गर्भपतन: अमेरिकाको टेक्ससमा गर्भ तुहाउन सहयोग गर्ने डाक्टरविरुद्ध मुद्दा

गर्भपतन समर्थक प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

अमेरिकाको टेक्सस राज्यमा गर्भपतन विरुद्धको नयाँ कानुन उल्लङ्घन गरेको स्वीकार गर्ने एकजना डाक्टरविरुद्ध मुद्दा दायर भएको छ।

ती डाक्टर एलन ब्रेइडले वाशिङ्गटन पोष्ट पत्रिकामा लेख लेख्दै आफूले गर्भधारणको प्रारम्भिक चरणमा रहेकी तर टेक्सस राज्यले तोकेको "नयाँ कानुनी समयसीमा" नाघेको अवस्थाको एक महिलालाई गर्भपतनमा सघाएको बताएका थिए।

आर्कान्सो र इलिनोई राज्यका भूतपूर्व वकिलहरूले सोमवार ती डाक्टरविरुद्ध मुद्दा दायर गरेका हुन्।

टेक्सस राज्यमा जारी गर्भपतनसम्बन्धी नयाँ कानुनले गर्भधारण भएको छिटोमा छ हप्तासम्मको अवस्थामा गरिने गर्भपतनलाई गैरकानुनी ठहर गरेको छ।

उक्त नयाँ कानुन यही सेप्टेम्बर महिनाको १ तारिखबाट लागु भएको छ। त्यसअनुसार टेक्सस वा अन्यत्रका जो कोही व्यक्तिले छ हप्ता नाघेको गर्भपतन गर्न सघाउने डाक्टरहरूविरुद्ध मुद्दा हाल्न पाउँछन्।

तर उक्त कानुनले त्यस्तो गर्भपतन गराउने महिलाविरुद्ध मुद्दा चलाउने अनुमति भने दिँदैन।

गर्भपतनविरोधी अभियानकर्ताहरूले भन्ने गरेका "भ्रूणको मुटुको चाल" थाहा पाउन सकिने अवस्था भइसकेपछि गरिने गर्भपतनमाथि नयाँ कानुनले प्रतिबन्ध लगाएको छ।

तर यो अवस्थालाई चिकित्सा क्षेत्रका विज्ञहरूले अन्योलकारी भनेका छन्।

आधारभूत अधिकार

झन्डै ५० वर्षदेखि बिरामीको उपचारमा संलग्न डाक्टर ब्रेइडले गत सप्ताहान्तमा प्रकाशित आफ्नो विचार सहितको लेखमा भनेका छन्, "ती बिरामीको स्वास्थ्य मेरो दायित्व भएको कारणले आफ्नो कर्तव्यपालना गर्ने क्रममा मैले त्यस्तो कदम चालेको हुँ। र, त्यस्तो सेवा प्राप्त गर्नु उनको आधारभूत अधिकार पनि हो।"

"यसको कानुनी प्रभाव पर्नेछ भन्ने बारेमा म पूर्ण रूपमा अवगत छु। तर यो स्पष्ट रूपमा गैरसंवैधानिक कानुनका सम्बन्धमा बिना विधिसम्मत परीक्षण टेक्ससलाई अघि बढ्न दिनु हुन्न भन्ने म ठान्छु।"

उनीविरुद्ध मुद्दा हालेका र आफैँ पनि कर छलीको अभियोगमा १५ वर्ष घरैमा थुनाको अवस्थामा बस्नुपर्ने सजाय भोगिरहेका भूतपूर्व वकिल ‌ओस्कर स्टाइलीले डाक्टर ब्रेइडको लेख पढेपछि आफूले मुद्दा हालेको बताएका छन्।

उनले आफू गर्भपतनको विरोधी नभए पनि टेक्ससमा लागु भएको उक्त नयाँ कानुनको अदालतमा विधिसम्म परीक्षण होस् भनेर आफूले त्यस्तो कदम चालेको बताएका छन्।

मुद्दा दायर गर्ने अर्का व्यक्त फेलिपे गोमेजले पनि आफूलाई "प्रो चोइस" अर्थात् गर्भपतन समर्थक भन्दै नयाँ कानुन् "शब्द र व्यवहार दुवै हिसाबले गैरकानुनी" भनेका छन्।

डाक्टर ब्रेइडले उनी विरुद्धका दुवै मुद्दाका बारेमा कुनै टिप्पणी गरिसकेका छैनन्।