अमेरिका गर्भपतन: सर्वोच्च अदालतको आदेशपछि गर्भपतन क्लिनिकहरू बन्द हुँदै, पक्ष र विपक्षमा प्रदर्शन

प्रदर्शन

तस्बिर स्रोत, MICHAEL REYNOLDS/EPA-EFE/REX/Shutterstock

अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्।

'रो भर्सस वेड' भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ।

तीमध्येका १३ राज्यले 'ट्रिगर ल' भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन्। शुक्रवारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ।

राष्ट्रपति जो बाइडनले अदालतको आदेश "एउटा दुःखद गल्ती" भएको टिप्पणी गरेका छन्।

अमेरिकाका विभिन्न सहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्।

आदेशपछि क्लिनिकहरूको अवस्था

गर्भपतनमा तत्काल प्रतिबन्ध लगाउने कानुन बनाइसकेको आर्कन्सा राज्यको लिटल रकस्थित एउटा गर्भपतन क्लिनिकले अदालतको आदेश अनलाइनमा प्रकाशित भएलगत्तै गर्भपतन सेवा बन्द गरेको छ।

त्यहाँ बाहिरैबाट मानिसहरू सुँक्कसुँक्क गरेको सुन्न सकिन्थ्यो।

प्रदर्शन

तस्बिर स्रोत, Reuters

कर्मचारीहरूले डाक्टरसँग भेट्ने समय लिइसकेका महिलालाई टेलिफोन गरेर उनीहरूको भेट रद्द गरिएको जानकारी दिइरहेका थिए।

"यस्तो खराब समाचार सुन्न हामीले जतिसुकै कठिन तयारी गरे पनि समाचार आउँदा गाह्रो हुन्छ। सेवाग्राही महिलाहरूलाई टेलिफोन गरेर 'रो भर्सस वेड' खारेज भयो भन्नु हृदयविदारक हुन्छ," नर्स एश्ली हन्टले बीबीसीसँग भनिन्।

प्रदर्शनकारीहरूको माझबाट क्लिनिकमा आउने बिरामीहरूलाई सुरक्षा प्रदान गर्न आर्कन्साको गर्मीमा दिनभरि खटिएका सुरक्षाकर्मीहरूले सामूहिक अङ्कमाल गरे।

"मैले यो देशले अझै पनि मानिसहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ। महिलाहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ," सुरक्षा दिने समूहकी प्रमुख मिस करिनले भनिन्।

क्लिनिकबाहिर गर्भपतनविरोधी प्रदर्शनकारीहरूले हर्षोल्लास गरिरहेका थिए।

"तिमी निगरानीमा छौ!" क्लिनिकमा आफ्नो कार पार्क गरिरहेका र अझैसम्म अदालतको आदेशबारे थाहा नभएका मानिसलाई एक प्रदर्शनकारीले चेतावनी दिए।

"मेरो सुझावमा तिमी यहाँबाट फर्किएर गइहाल। यो पापी ठाउँ, असमानताको ठाउँ र खराब ठाउँमा नबस।"

प्रदर्शन

तस्बिर स्रोत, WILL OLIVER/EPA-EFE/REX/Shutterstock

कति महिला प्रभावित हुन्छन्?

अदालतको आदेश तत्काल कार्यान्वयन हुने लुईजियाना राज्यस्थित तीनवटा गर्भपतन केन्द्रमध्येको एक न्यू ओर्लन्सस्थित विमिन्स हेल्थ केअर सेन्टरका कर्मचारीहरू फैसलालगत्तै घर फर्किन थालेका थिए।

क्लिनिकको बाहिर स्वयंसेवी सुरक्षाकर्मीको काम गरिरहेकी लिन्डा कोचरले बीबीसीसँग धनी महिलाहरूले अन्य राज्यमा गएर अझै पनि गर्भपतनको सेवा लिन पाउने भए पनि गरिबहरू मर्कामा पर्ने बताइन्।

गर्भपतनविरोधी अभियानकर्मी पादरी बिल साङ्क्सले फैसलापछि "यो उत्सवको दिन" भएको बताए।

सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्न सक्ने उमेरका तीन करोड ६० लाख महिलाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट रोक्ने एक अध्ययनले देखाएको छ।

अदालतको फैसलालगत्तै वाशिङ्टनस्थित अदालतबाहिर गर्भपतनको विरोध गर्दै प्रदर्शन गर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए।

गर्भपतन अधिकारका पक्षधरहरूले पनि ५० वटै राज्यमा प्रदर्शनको तयारी गरिरहेका छन्।

'रो भर्सस वेड' के हो?

सन् १९७३ मा गरिएको 'रो भर्सस वेड' फैसलाले आफू सक्षम नभएसम्म गर्भपतन गर्ने महिलाको अधिकार रक्षा गरेको थियो।

उक्त आदेशानुसार महिलाहरूले गर्भावस्थाको पहिलो त्रैमासिक वा २८ हप्ता अघिसम्म गर्भपतन गर्न पाउँथे। तर दोस्रो त्रैमासिकमा गर्भपतन निषेध गरेको तियो।

अमेरिकाका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूले गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका थिए।

परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा छ र विपक्षमा छ न्यायाधीश उभिए।

अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकार स्पष्ट उल्लेख गरेको छैन र सर्वोच्च अदालतको यो फैसलाले गर्भपतनको अधिकार सुनिश्चित गर्ने विगतको फैसला अवैध भएको ठहर गरेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल बजेट: स्यानिटरी प्याडमा कर छुट तर अभियानकर्मीका 'माग अधूरै'