अमेरिकी मन्त्रीले तिब्बती शरणार्थी शिविर भ्रमण गर्नेबारे 'सत्ता घटकलाई नै थाहा थिएन'

तस्बिर स्रोत, RSS
अमेरिकी उपविदेशमन्त्री अज्रा जेयाले गत साता काठमाण्डूस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेपछि त्यसलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
प्रमुख प्रतिपक्षी दलका नेतादेखि सत्ता साझेदार दलकै नेतासम्मले संसद्मा बिहीवार भ्रमणप्रति चर्को असन्तुष्टि व्यक्त गरे।
भ्रमणको विपक्षमा आवाज उठाउनेमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सरकारमै सहभागी एकीकृत समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि थिए।
आफ्नो सम्बोधनका क्रममा ओलीले अमेरिकी उपविदेशमन्त्रीको भ्रमणलाई लिएर परराष्ट्र मामिलामा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार चुकेको टिप्पणी गरे।
प्रधानमन्त्रीलाई उनले प्रश्न गरेः "नेपाल एक चीन नीतिमा छ कि छैन? आफ्नो भूमि प्रयोग गर्न नदिनेमा अडिग छ कि छैन?"
भ्रमणको विरोध भइरहँदा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले अमेरिकी मन्त्रीले शिविरको भ्रमण गर्ने विषयमा गठबन्धनभित्र केही नभनिएको दाबी गरेका छन्।
माओवादी नेता नारायणकाजी श्रेष्ठले बीबीसीसँग भने, "उहाँको भ्रमण र तिब्बती शरणार्थी क्याम्पमा समेत पुगेको घटनापछाडि गठबन्धनकै बैठकमा हामीले प्रधानमन्त्रीलाई भन्यौँ - तपाईँहरूले यो के गर्नुभएको? यसो गर्न त मिल्दैन।"
"परराष्ट्र नीतिमा यस्तो ख्यालठट्टा गर्नुहुँदैन भनेर हामीले भन्यौँ। तर त्योभन्दा अगाडि हामीलाई जानकारी थिएन," उनले थपे।
नेपालले आफ्ना छिमेकी देशहरूलाई अन्यथा महसुस हुनेगरी कुनै गतिविधि गर्दा हित नहुने श्रेष्ठको जिकिर छ।

तस्बिर स्रोत, Tibet.net/Twitter
"चीनले आफ्नो सन्दर्भमा अलिकति अप्ठेरो महसुस गर्ने, नेपाल कता जान खोजेको हो त भन्ने स्थिति अनुभूति गर्ने दिशातिर गयो भने त्यो राम्रो हुँदैन। त्यसले हाम्रो हित गर्दैन।"
"यो चीनको कुरा मात्रै होइन यो त नेपालको राष्ट्रिय हितसँग जोडिएको कुरा हो।"
"त्यसो भएर हाम्रा छिमेकी ठूला मुलुकलाई अनावश्यक रूपमा सशङ्कित हुने स्थिति बनायो भने त्यो पनि राम्रो हुँदैन," श्रेष्ठले थपे।
नेपाली कांग्रेस के भन्छ?
सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले अमेरिकी मन्त्रीले शरणार्थी शिविरको भ्रमण गर्ने सम्बन्धमा गठबन्धनभित्र छलफल भए वा नभएकोबारे आफूलाई थाहा नभएको बताएका छन्।
"त्यसबारे गठबन्धनभित्र छलफल भयो कि भएन भन्नेबारे मलाई ठ्याक्कै थाहा भएन। तर कुन देशबाट कहिले उपमन्त्री कहिले सहायक मन्त्री आइरहेका हुन्छन्। जो आउँदा पनि छलफल हुँदैन नि त,"बीबीसीसँग उनले भने।
"सरकारमा भएका मान्छेले आफ्नो दललाई जानकारी गराउँछन् नि त।"
अमेरिकी उपविदेशमन्त्री जेयाले तिब्बती शरणार्थीको स्थिति र आवश्यकताबारे बुझ्न त्यहाँ पुगेको महतले उल्लेख गरे।
"जहाँसम्म नेपालको कुरा छ हामीकहाँ चीनविरोधी गतिविधि हुँदैन हुन दिँदैनौँ हामी कसैमार्फत् पनि कुनै छिमेकी मुलुकविरोधी गतिविधि हुन दिन्नौँ," उनले थपे।
चिनियाँ विज्ञ के भन्छन्?

तस्बिर स्रोत, Uzra Zeya / Twitter
यसै साता एक चिनियाँ विज्ञले तिब्बतसम्बन्धी मामिलामा नेपाल र चीनले भविष्यमा ठूलो चुनौतीको सामना गर्ने जोखिम बीबीसीसँग औँल्याएका थिए।
"काठमाण्डू अहिले अमेरिका र भारतबाट समेत थप दबावमा परेको छ," चीनस्थित दक्षिण एशियाविज्ञ प्रा. हु शिशेङले भनेका थिए।
"हालसालै नेपालले अमेरिकी अनुदान सहायता एमसीसी स्वीकार गर्नु र देखिने गरी बीआरआई कार्यक्रमहरू अघि नबढाउनु त्यस्ता घटनाक्रम हुन् जसले भविष्यका लागि केही नराम्रा सङ्केत बोकेका छन्।"
'एक चीन नीत'मा प्रतिबद्ध रहेको बताउँदै आएको नेपालमा तिब्बती शरणार्थी विषयमा अमेरिकी गतिविधिबारे नेपालकै विज्ञहरूले पनि प्रश्न गरेका छन्।








