अमेरिका गोलीकाण्ड: सुरक्षा अधिकारी भन्छन्- 'बन्दुकधारीलाई तीन मिनेटभित्र रोक्न सकिन्थ्यो'

टेक्सस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टी (डीपीएस) का निर्देशक मक्रोँ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, डीपीएसका निर्देशक

अमेरिकाको टेक्सस राज्यका सार्वजनिक सुरक्षा मामिलासम्बन्धी प्रमुखले त्यहाँस्थित एउटा प्राथमिक विद्यालयमा भएको बन्दुकधारीको आक्रमणलाई हमलाकारी भवनमा प्रवेश गरेको तीन मिनेटभित्र रोक्न सकिन्थ्यो भन्ने बयान दिएका छन्।

उनका भनाइमा उक्त घटना हुँदा घटनास्थलमा पर्याप्त प्रहरीहरू रहेका थिए।

स्टिभन मक्रोँले उक्त राज्यको सिनेटमा भएको सुनुवाइमा प्रहरीको प्रतिकार्य "घोर असफलता" भएको बताए।

उनले घटनास्थलमा खटिएका कमाण्डर अधिकृतले बालबालिकाको भन्दा आफ्नो जीवनलाई महत्त्वपूर्ण ठानेको आरोप लगाए।

उनका भनाइमा सुरक्षाकर्मीको टोलीले उक्त भवनमा प्रवेश गर्नुअघि कक्षाकोठाबाहिर एक घण्टाभन्दा बढी समय कुरेको थियो।

उक्त सार्वजनिक सुनुवाइमा टेक्सस डिपार्टमेन्ट अफ पब्लिक सेफ्टी (डीपीएस) का निर्देशक मक्रोँले भने, "अधिकृतहरूसँग अस्त्र थियो, बालबालिकासँग थिएन। अधिकृतहरूसँग सुरक्षाकवच थियो, बच्चाहरूसँग थिएन। अधिकृतहरू तालिमप्राप्त थिए, हमलाकारी थिएन। बालबालिका र शिक्षकहरूले एक घन्टा १४ मिनेट ८ सेकेन्डसम्म उद्धारका लागि पर्खिरहेका थिए।"

"हमलाकारी पश्चिमको भवनमा प्रवेश गरेको तीन मिनेटमै उसलाई अलग गर्न, अलमल्याउन र नियन्त्रण गर्न रक्षा कवच लगाएका सशस्त्र अधिकृतहरू पर्याप्त सङ्ख्यामा थिए।"

धेरै अभिभावक र आफन्तहरूले गत मे २४ मा रब एलिमेन्ट्री स्कूलमा १९ विद्यार्थी र दुई शिक्षकसहित २१ जनाको ज्यान जानेगरी भएको सामूहिक गोलीकाण्डमा प्रहरीको व्यवहारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

पहिले भनिएभन्दा अघि नै प्रहरी घटनास्थलमा पुगेको खबरहरूमा देखाइएको छ

तस्बिर स्रोत, AUSTIN AMERICAN-STATESMAN / KVUE-TV

तस्बिरको क्याप्शन, पहिले भनिएभन्दा अघि नै प्रहरी घटनास्थलमा पुगेको खबरहरूमा देखाइएको छ

डीपीएस प्रमुखले उक्त घटनास्थलका कमाण्डर यूभाल्डे स्कूलका प्रहरी प्रमुख पीट एरेडोन्डोले "रेडिओ र राइफलको लागि अनि ढालका लागि पर्खिएको" बताए।

तर जुनको सुरुमा एरेडोन्डोले आफू घटनास्थलको कमाण्डर नमानेको र प्रहरीलाई पछि हट्न आदेश नदिएको बताएका थिए।

उनले टेक्सस ट्रिब्यूनलाई पनि आफूले आफ्नो बन्दुक समाउनका लागि आफ्ना हातहरू खाली राख्न विद्यालयबाहिर आफ्ना दुईवटा रेडिओ सेट छोडेको बताएका थिए।

यसअघि मङ्गलवार सशस्त्र प्रहरी राइफल र कम्तीमा एउटा बलिस्टिक ढालसहित स्कूलको करिडोरमा पर्खिरहेको देखिने तस्बिर पहिलो पटक बाहिर आएको थियो।

अनुसन्धानका कागजातहरू देखेका अस्टिन अमेरिकन-स्टेट्सम्यान र केभीयूई-टिभीले प्रहरी आक्रमणमा पहिले नै घटनास्थलमा पुगेको र पहिले भनिएको भन्दा बढी गोली हानाहान भएको जनाएका छन्।

नयाँ जानकारीले एरेडोन्डोले बन्दुकधारीसँग कुरा गर्ने प्रयास गरेको देखाउने र उनले ती हमलाकारीलाई उनले सुन्न सक्छन् कि सक्दैनन् भनेको अस्टिन अमेरिकन स्टेट्सम्यानले लेखेको छ।

टेक्सस ट्रिब्यूनका अनुसार प्रहरीले कक्षाकोठाको ढोका खोल्न सकियोस् भनेर मुख्य चाबीका लागि कुर्दै थियो।

गोलीकाण्ड

तर ढोकामा ताला लगाइएको थियो स्थापित हुन सकेको थिएन र प्रहरीसँग ढोका फोड्न सकिने खालका उपकरणहरू पनि थिए।

अन्ततः बन्दुकधारीलाई यूएस बोर्डर पेट्रोल ट्याक्टिकल युनिटका सदस्यहरूले गोली हानेर मारेका थिए।

आक्रमणका बेला बालबालिकाहरूले घटनाबारे जानकारी दिन ९११ नम्बरमा कल गर्दै थिए।

चिन्तित अभिभावकहरू विद्यालयभित्र पस्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई प्रवेश गर्नबाट रोकेको थियो।

टेक्सस प्रहरीले पछिल्लो विवरणबारे सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।

साल्भाडर रामोसले भनेर चिनिने १८ वर्षीय ती युवकले विद्यालयमा गरेको आक्रमणले अमेरिकामा बन्दुकसम्बन्धी नियमबारे राष्ट्रिय बहसलाई निम्त्याएको छ।

पीडितका अभिभावक र समुदायका अन्य सदस्यहरूले सोमवार उक्त स्कूलको बोर्ड बैठकमा एरेडोन्डोको राजीनामाको माग गरेका छन्।