गर्भपतन: चुहिएको दस्तावेजबारे अनुसन्धान थालिँदा त्यो साँचो भएको अमेरिकी सर्वोच्च अदालतको भनाइ

वासिङ्टनमा अभियानकर्मी

तस्बिर स्रोत, Reuters

अमेरिकी लाखौँ महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउनसक्ने भन्ने चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन्।

तर त्यसले अदालतको अन्तिम निर्णयको भने प्रतिनिधित्व नगर्ने प्रधानन्यायाधीश जोन रोबर्टस्‌ले बताएका हुन्।

अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को फैसलालाई उल्ट्याउनसक्ने विषय उक्त चुहिएको दस्तावेजमा रहेको छ।

यदि त्यसो भए त्यसले राज्यहरूलाई गर्भपतनमा रोक लगाउने बाटो खोल्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि उक्त निर्णय अघि बढे त्यसले स्वतन्त्रतासम्बन्धी थुप्रै प्रश्नहरू उठाउने बताएका छन्।

असर

"पहिलो मस्यौदा" भनिएको उक्त चुहिएको कागजातले अदालतका बहुमत सदस्यको धारणा प्रतिबिम्बित गरेको ठानिएको छ।

उक्त मस्यौदा अन्तिम फैसला होइन र त्यसमा धारणाहरू परिवर्तन हुनसक्छन्।

तर यदि रोविरुद्ध वेड नामको उक्त मुद्दाको निर्णय उल्टिए त्यसले अमेरिकाका करिब आधा राज्यहरूमा गर्भपतनमाथि रोक लगाउनसक्छ।

एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टस्‌ले मस्यौदा चुहिएको विषयलाई गम्भीर उल्लङ्घन भन्दै त्यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतको मार्शललाई भनेका छन्।

उक्त मस्यौदा अमेरिकी वेबसाइट पोलिटिकोले पहिलोपटक प्रकाशित गरेको थियो।

तीव्र प्रतिक्रिया

प्रधानन्यायाधीशले कुनै पनि तरिकाबाट अदालतको कारबाही प्रभावित नहुने पनि बताएका छन्।

सार्वजनिक भएको मस्यौदाप्रति दुवै पक्षबाट तीव्र प्रतिक्रिया आएका छन्।

गर्भपतनविरोधी ल फर्म अमेरिकन्स युनाइटेड फर लाइफले अदालतलाई गर्भपतन समर्थक गतिविधिहरू वा प्रतिनिधि सञ्चारहरूको अपेक्षालाई उपेक्षा गर्न आह्वान गरेको छ।

त्यस्तै अमेरिकामा प्रजनन स्वास्थ्यबारे सेवा दिने ठूलो संस्था प्लान्ड प्यारेन्टहुडले भने सुरक्षित र वैधानिक गर्भपतनको अधिकारको रक्षाका लागि आफूले लडाइँ जारी राख्ने बताएको छ।

उसले यदि उक्त मुद्दाको फैसला उल्टिए त्यसबाट ३ करोड ६० लाख महिलाहरूले गर्भपतनको अधिकार गुमाउने जनाएको छ।