के मङ्कीपक्स जैविक हतियार हो? - इन्टरनेटमा फैलिएका मिथ्या सूचनाहरू

युरोपमा मङ्कीपक्स सङ्क्रमण बढ्न थालेपछि सामाजिक सञ्जालमा भाइरल हुन थालेका कतिपय कुराहरू कोभिड-१९ महामारीमा फैलिएका मिथ्या सूचनाका फोटोकपी छन्।

मङ्कीपक्सका कारण लकडाउनको योजना छैन

टिकटकमा थुप्रै मानिसहरूले लकडाउनको योजना बनिरहेको विषयमा भिडिओ बनाएका छन्।

एक प्रयोगकर्ताले त 'मङ्कीपक्स लकडाउन' र 'मङ्कीपक्स अत्याचार'का लागि तयार रहन भनेका छन्।

कतिपय भिडिओमा यूके सरकारले कोरोनाभाइरस महामारीका बेला गरेका प्रेस कन्फ्रेन्सका भिडिओहरूलाई मङ्कीपक्सका बारेमा भन्दै हालिएका छन्।

मङ्कीपक्स सङ्क्रमणबारे सर्वसाधारणको डर बुझ्न सकिने भए पनि वैज्ञानिकहरूले यो कोभिडजस्तो सहजै सर्न सक्ने भाइरस नभएको बताएका छन्।

यो कोभिडजस्तो सजिलै सर्दैन, यस विरुद्ध खोप र उपचार उपलब्ध छ र यो भाइरस लक्षण देखिएपछि मात्रै सर्न सक्ने भएकोले ठम्याउन सजिलो छ।

त्यसैले लकडाउन वा धेरै जनालाई खोप कार्यक्रम "यसलाई आवश्यक पर्ने प्रतिक्रिया" नभएको अक्सफर्ड विश्वविद्यालयका महामारी विज्ञान केन्द्रका प्राध्यापक पीटर होर्बीको भनाइ छ।

त्यही भएर अहिले सङ्क्रमित र उनीहरूको नजिकको संसर्गमा रहेका मानिसहरूका लागि मात्रै एकान्तवास र खोपको सुझाव दिइएको छ।

विश्व स्वास्थ्य सङ्गठनका डा. रोसामन्ड लेविसले सबैलाई खोप लगाउन नपर्ने बताए।

विश्व स्वास्थ्य सङ्गठनले यात्रा प्रतिबन्ध पनि आवश्यक नभएको बताएको छ।

यो प्रयोगशालाबाट छोडिएको प्रमाण छैन

युक्रेन, रुस, चीन र अमेरिकाका सामाजिक सञ्जाल प्रयोगकर्ता र केही सञ्चारमाध्यमले मङ्कीपक्स भाइरसलाई जैविक हतियार भएको वा प्रयोगशालाबाट छोडिएको दाबी गरेका छन्।

तर भाइरसको डीएनए हेरेर यसको उत्पत्ति थाहा पाउन सकिन्छ।

जीन विज्ञ फातिमा टोखमाफ्शान डीएनए हेरेर भाइरस कुन-कुन बाटो आयो भन्ने थाहा पाउन सकिने बताउँछिन्।

अहिलेको मङ्कीपक्सको डीएनएबाट यो पश्चिम अफ्रिकाबाटै आएको देखिन्छ र "त्यसले यो उत्पादन गरिएको नभएको बताउँछ"।

यूकेमा सन् २०१८ र सन् २०२१ अनि अमेरिकामा सन् २०२१ मा मङ्कीपक्सका केही सङ्क्रमण देखिएका थिए। त्यो बेला पनि यो भाइरस यात्रु वा आयातित जनावरबाटै आएको थियो।

"अहिले पनि त्यस्तै भएको हुन सक्छ," प्राध्यापक होर्बी भन्छन्। "त्यो सबैभन्दा विश्वसनीय अवस्था हो।"

यूकेमा पहिलो सङ्क्रमणहरू नाइजीरियाबाट फर्केका मानिसमा थियो।

प्राध्यापक होर्बीका अनुसार मङ्कीपक्स प्रयोगशालाबाट आएको हुनसक्ने कुरा "दाबी गर्नका लागि कुनै आधार नभएको" बताउँछन्।

यो योजनाबद्ध थिएन

मङ्कीपक्सको सङ्क्रमण योजनाबद्ध हिसाबले गरिएको दाबी पनि गरिएका छन् र कोभिडका बेलाजस्तै यसको दोष बिल गेट्स वा एन्थोनी फौचीमाथि लगाइएका छन्।

यो आधारहीन कुरा रुसी सञ्चार माध्यम, चिनियाँ सामाजिक सञ्जाल र इन्स्टाग्राममा देखिएका छन्। फेसबुकमा रोमानियन, जर्मन, अरबी, फ्रान्सेली र पन्जाबी भाषामा पनि यो कुरा फैलिएका छन्।

ती दाबीमा अमेरिकी जैविक-सुरक्षा संस्था न्युक्लीयर थ्रीट इनिसियटीभको दस्ताबेजलाई प्रमाण भनिएको छ।

सन् २०२१ मा सो संस्थाले विश्वभरका नेताहरूलाई भविष्यमा आउन सक्ने महामारीको तयारी गर्न प्रोत्साहित गर्ने विषयमा कार्यशाला आयोजना गरेको थियो।

सो कार्यशालामा सहभागीलाई एउटा काल्पनिक अवस्था सोचेर योजना बनाउन भनिएको थियो। त्यो काल्पनिक अवस्थामा भनिएको थियो: "विश्वभर फैलिएको मङ्कीपक्स भाइरसका कारण उत्पन्न घातक महामारी।"

भाइरस सङ्क्रमण बेलाबेलामा भइरहने कुरा हुन् यसर्थ कुनै संस्थाले कुनै पनि भाइरसको सङ्क्रमण फैलिने आकलन गर्नु शङ्कास्पद होइन।

कोभिड खोपसँग मङ्कीपक्सको सम्बन्ध छैन

कोभिड खोप र मङ्कीपक्स भाइरससम्बन्धी दुईखाले मिथ्या सूचना फैलिएका छन्।

पहिलो चाहिँ अस्ट्राजेनिका खोपमा चिम्पाञ्जीको भाइरस प्रयोग भएका कारण सामाजिक सञ्जालमा खोपबाटै मङ्कीपक्स फैलिएका कुराहरू देखिन्छन्।

तर कोभिड खोपमा प्रयोग भएको भाइरसभन्दा नितान्त फरक भाइरसबाट मङ्कीपक्स फैलिन्छ र ती भाइरस बाँदरमा नभई मुसामा धेरै पाइन्छ।

दोस्रो चाहिँ कोभिड खोपले रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाएका कारण अन्य सङ्क्रमणको सम्भावना बढेको भन्ने मिथ्या सूचना छन्।

यो दाबी पनि आधारहीन हो किनभने खोपले रोगप्रतिरोधी क्षमतालाई सङ्क्रमणसँग लड्न सक्रिय बनाउँछ।

कोभिड खोपको एकदमै थोरै व्यक्तिमा नराम्रो प्रभाव परेको घटना भए पनि खोपले रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउने कुराको कुनै प्रमाण छैन।