शेअर बजारः मूल्य निरन्तर घट्नुका कारण के हुन्, सुधार हुन कति समय लाग्ला

शेअर बजार ओरालो लागेको छ

काठमाण्डूको कपनमा बस्ने नवराज घिमिरे हिजोआज एकदम चिन्तित छन्। उनको चिन्ताको कारण हो- निरन्तर ओरालो लाग्दै गएको शेअर बजार।

"अहिले लगानीकर्ताहरू निकै पीडामा छन्, म पनि पीडितमध्ये एक हुँ," बीबीसीसँग उनले भने।

घिमिरे मात्रै होइन, नेपालमा केही महिनायता शेअर बजार ओरालो लाग्ने क्रम नरोकिएपछि थुप्रै लगानीकर्तामा निराशा देखिएको छ।

कतिपयले अवस्थामा सुधार नआए हजारौँ लगानीकर्ता "टाट पल्टिने" भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।

खासगरी कोभिड महामारीको उत्कर्षमा गरिएको लकडाउनको समयदेखि शेअर लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीका अनुसार झन्डै ५२ लाख डीम्याट खाता खुलिसकेको अवस्था छ।

धितोपत्र बोर्ड

पछिल्ला महिनाहरूमा शेअर बजार निरन्तर ओरालो लाग्नुका तीनवटा मुख्य कारण देखिएको जानकारहरू बताउँछन्। ती हुन्

ठूला लगानीकर्ताले ऋण नपाउनु

ठूला लगानीकर्ताले ब्याङ्कबाट ऋण लिएरै लगानी गर्ने गरेका छन्। तर अहिले ब्याङ्कहरूले त्यस्तो लगानी गर्न बन्द गरेका छन्।

"पछिल्ला २५-३० वर्षको ट्रेन्ड हेर्दा हाम्रो बजार तरलता [लगानीयोग्य रकमको अभाव] को अवस्थासँग एकदमै जोडिएको देखिन्छ," बोर्डका कार्यकारी निर्देशक गिरीले बीबीसीसँग भने।

"जुनजुन बेला तरलता सहज हुन्छ, त्यो बेला बजार बढेको हुन्छ। तर अर्थतन्त्रले राम्रो गरिरहे पनि तरलता सहज छैन भने बजार घटेको देखिएको छ," उनले थपे।

समग्र अर्थतन्त्रको अवस्था

नेपाल राष्ट्र ब्याङ्कका अनुसार केही महिनायता विदेशी विनिमय सञ्चिति घटिरहेको अवस्था छ।

त्यसलाई ध्यानमा राख्दै नेपाल राष्ट्र ब्याङ्कले विलासिताका कतिपय वस्तुको आयातमा कडाइ पनि गरेको छ।

केन्द्रीय ब्याङ्कले वित्तीय सङ्घसंस्थाहरूलाई अनुत्पादक भनिएका कतिपय क्षेत्रमा हाललाई लगानी नगर्न भनेको छ।

"हाम्रो अर्थतन्त्र त्यति सहज अवस्था छैन भन्ने कुरा सरकारीदेखि सबै क्षेत्रबाट आइरहेको छ। यी सबैको समग्र असर पनि शेअर बजारमा देखिएको हो," कार्यकारी निर्देशक गिरीले भने।

पैसा

नेपाल स्टक एक्सचेन्ज नेप्सेका सूचना अधिकारी मुरहरि पराजुली पनि यसमा सहमत देखिन्छ।

"मुलुकको समग्र आर्थिक अवस्था र ब्याङ्किङ क्षेत्रमा देखिएको तरलताको जुन समस्या छ, त्यसले गर्दा बजार ओरालो लागेको हुनसक्छ," बीबीसीसँग उनले भने।

ब्याङ्कहरूले ऋण फिर्ता माग्नु

शेअर धितो राखेर कतिपय लगानीकर्ताले ब्याङ्कबाट ऋण लिएका हुन्छन् र उनीहरूले धितो पुर्‍याउनुपर्ने हुन्छ।

उदाहरणका लागि, १०० रुपैयाँ मूल्याङ्कन गरी राखिएको शेअरको मूल्य ७० रुपैयाँ पुग्यो भने मार्जिन पूर्ति गर्नका लागि ३० रुपैयाँ थप्नुपर्ने हुन्छ।

शेअरको मूल्य घट्न थालेपछि ब्याङ्कले 'मार्जिन कल' गर्न थाल्छन्। अनि लगानीकर्ताले शेअर बेच्न खोज्छन्।

"यो कारणले पनि अहिले बजार ओरालो लागिरहेको हो। अनुत्पादक क्षेत्रमा 'लगानी नगर्नू' भनेर राष्ट्र ब्याङ्कले पछिल्लो समय लिएको नीतिको असर पनि हो," एक अधिकारीले बीबीसीसँग भने।

नियामक निकायले लिएका नीतिका कारण पनि शेअर बजारमा उथलपुथल सिर्जना हुने गरेको शेअर लगानीकर्ता सङ्घ, नेपालकी अध्यक्ष तारा पोखरेलको आरोप छ।

"दीर्घकालीन नीति होस्, सरकार परिवर्तन अथवा अर्थमन्त्री वा धितोपत्र बोर्डका प्रमुख परिवर्तन हुँदा नीति परिवर्तन हुने अवस्था हुनु भएन," बीबीसीसँग उनले भनिन्।

नेपाल राष्ट्र ब्याङ्क

सुधार कहिले होला?

शेअर बजारमा अहिले देखिएको समस्यामा कहिले सुधार आउला भन्ने प्रश्नको ठोस उत्तर कसैसँग पनि नभएको लगानीकर्ता र सम्बद्ध अधिकारीहरू बताउँछन्।

कतिपय लगानीकर्ताले चाहिँ आउन लागेको मौद्रिक नीतिमा राष्ट्र ब्याङ्कले केही गरे मात्रै समस्याको सम्बोधन हुन सक्ने आशा व्यक्त गरेका छन्।

यद्यपि असार मसान्तपछि सुधार आउन सक्ने धितोपत्र बोर्डका अधिकारीहरूको अनुमान छ।

"साउनदेखि नयाँ आर्थिक वर्ष सुरु भएपछि वित्तीय सङ्घसंस्था लगायतको आर्थिक अवस्थाबारे पनि बाहिर आउन थाल्छ। ठ्याक्कै यस्तै हुन्छ भनेर भन्न त सकिन्न, तर विगतका ट्रेन्ड हेर्दा जेठ असारपछि बजार बढेको पाइएको छ," बोर्डका कार्यकारी निर्देशक गिरीले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अहिले शेअर बजारमा किन धेरै महिलाहरू सक्रिय?