन्।
तर एक महिनायता दानाको भाउ पनि घटेको पुरी बताउँछन्। "अघिल्लो महिनाको तुलनामा अहिले प्रतिबोरा एक सय रुपैयाँ घटिसकेको छ," उनले भने।
चल्ला मार्दै किसान
मूल्य नपाएपछि किसानहरूले खाल्डो खनेर अहिले चल्ला पुर्न थालेको दाबी गरिएको छ।
"अहिले चल्लाको खासै विक्री पनि छैन, भाउ पनि छैन। कतिपय किसानले खाल्डो खनेर चल्ला पुर्न थालेका छन्," विष्टले भने।

तस्बिर स्रोत, LightRocket via Getty Images
किसानहरूले प्रतिगोटा अन्डाको मूल्य जति पनि एउटा चल्लाको भाउ नपाएको अवस्था भएको पुरीले दाबी गरे।
"बरु एउटा अन्डा १५ रुपैयाँसम्ममा विक्री भइरहेको छ, तर किसानले चल्लाको मूल्य त्यति पनि पाइरहेका छैनन्," उनले थपे।
कुखुराको मासुको मूल्य बढाउन व्यवसायीहरूले चल्ला मार्ने गरेको आरोपमा कुनै सत्यता नभएको पुरी दाबी गर्छन्।
मूल्यका कारण अहिले धेरै कुखुरापालक किसानले तत्कालका लागि चल्ला राख्न छोडेकाले ए-क डेढ महिनापछि कुखुराको मासुको भाउ फेरि बढ्न सक्ने उनको अनुमान छ।









