नेपाल विद्युत्: 'दैनिक ८ देखि १० करोड रुपैयाँको बिजुली भारत निर्यात' - कहिलेसम्म सम्भव छ

माथिल्लो तामाकोशी

तस्बिर स्रोत, utkhpl

बर्खायाम लागेसँगै 'रन अफ द रिभर' अर्थात् नदीको बहावमा आधारित आयोजनामा निर्भर नेपालले विगतका तुलनामा ठूलो परिमाणमा विद्युत् निर्यात गरिरहेको अधिकारीहरूले बताएका छन्।

विगतमा १८ घण्टासम्म लोडशेडिङको मार खेपेको नेपालले हाल 'दैनिक ८ देखि १० करोड रुपैयाँ बराबरको ऊर्जा दक्षिणी छिमेकी भारतलाई बेचिरहेको' ऊर्जा मन्त्री पम्फा भुसालले जानकारी दिइन्।

नेपालले हाल भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ।

हाल नेपालले ढल्केबर-मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट विद्युत् कारोबार गरिरहेको छ।

अन्य नेटवर्कबाट विद्युत् कारोबारका लागि हालसम्म अनुमति प्राप्त नभएका कारण उक्त प्रसारण लाइनबाट मात्रै खरिद विक्री भइरहेको बताइएको छ।

जलविद्युत् आयोजना

तस्बिर स्रोत, NEA

नेपालले भारतलाई झन्डै ३६४ मेगावाट सम्म विद्युत् विक्री गर्न पाउने व्यवस्था रहेको अधिकारीहरू बताउँछन्।

कति विद्युत् विक्री भएको छ?

भुसालका अनुसार नेपालले हाल औसतमा प्रति युनिट ११ रुपैयाँ ३८ पैसामा भारतलाई विद्युत् बेचिरहेको छ।

ऊर्जा बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुँदा बिक्री मूल्य प्रत्येक दिन फरक हुन्छ।

केही दिन अघि मात्रै तीन रुपैयाँ ४० पैसा अनि सोमवार झन्डै ६ रुपैयाँ १८ पैसामा विद्युत् विक्री गरिएको अधिकारीहरू बताउँछन्।

जलविद्युत् आयोजना

तस्बिर स्रोत, NEA

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालले हाल ५,८०० देखि ८,४०० मेगावाट प्रतिघण्टासम्म बिजुली भारतलाई बेचिरहेको छ।

आन्तरिक बजारको माग पूर्ति भएपछि बाँकी रहेको अतिरिक्त ऊर्जा बेच्ने गरिएको अधिकारीहरू बताउँछन्।

अबको केही समयमा औसतमा झन्डै ३४० मेगावाट सम्म विद्युत् विक्री गर्ने योजना प्राधिकरणले बनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले झन्डै एक महिना अघि देखि भारतमा बिजुली निर्यात गर्न थालेको हो।

नेपालले सुरुमा त्रिशुली र देवीघाट जलविद्युत आयोजना अन्तर्गतको ३९ मेगावाट विद्युत् निर्यात सुरु गरिएको थियो।

त्यसपछि कालीगण्डकी जलविद्युत् आयोजनाको थप १४४ मेगावाट बिजुली निर्यात गर्न थालिएको थियो।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, विद्युतीय गाड़ीबाट कसरी हुन्छ फाइदा
Presentational grey line

उत्पादनको अवस्था कस्तो छ?

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार हाल औसतमा नेपालको १,८०० मेगावाटसम्म विद्युत् उत्पादन क्षमता छ।

जलाशययुक्त कुलेखानी आयोजनाको विद्युत् समेत जोड्ने हो भने उत्पादन क्षमता १,९०० मेगावाटको हाराहारीमा पुग्छ।

भुसालका अनुसार नेपालले अबको केही समयमा हाल विक्री गरिरहेको ऊर्जाको दुई गुणा बेच्न सक्ने अवस्था रहनेछ र त्यसका लागि भारतसँग पहल पनि भइरहेको छ।

जलविद्युत् आयोजना

तस्बिर स्रोत, NEA

''अहिले नै यो भन्दा बढी निर्यात गर्न सक्ने अवस्था छ। यो भन्दा दोबर दिन सक्छौँ। भारतसँग आग्रह गरिरहेका छौँ,'' उनले भनिन्।

नयाँ आयोजनाहरू सञ्चालनमा आएर आन्तरिक उत्पादनबाट यो वर्ष ७०० देखि १,००० मेगावाट विद्युत् थपिने उनले जानकारी दिइन्।

प्राधिकरणका अनुसार सामान्यतया असोज र कार्तिक महिनामा नेपालमा जलविद्युतको माग घट्छ। त्यही बेला नदी सफा हुन्छ।

खास गरी तराइ क्षेत्रमा गर्मीका कारण प्रयोग हुने उपकरणको प्रयोग कम हुन थाल्छ।

''हाम्रो लोड भनेको औद्योगिक लोड बाहेक अन्य लोड तापमानमा भर पर्छ। काठमाण्डूमा जाडोमा दोबर लोड हुन्छ। तराइमा गर्मीमा त्यस्तै हुन्छ,'' भट्टराईले भने।

''त्यो समयमा हामीले ७०० मेगावाटसम्म निर्यात गर्न सक्छौँ।''

तर उत्पादन बढ्नु र आन्तरिक बजारमा माग घट्नु मात्रै निर्यात बढाउनका लागि पर्याप्त भने हुँदैन।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, के विद्युतीय गाडीहरूले घरको उर्जा समस्यामा सहयोग पुर्‍याउन सक्लान्?
Presentational grey line

नेपाल र भारतको सम्झौता अनुसार ४०० केभी ए क्षमताको ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनको क्षमता पहिले नै घोषणा गर्नुपर्ने हुन्छ।

हालको सम्झौता ६०० मेगावाटमा सीमित रहेको बताइएको छ।

मन्त्री भुसालका अनुसार नेपालले हालकै परिमाणमा नोभेम्बर महिनासम्म विद्युत् विक्री गर्न सक्ने अवस्था छ।

आन्तरिक बजारको अवस्था कस्तो छ?

मन्त्री भुसालका अनुसार पछिल्लो समय नेपालमा विद्युत् खपत झन्डै २० प्रतिशतले बढेको छ। प्राधिकरणका अनुसार खपत बढ्नुका दुई मुख्य कारण छन्।

पहिलो हो घरघरमा हुने खपत बढदै जानु। एअर कन्डिसनर, पङ्खादेखि विद्युतीय चुलोको देशका विभिन्न स्थानमा बढ्दो प्रयोगले घरेलु माग थपिएको छ।

कुलमान
तस्बिरको क्याप्शन, तिहारमा देखिएको काठमाण्डूको दृश्य (फाइल तस्वीर)

युक्रेनमाथि रुसले आक्रमण गरेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा पनि विद्युत् खपतमा सकारात्मक प्रभाव पारेको बताइएको छ।

अर्को पाटो हो औद्योगिक माग। भट्टराईका अनुसार पछिल्लो एक वर्षमा उद्योगहरूमा ३०० देखि ४०० मेगावाट माग बढेको छ।

हाल नेपालमा उत्पादन बढेका बेला निर्यात पनि बढ्नुको कारण भारतमा तापमान बढेका कारण बढेको घरेलु माग हो।

टुटेको छैन विद्युतमा भारतको भर

ऊर्जा मन्त्री भुसालले नेपालमा अहिले जस्तै गरी विद्युत् उत्पादन र बिक्री बढ्दै गए पाँच वर्षमा भारतलाई मात्रै लगभग ७० अर्ब रुपैयाँ बराबरको विद्युत् बिक्री गर्न सकिने जनाएकी छन्।

यस्तो अवस्था रहे जलविद्युतमा भारतमा भर पर्ने अवस्था पनि कम हुन जाने बताइएको छ।

''यो वर्ष अलि कम, आउने वर्ष अझ कम आयात गर्छौं। त्यसपछि गर्नुपर्दैन। हामी निर्यात मात्रै गर्न सक्ने अवस्थामा हुन्छौँ'' उनले दाबी गरिन्।

विद्युत्

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, विद्युत्

तर नेपालको प्रसारण लाइन प्रणाली र अन्तरसञ्जाल (कनेक्टीभिटी) व्यापक रूपमा सुधार नुहुँदा सम्म भने त्यस्तो सम्भावना न्यून देखिन्छ।

नेपालले १० करोड सम्मको दैनिक बिजुली भारतलाई बेच्दा समेत सुदूरपश्चिममा टनकपुरबाट ४० देखि ५० मेगावाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता छ।

नेपालले हाल औसतमा ९ रुपैयाँ सात पैसामा भारतबाट विद्युत् खरिद गरिरहेको छ। केही समय अघि मात्रै झन्डै २० रुपैयाँ सम्ममा नेपालले भारतबाट विद्युत् आयात गरेको थियो।

सुदूरपश्चिम क्षेत्रमा उत्पादित विद्युत्‌ले त्यस क्षेत्रको माग पूरा नगर्ने हुँदा नेपालको पूर्वी क्षेत्रबाट उत्पादित बिजुली त्यहाँसम्म पुर्‍याउँदा त्यसको भोल्टेज एकदमै कम हुने अवस्था छ।

साथै पूर्वाधारको पनि अभाव छ जसकारण सुदूरपश्चिममा भारतमा अझै केही वर्ष निर्भर रहनू पर्ने अवस्था रहेको बताइन्छ।देशका अन्य क्षेत्रमा भने प्राविधिक समस्या आउँदा मात्रै भारतबाट बिजुली लेन देन गर्ने गरिएको भट्टराई बताउँछन्।

हिउँद लागेपछि भने नेपालले भारतबाट खरिद गर्ने विद्युत्को परिमाण बढ्न जान्छ। हिउँदमा नेपालमा कुल उत्पादन क्षमताको ३० देखि ३५ प्रतिशत मात्र उत्पादन हुने आकलन गरिन्छ।