युक्रेन युद्ध: रणनीतिक महत्त्वको युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाईँ तिब्र, युरोपेली सङ्घद्वारा नयाँ प्रतिबन्ध प्रस्ताव

युक्रेन युद्ध

तस्बिर स्रोत, RUSSIAN DEFENCE MINISTRY

रणनीतिक महत्त्वको युक्रेनी शहर सेभेरोडोनेट्स्कमा "भिषण लडाईँ" भइरहेको र "अवस्था निकै खराब" रहेको त्यस क्षेत्रका गभर्नरले बताएका छन्। 

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले औद्योगिक केन्द्रमा भारी बमबारी भएकाले आफूहरूले हताहत हुनेको सङ्ख्या नै गन्न छाडेको बताए। 

यसैबिच युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातमा प्रतिबन्ध लगाउने एउटा प्रस्तावका विषयमा आफ्ना मतभिन्नताहरू सुल्झाउन सङ्घर्ष गरिरहेका छन्।

हङ्गेरी त्यस्तो प्रतिबन्धको विपक्षमा उभिएको छ। 

रुसी निशाना

पूरै पूर्वी लुहान्स्क क्षेत्र कब्जा गर्ने लक्ष्य अन्तर्गत सेभेरोडोनेस्ट्क सहर रुसको एउटा मुख्य निशानामा छ। 

युक्रेनी पक्षले त्यहाँ बलियो प्रतिरोध जनाइरहेको बताइएको छ। 

लुहान्स्कका गभर्नर हाइडाईका अनुसार उक्त मुख्य युक्रेनी सहरको बाहिरी भागमा प्रवेश गरेर रुसी फौजहरू अगाडी बढिरहेका छन्। 

मस्कोले आफ्नो मुख्य प्राथमिकता अन्तत: पूरै डोन्बास क्षेत्र लिनु रहेको जनाएको छ। 

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'सगरमाथाको चुचुरोबाट युद्ध लडिरहेका बुवा र भाइको सुरक्षाको कामना गरेँ'

लुहान्स्क र अर्को क्षेत्र डोनेट्स्क यसअघि औद्योगिक क्षेत्रको रूपमा रहेका थिए। 

राष्ट्रपति जेलेन्स्की युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा भएको क्षति हेर्न पुगेका बेला यस्तो घटनाक्रम देखा परेको हो। 

रणनीतिक शहर

किएभमा रहेका बीबीसीका जो ईनवूड भन्छन्- यदि रुसी फौजहरूले उक्त सहर कब्जा गरे भने उनीहरूले लुहान्स्क क्षेत्र कब्जा गर्ने काम लगभग पूरा गर्छन् जुन उनीहरूको एउटा मुख्य रणनीतिक लक्ष्य हो।

उनी भन्छन्- "सायद त्यसैले चर्को हवाई गोलाबारीबिच पनि युक्रेनीहरूले जमिनमा रहेको आफ्नो पकड गुमाउन दिएका छैनन्।" 

गभर्नर हाइडाईका अनुसार रुसी फौजहरू सहरको केन्द्रभागतर्फ अघि बढ्न खोजिरहेका छन्। 

उक्त क्षेत्रमा पर्ने कुनै बेलाको व्यस्त बस्तीमा ६० प्रतिशत भन्दा धेरै भवनहरू मर्मत गर्न नसकिनेगरी ध्वस्त भएको गभर्नर हाइडाईले बताएका छन्। 

ईयूको नयाँ प्रतिबन्ध तयारी

रुसले युरोपेली सङ्घ ईयूलाई उसको कुल खपतको ४० प्रतिशत प्राकृतिक ग्यास र उसले आयात गर्ने तेलको २७ प्रतिशत हिस्सा पठाउँछ। 

युक्रेन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयन

त्यसको लागि युरोपेली सङ्घका देशहरूले उसलाई वर्षको लगभग ४०० अर्ब युरो बुझाउँछन्।

आपूर्तिको हिस्सा देशहरूपिच्छे फरक फरक छ तर जर्मनी र द नेदरल्याण्ड्सजस्ता केही देश रुसी ग्यास र तेलका ठूला आयातकर्ताहरू हुन्। 

प्रस्तावित थप प्रतिबन्धसम्बन्धी पछिल्लो कदमअघि ईयूले रुसमाथि युक्रेन हमलाका लागि भन्दै पाँचपटक प्रतिबन्ध लगाइसकेको छ।