हैजा: काठमाण्डूमा सङ्क्रमण पुष्टि, यसबाट कसरी जोगिने?

भिब्रिओ कोलरी

तस्बिर स्रोत, Science Photo Library

काठमाण्डूमा दुई जना बिरामीको परीक्षण गर्दा हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

"शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा... परीक्षण गर्दा हैजा रोगको जीवाणु पत्ता लागेको जानकारी गराउन चाहन्छौँ," मन्त्रालयले आइतवार बेलुकी जारी विज्ञप्तिमा भनेको छ।

अस्पतालका सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार उनीहरूमा हैजाको लक्षण देखिएपछि परीक्षण गरिएको थियो।

ती बिरामी काठमाण्डूमा बस्ने एकै परिवारको रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपत्यकाका सबैलाई सतर्क रहन र हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ।

डा. पुनले हाल झाडापखालाका बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा बिरामीलाई विभिन्न किसिमको सङ्क्रमण हुने भए पनि हैजाले सबैभन्दा छिटो र बढी असर गर्ने बताए।

के हो हैजा?

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ।

सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा. पुनको भनाइ छ।

उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।

हैजाका लक्षणहरू के-के हुन्?

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका हैजा पुष्टि हुँदाको अवस्था
तस्बिरको क्याप्शन, फाइल तस्बिर

हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ।

"चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्," डा. पुन भन्छन्।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए।

अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

"ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ," डा. पुनले भने।

अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

कति घातक?

हैजाको कारण सङ्क्रमितलाई पीडा नहुने भए पनि यसको सङ्क्रमण जोखिमपूर्ण भएको डा. पुनको भनाइ छ।

उनका अनुसार अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने तथ्याङ्क छ।

डा. पुन भन्छन्, "कडा किसिमको रोग लागेका व्यक्तिले समयमै उपचार नपाएको अवस्थामा मृत्युको जोखिम उच्च हुन्छ।"

उपचार अभावमा मानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहने बताइन्छ।

वर्षा याम लागेपछि नेपालका विभिन्न क्षेत्रमा हैजाका बिरामीहरू बर्सेनि देखिने गर्छन्।

तीमध्ये केहीको मृत्युसमेत हुने विवरणहरू सार्वजनिक भएका छन्। उनीहरूको मृत्युको प्रमुख कारण देशको भौगोलिक विकटता र विकट क्षेत्रका मानिसहरूले भोग्नु पर्ने उपचार अभाव भएको डा. पुन बताउँछन्।

"गत वर्ष कपिलवस्तुमा हैजाको कारण सयौँ मानिस प्रभावित भए र केहीको मृत्यु भयो। मृत्यु हुनेमा प्राय समयमा उपचार नपाउनेहरू थिए," उनले भने।

बिरामीले झाडापखालालाई सामान्य ठानेर घरमै उपचार विधि नअपनाउँदा समस्या जटिल बन्न सक्ने उनले बताए।

फोहोर

तस्बिर स्रोत, RSS

कसरी लाग्छ हैजा?

पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ।

व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने उनको बुझाइ छ।

"यदि काठमाण्डूमा उपचाररत बिरामीहरूलाई हैजा नै भएको रहेछ भने यो बिस्तारै फैलँदै छ। किनकि त्यहीँ पानी वा खाद्यान्न अरूले पनि खाएका छन्," डा. पुनले भने।

त्यस्तै काठमाण्डूमा केही दिनदेखि थुप्रिएका फोहोरले समेत भूमिका खेलेको हुनसक्ने उनको भनाइ छ।

"पुष्टि भएको कुरा होइन तर फोहोर रोग फैलाउने एउटा माध्यम हो। काठमाण्डूमा त्यसको पनि असर परेको हुनसक्ने सम्भावना छ," उनले भने।

उपचारका उपाय कस्ता?

हैजाको जीवाणु फैलिनुअघि नै यसविरुद्ध खोप लगाउनु उपयुक्त उपाय हुने डा. पुन बताउँछन्। उनले विशेषगरी विकट क्षेत्रका मानिसहरूसम्म त्यस्ता खोप पुर्‍याउनु अत्यावश्यक देखेका छन्।

"जहाँ स्वास्थ्य सेवा प्रभावकारी छैन, त्यहाँ रोग लाग्नै नदिनु उचित हुन्छ," उनले भने।

छ नेपालमा हैजाको खोप?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास नेपालमा हैजाविरुद्ध खोपको उपलब्धता सहज नभएको स्वीकार्छन्।

उनका अनुसार अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त खोप हाल कपिलवस्तुका मानिसहरूलाई उपलब्ध गराइएको छ।

"हैजाको खोप खरिद र भण्डारण अरू खोपको जस्तो सहज छैन। त्यसैले यो राष्ट्रिय खोप कार्यक्रम भित्र समावेश गरिएको छैन। त्यसको जोखिम कम गर्न हामी काम गरिरहेका छौँ," डा. दासले भने।

हैजा भइसकेको अवस्थामा पुनर्जलीय झोल अर्थात् जीवनजललाई प्राथमिक उपचार उपाय मानिन्छ।

त्यसबाहेक जटिल अवस्थामा रहेका बिरामीलाई नसामार्फत सलाइन दिइने डा. पुनले बताए।

कुनै अवस्थामा बिरामीको शरीरमा रोगको अवधि कम गर्नका निम्ति एन्टिबायोटिक प्रयोग गरिने उनको भनाइ छ।

"त्यसबाहेक स्वच्छ पानी पिउनु र सरसफाइमा ध्यान दिनु नै विकल्प हो।"

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाखदेखि ४० लाख मानिसलाई हैजा हुन्छ र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हुने आकलन गरिएको छ।