बफलो गोलीकाण्डः हमला गर्न बन्दुकधारीले गरेका थिए ३२० किलोमिटर लामो यात्रा

तस्बिर स्रोत, Reuters
न्यूयोर्क राज्यको बफलोस्थित एउटा सुपरमार्केटमा १० जनाको ज्यान जाने गरी गरिएको हमलाका लागि नियतवश अश्वेत जनसङ्ख्या बढी भएको ठाउँ रोजिएको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार १८ वर्षीय सन्दिग्ध पेटन जेन्ड्रोनले हमला गर्नका लागि ३२० किलोमिटरभन्दा बढीको यात्रा गरेको पाइएको छ।
हमलालाई जातीय अतिवादले प्रेरित भई गराइएको घटनाका रूपमा अनुसन्धान गरिँदैछ।
बफलो नगरका मेयर बाइरन ब्राउनले "धेरै अश्वेत मानिसको ज्यान लिने उद्देश्यका साथ" सन्दिग्ध व्यक्ति त्यहाँ पुगेको बताएका छन्।
अनुसन्धान केमा केन्द्रित छ?
अधिकारीहरूको निगरानीमा रहेका ती व्यक्तिले कसरी हमला गर्न सके भन्ने कुरालाई लिएर प्रश्न उठाइँदैछ।
आफू पढेको विद्यालयलाई धम्की दिएपछि जेन्ड्रोनलाई गत वर्ष हिरासतमा लिइएको थियो।
तर मानसिक स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी पछि उनलाई रिहा गरिएको थियो।
जेन्ड्रोनले लेखेको भनिएको १८० पृष्ठको एउटा दस्तावेजमा आफूलाई फाँसीवादी र श्वेत सर्वोच्चतावादीको रूपमा चित्रण गरेका छन्।
"म थाहा पाउन चाहन्छु मानिसहरूलाई के थाहा छ र कहिले उनीहरूलाई थाहा भयो," न्यूयोर्ककी मेयर क्याथी होकुले भनिन्।

तस्बिर स्रोत, Getty Images
प्रहरीका अनुसार हमला गर्नुभन्दा एक दिनअगाडि सन्दिग्ध व्यक्तिले ठाउँको अवलोकन गरेका थिए।
ती सन्दिग्ध व्यक्तिले शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए।
प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए।
सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई "हिंसक अतिवादी कृत्य" को सङ्ज्ञा दिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडन न्यूयोर्कमा दशजना मारिएको एउटा गोलीकाण्डबाट प्रभावित समुदायका मानिसहरूलाई मङ्गलवार भेट्दैछन्।








