नेपाल पेट्रोलियम पदार्थः पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा, 'ड्रिल' गर्न दैलेखमा 'तीन स्थान छनोट'

पेट्रोलियम खानीको खोजी

तस्बिर स्रोत, petroleumnepal.gov.np

कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ।

दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन्।

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको हो।

चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साईज्मिक (भूकम्पीय) सर्वेक्षण सम्पन्न भइसकेको छ।

त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ।

चिनियाँ टोलीले यो पालि के गर्छ?

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेका अनुसार चिनियाँ टोली हाल नेपालमा आइपुगेको भए पनि वर्षाका कारण यो बेला ठोस काम भने अगाडि बढाउन मिल्ने अवस्था छैन।

हाल उक्त टोलीले ड्रिलिङ (जमिन मुनिसम्म खन्ने) उपकरण कसरी दैलेखस्थित अन्वेषण भइरहेको स्थलसम्म पुर्‍याउने भन्ने विषयको निर्क्योल गर्नेछ।

खानी

तस्बिर स्रोत, Department of Mines and Geology, Nepal

तस्बिरको क्याप्शन, नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको थियो

अध्ययनका लागि दुई वटा ड्रिलिङ उपकरण नेपाल ल्याउनुपर्ने अवस्था छ।

उपकरणको तौल र आकार ठूलो हुने हुँदा त्यसलाई चीनसँगको सीमा वा समुद्री मार्ग कताबाट ल्याउन उपयुक्त हुन्छ र नेपाल ल्याइसकेपछि दैलेखसम्म कसरी पुर्‍याउने भन्ने कुराको यकिन यो टोलीले गर्ने छ।

''दैलेखसम्म पुर्‍याउनका लागि बाटो अनि पुलको अवस्था के कस्तो छ भन्ने कुरा उनीहरूले हेर्छन्,'' रजौरेले भने।

'तीन स्थान छनोट'

अधिकारीहरूका अनुसार दैलेखमा इन्धन अन्वेषणका लागि 'तीन वटा सम्भावित ठाउँ यकिन भइसकेको छ'।

नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ।

''जहाँ अहिले ज्वाला बलिरहेको छ त्यसको आसपासमा छन् ती तीनै ठाउँहरू,'' रजौरेले भने।

पानीमा तैरिएको कच्चा तेल।

तस्बिर स्रोत, Department of Mines and Geology

ज्वालामाई
तस्बिरको क्याप्शन, ज्वालामाई तथा अन्य स्थानमा प्राकृतिक ग्यास निस्किने तथा ज्वाला बलिरहने गरेको देखिन्छ

वर्षौँ देखि ग्यास बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ।

''तर कति परिणाममा छ भन्ने कुरा भने अनुमान गर्न धेरै गाह्रो छ,'' उनले भने।

त्यही कुरा पत्ता लगाउनका लागि जमिनको सतह मुनि कम्तीमा चार किलोमिटर गहिरो ड्रिलिङ गर्ने तयारी अघि बढाइएको बताइएको छ।

हालसम्म उक्त स्थानमा सतहमा साईज्मिक सर्वेक्षण र म्याग्नेटो टेलोरिक सर्वेक्षण गरिसकिएको छ जसमा आधारित रहेर सम्भावित ठाउँहरू चयन गरिएको हो।

अध्ययनको क्रममा चिनियाँ टोली।

तस्बिर स्रोत, Department of Mines and Geology

तस्बिरको क्याप्शन, अध्ययनको क्रममा चिनियाँ टोली (फाइल तस्बिर)

तर एउटा स्थानमा मात्रै ड्रिलिङ गरेर निचोड भने निकाल्न नसकिने अधिकारीहरू बताउँछन्।

त्यसका लागि कम्तीमा तीनदेखि चार वटा स्थानमा ड्रिल गर्न आवश्यक रहेको रजौरे बताउँछन्।

कहिले बाट सुरु हुन्छ ड्रिलिङ गर्ने कार्य?

हाल छनोट गरिएका तीनमध्ये कुन स्थानमा पहिले ड्रिलिङ गर्ने भन्ने कुरा चिनियाँ टोलीले यकिन गरेपछि जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। उक्त दायित्व नेपाल सरकारको हो।

अधिकारीहरूका अनुसार सामान्य अवस्थामा काम अगाडि बढे दशैँ लगत्तै ड्रिलिङ कार्य सुरु हुन सकिने अवस्था छ।

अन्वेषण स्थल खोलाको बगरमा रहेको र त्यहाँ आसपासमा बाक्लो बस्ती नरहेकाले जग्गा प्राप्तिमा धेरै समस्या नहुने बुझाइ अधिकारीहरूको छ।

चुप्रा, दैलेख
तस्बिरको क्याप्शन, उत्खननका लागि आवश्यक उपकरणसहित प्राविधिकहरू पुगिसकेका छन् (फाइल तस्बिर)

चिनियाँ अधिकारीहरूले तीन वटा चरणमा हालको अध्ययन सम्पन्न हुने गरी कार्य अघि बढाएका छन्।

हालसम्म सुरुवाती चरणको काम उनीहरूले सम्पन्न गरिसकेका छन्।

त्यसको निचोडमा आधारित रहेर हाल ड्रिलिङ सुरु गर्ने तयारी अघि बढाइएको हो।

ड्रिलिङको कार्य सम्पन्न पछि निश्चित स्थानमा कति परिमाणमा इन्धन हुनसक्छ भन्ने कुरा यकिन हुने बताइएको छ।

कहाँ कहाँ छ इन्धनको सम्भावना?

विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ।

नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।

विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरूलाई अन्वेषणको कार्य अघि बढाइएको थियो।

वि.सं २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएन।

''यो अलि जोखिमपूर्ण कार्य हो। यसमा ८ देखि १० प्रतिशत मात्रै सक्सेस रेट (सफल हुने दर)छ,'' उनले भने।

आगामी वर्ष सरकारले १० वटा 'ब्लक' (स्थान)मा अन्वेषणको कार्य अघि बढाउनका लागि टेन्डर निकाल्ने तयारी गरिरहेको छ।

विगतमा ती ब्लकहरूमा युरोप, अमेरिका र मध्य पूर्वका राष्ट्रहरूले काम गरिरहेका थिए।

तर वर्षौँसम्म त्यसमा प्रगति हुन नसकेपछि उनीहरूसँगको सम्झौता सरकारले रुद्ध गर्‍यो।

नेपालमा पेट्रोलियम पदार्थको खोजी. अन्वेषण गरिएका खण्ड र तिनको क्षेत्रफल. .

सरकारले सन् २०१४मा अमेरिकाको बीबीबी च्याम्पियन र दुबईको इमिरेट्स असोसिएटेड बिजनेस ग्रुपको अनुमित रद्द गरेको थियो।

सन् २०१५मा अमेरिकी कम्पनी टेक्साना रिसोर्सेस र यूकेको केन इनर्जीको पनि इजाजत रद्द गरियो।

नेपालको तराई र शिवालिक क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि झन्डै पाँच-पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक (स्थल) छुट्टाइएको छ।

ती ब्लक पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्।

चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरै आकर्षण बढ्ने अपेक्षा सरकारको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जेड खानीको फोहोरमा बहमूल्य रत्न भेटिने आशा