ओमिक्रोन बीए फोर र बीए फाइभ: कोरोनाभाइरस नयाँ भेरिअन्टको सङ्क्रमण बढ्दै गर्दा चिन्तित हुनु पर्छ?

तस्बिर स्रोत, BBC Sport
- Author, मिसेल रोबर्ट्स
- Role, डिजिटल स्वास्थ्य सम्पादक
ओमिक्रोन भेरिअन्टका दुई नयाँ उपप्रजातिहरूका कारण कोरोनाभाइरस सङ्क्रमण दर विश्वभर पुनः बढिरहेको छ।
दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरू चाँडै नै युरोप र अमेरिकामा सबैभन्दा बढी सङ्क्रमण पार्ने प्रजाति बन्न सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
बीए फोर र बीए फाइभ के हुन्?
पहिलो पटक देखिएयता कोरोनाभाइरसको पटकपटक उत्परिवर्तन भएको छ वा यसको स्वरूप परिवर्तन भइरहेको छ।
भाइरसको नयाँ आनुवंशिक संस्करणहरूलाई भेरिअन्ट भनिन्छ।
यसअघि कोरोनाभाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरिअन्टहरू देखिएका थिए जसले सङ्क्रमणको ठूलो लहर निम्त्याएका थिए।
हाल विज्ञहरू बीए फोर र बीए फाइभ भेरिअन्टहरू हिउँदे लहरसँग निकट रूपमा सम्बन्धित हुन सक्नेबारे चिन्तित छन्।
यी उपप्रजातिहरूलाई मार्च महिनामा विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले निगरानीको सूचीमा थपेको थियो र युरोपमा यो 'चिन्ताजनक भेरिअन्ट'को सूचीमा थियो।
यी भेरिअन्ट कहाँ फैलिरहेका छन्?
कोरोनाभाइरसको यी उपप्रजातिहरू यसै वर्षको सुरुवातमा दक्षिण अफ्रिकामा फैलिरहेको देखिएका थिए र अहिले यो अन्य भेरिअन्टहरूभन्दा धेरै छिटो फैलिएको देखिन्छ।
हाल यो अधिकांश युरोपेली देशहरूमा पुष्टि भएको छ र चाँडै नै अन्य भेरिअन्टहरूको सङ्क्रमण दरलाई उछिन्ने देखिन्छ।
पोर्चुगलमा त्यस्तो भइसकेको छ। त्यहाँ अहिले अधिकतम सङ्क्रमण बीए फाइभ प्रजातिको छ।

अमेरिकाका अधिकारीहरूका अनुसार त्यहाँ यिनै दुई उपप्रजातिका कारण सङ्क्रमण दर बढिरहेको छ।
यूकेमा पनि बीए फोर र बीए फाइभ भेरिअन्टहरूका कारण कोभिड सङ्क्रमण दरको सम्भावित वृद्धिको प्रारम्भिक सङ्केतहरू देखिँदै छ।
अस्ट्रेलियाले पनि यस भाइरसको सङ्क्रमणबारे विवरण सार्वजनिक गरेको छ।
के तिनीहरू घातक छन्?
यी भेरिअन्टहरूको सङ्क्रमणका कारण मानिसहरू कति जोखिममा पर्छन् भन्नेबारे विज्ञहरूसँग निश्चित जबाफ छैन।
बीए फोर र बीए फाइभ ओमिक्रोन कोरोनाभाइरसका अन्य प्रजातिभन्दा बढी घातक नहुने ठानिएको छ।
धेरै मानिसमा विगतमा भएको सङ्क्रमण र खोपका कारण रोगप्रतिरोधी क्षमता विकास भइसकेको छ जसले समग्रमा सङ्क्रमणलाई कम जोखिमपूर्ण बनाउन मद्दत पुर्याउँछ।

तस्बिर स्रोत, Getty Images
तर नयाँ उपप्रजाति निकै सहज ढङ्गमा फैलिने देखिएको छ।
सङ्क्रमण छिटो फैलनुमा मानिसको रोगप्रतिरक्षा क्षमता कम हुँदै जानुले प्रभाव पारेको हुन सक्छ। तर यसको मुख्य कारण भाइरसमा देखिएको उत्परिवर्तन नै हो।
धेरै देशहरूले कोभिड-१९ नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धहरू हटाएका छन्। यसको मतलब मानिसहरू घुलमिल भएका छन्। यस्ता गतिविधिले पनि भाइरसलाई फैलिने मौका दिन्छ।
हालसालै ओमिक्रोनको अन्य भेरिअन्टको सङ्क्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ।
सङ्क्रमणको नयाँ लहरमा धेरै मानिसहरू अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुग्न सक्छन् वा मृत्युदर बढ्न सक्छ।
सङ्क्रमणबाट कसरी जोगिने?
कोभिड-१९ को अन्य भेरिअन्टमा जस्तै यी नयाँ उपप्रजातिहरूले पनि वृद्धवृद्धालाई वा अन्य स्वास्थ्य अवस्था रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत् रहन्छ।
हाल उपलब्ध खोपहरू यी भेरिअन्टका लागि सर्वोत्तम उपाय होइन। यद्यपि सुरक्षाको लागि खोप महत्त्वपूर्ण छ।
ती खोपहरूले डेल्टा, अल्फा र बीटाजस्ता प्रजातिका कोभिड फैलिँदा मानिसहरूलाई गम्भीर अस्वस्थताबाट जोगाएका छन्।
चिकित्सकहरूले कोभिडका हालसम्म देखिएका र आगामी दिनमा देखिन सक्ने भेरिअन्टहरूविरुद्ध सर्वाधिक सुरक्षाका निम्ति सुझाइएको मात्रा खोप लगाउनु अपरिहार्य रहेको बताएका छन्।
नयाँ भेरिअन्टविरुद्ध खोप कहिलेसम्म?
कोभिड खोपहरू उत्परिवर्तित प्रजातिविरुद्ध अद्यावधिक गर्न खोजिएका छन् र तिनको परीक्षण भइरहेको छ।

तस्बिर स्रोत, Getty Images
उत्पादकहरूले उत्पादनलाई तीव्र बनाउन सक्छन् र र नियामक निकायहरूले यस प्रक्रियालाई कसरी छिटो अगाडि बढाउने भन्ने विषयमा छलफल गरिरहेका छन्।
उत्परिवर्तन किन हुन्छ?
भाइरसहरूले पुनः उत्पादनका निम्ति आफ्नै प्रतिलिपिहरू बनाउँछन् तर यस कार्य सधैँ पूर्ण नहुन सक्छन्।
पुनरुत्पादन क्रममा हुने त्रुटिहरूका कारण आनुवंशिक संरचना परिवर्तन हुन्छ र त्यसले गर्दा भाइरसको नयाँ संस्करण देखिन्छ।
यस्ता उत्परिवर्तनका कारण भाइरस जीवित रहने सम्भावना रहन्छ भने त्यो भेरिअन्ट फस्टाउन पुग्छ।
कोरोनाभाइरस जति धेरै समय मानव शरीरमा रहन्छ त्यति नै प्रतिलिपि बनाउने अवसर पाउँछ र उत्परिवर्तनको सम्भावना पनि ज्यादा रहन्छ।








