गर्भपतन अधिकार माग गर्दै अमेरिकामा हजारौँको प्रदर्शन

तस्बिर स्रोत, Reuters
गर्भपतन अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा दशौँ हजारले प्रदर्शन गरेका छन्।
टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा जुटेका हुन्।
गर्भपतन स्वैच्छिक अधिकार हुनुपर्ने पक्षधरहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन्।
अमेरिकाको सर्वोच्च अदालतले आगामी महिनाहरूमा गर्ने सुनुवाइले 'रो भि वेड' भनिने गर्भपतनलाई कानुनी मान्यता दिने सन् १९७३ को आदेश उल्टाउन सक्ने चिन्ता गरिएको छ।
'गर्भपतनलाई कानुनी मान्यता' भन्नेजस्ता नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च अदालत अगाडी 'मार्च पास' गरेका थिए।
करिब दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शन विरोधीहरूले र्यालीको सुरुमै अवरोध पुर्याउने प्रयास गरेका थिए।
त्यो अवरोध प्रदर्शनकारीहरूको गीत र तालीमा ओझेल परेको वासिङ्टन पोस्ट पत्रिकाले उल्लेख गरेको छ।

तस्बिर स्रोत, Reuters
प्रदर्शनमा सहभागी एक महिलाले नारीको छनौट गर्न पाउने अधिकारका लागि आफू सहभागी भएको बताइन्।
"सौभाग्यले मैले यो छनौट गर्नुपर्ने अवस्था सामना गर्नुपरेको छैन। तर यहाँ धेरै यस्ता महिला छन् जसले त्यो अवस्था सामना गर्नुपरेको छ। हाम्रो शरीरको र त्यसको नतिजाको कुरामा हाम्रो सरकार र पुरुषहरूलाई केही भन्ने अधिकार छैन," रोविन हर्नले रोयटर्स समाचार संस्थासँग भनिन्।
र्यालीहरू यसअघि वार्षिक रूपमा वीमन मार्च आयोजना गर्ने समूहहरूले नै गरिरहेको बताइएको छ।
"यो देशैभरका मानिसहरूका लागि आयोजना गरिएको हो," वीमन मार्चकी कार्यकारी निर्देशक राचेल ओलिरि कार्मोनाले भनिन्।
"हामीमध्ये धेरै जना गर्भपतनसम्बन्धी कानुनी र त्यसमा सबैको पहुँचमा हुनुपर्छ भन्ने सोचका साथ हुर्केका छौँ," उनले थपिन्।
"तर त्यो कुरा अहिले साँच्चिकै जोखिममा देखिएको छ र यो जागरणको क्षण हो।"
न्यूयोर्क राज्यकी गभर्नर काथे होकुलले दुई फरक-फरक र्यालीलाई सम्बोधन गरेकी थिइन्।
"गर्भपतनको अधिकारका लागि लड्दा लड्दै म थाकिसकेँ र बिरामी नै परिसकेँ," उनले भनिन्।
"यो देशमा रहेको एउटा कानुन हो। हामीले नयाँ र नभएको कुरा मागेका हैनौँ।"

तस्बिर स्रोत, Reuters
अर्को प्रदर्शन टेक्ससमा भयो।
गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले गर्भपतन विरुद्धका अभियानकर्मीले भन्दै आएको भ्रूणको मुटुको धड्कन सुरु हुन थालेपछि गर्भपतन गर्न नपाइने कानुन बनाएका थिए।
तर महिलाहरूले त्यो समयसम्म महिलाहरूलाई आफू गर्भवती भए वा नभएको थाहा नै नहुने बताउँदै आएका छन्।
हार्टविट एक्ट भनिएको नयाँ कानुनले छ हप्ता पछिको गर्भपतनमा संलग्न चिकित्सकमाथि मुद्दा चलाउन सक्ने अधिकार जोसुकै व्यक्तिलाई दिएको छ।
यसका समर्थकहरूले जन्मने क्रममा रहेको शिशुको रक्षाका लागि यो कानुन बनाइएको बताएका छन्।
रिपब्लिकन पार्टीको बाहुल्य रहेका अन्य राज्यहरूमा पनि राजनीतिज्ञहरूले यस्तो प्रतिबन्ध लगाउन पहल गरिरहेका छन्।
अधिकारवादी समूहहरूले टेक्ससको कानुनमा बन्देज लगाउन माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।
तर मतदानबाट भएको निर्णयमा यो कानुन नरोक्ने पक्षमा अदालतमा बहुमत भयो।
आगामी डिसेम्बर १ अमेरिकाको सर्वोच्च अदालतले मिसिसिपि राज्यमा १५ हप्तापछि गर्भपतनमा रोक लगाउने कानुन विरुद्धको सुनुवाइ तय गरेको छ।
यदि अदालतले यो कानुनलाई मान्यता दिए सन् १९७३ को 'रो भि वेड' आदेश उल्टिन सक्छ।
'रो भि वेड'ले आफू सक्षम नभएसम्म गर्भपतन गर्ने महिलाको अधिकार रक्षा गर्छ।
आदेश अनुसार महिलाहरूले गर्भावस्थाको तेस्रो त्रैमासिक वा २८ हप्ता अघिसम्म गर्भपतन गर्न पाउँछन्।









