दोधारा-चाँदनी: ‘अनौठो’ टापुका 'पूर्वेली किशोर' र पञ्चायतकालदेखिका 'वीर'का चाखलाग्दा पक्ष

सन्ध्यामा दोधारा चाँदनी
तस्बिरको क्याप्शन, सन्ध्यामा दोधारा चाँदनी
    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली, दोधारा चाँदनी

महाकाली नदीलाई भारतसँगको सिमाना मानिए पनि कञ्चनपुरको एउटा नगरपालिका दोधारा-चाँदनी महाकालीको पारिपट्टि पर्छ।

पहिले ७५ जिल्ला छँदा महाकाली र जोगबुढा नदीको बीचमा रहेको टापु दोधारा-चाँदनीलाई '७६ औँ जिल्ला' को रूपमा चित्रित गरिन्थ्यो।

स्थानीय तहको पुनर्संरचना गर्दा पहिलेका ती दुई गाउँपालिकालाई एउटा नगरपालिका बनाइएको हो।

भारतका दुई वटा प्रान्त उत्तर प्रदेश र उत्तराखण्डसँग दोधारा-चाँदनीले सिमाना साझेदारी गरेको छ।

पञ्चायतदेखिका वीर’को राजनीतिक बिराम

त्यहाँ पनि चुनावी प्रचार प्रसार चलिरहेको थियो। मोटरसाइकलमा प्रचारकहरू कुदिरहेका थिए। घरदैलो अभियान पनि उस्तै।

त्यहीँको एउटा चोकमा दुई जना युवासँगै बसेर बजारको चहलपहल नियालिरहेका भेटिए ७० वर्ष काटेका नगर प्रमुख वीरबहादुर सुनार।

उनी पञ्चायत कालमा पनि प्रधानपञ्च थिए। प्रजातन्त्र आएपछि गाविस अध्यक्ष बने। गणतन्त्र कालमा पनि नगर प्रमुख।

तर बीचमा २०४९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका उम्मेदवार उनले हार बेहोर्नु पर्‍यो।

किशोरकुमार लिम्बु
तस्बिरको क्याप्शन, किशोरकुमार लिम्बु

हाँस्दै उनले कारण खुलाए, "पञ्चायकालदेखिको प्रधानपञ्च राम्रो काम गरेको छु, मेरो अगाडि को टिक्ला र भन्ने घमण्ड भयो, प्रचार पनि धेरै गरिनँ, हारेँ।"

तर २०५४ सालको स्थानीय चुनावमा फेरि जिते। राजाको प्रत्यक्ष शासनकालमा पनि मनोनीत हुन जोड बल गरिए पनि आफूले अस्वीकार गरेको उनले सुनाए।

नयाँ संविधान अन्तर्गतको पहिलो स्थानीय चुनावबाट आएको नगरप्रमुखको जिम्मेवारी बिसाउने सङ्घारमा रहेका उनले यस पटक किन चाख देखाएनन्?

“पञ्चायतमा भएँ, बहुदलमा भएँ, गणतन्त्रमा पनि भएँ, फेरि मेयर हुने भनेको त राजा जस्तो भइहाल्यो”, मुस्कुराउँदै उनले भने, “पालो दिने कुरा पनि भयो। अघिल्लो पटक पनि शेरबहादुर देउवाले कर गरेर भएको हुँ।”

पूर्वेली किशोरको सुदूरपश्चिममा राजनीतिक यात्रा

अर्का चाखलाग्दो पृष्ठभूमिका पात्र हुन् किशोरकुमार लिम्बु। नेकपा एमालेका जिल्ला सदस्य उनी नगरप्रमुखका उम्मेदवार हुन्।

चुनावी घरदैलोमा भारतीय सीमा नजिकैको गाउँमा भेटिएका उनले आफ्नो रोचक यात्रा सुनाए।

पुर्ख्यौली घर सुदूर पूर्वको ताप्लेजुङ। उनका बुवा-आमा झापामा बस्छन्।

बीरबहादुर सुनार
तस्बिरको क्याप्शन, वीरबहादुर सुनार

उनका अनुसार भारतीय सेनामा छँदा बुवा देहरादून थिए। भारतमा के बस्ने भनेर उनले परिवारको निम्ति नजिकैको दोधारा-चाँदनी रोजेछन्।

"सानोमा यतै पढेँ, पछि काठमाण्डूमा पढाइ सकेर यहाँ स्कुल खोलेँ। हामीलाई यतै रमाइलो भयो, बिहे पनि यहीँ भयो", उनले सुनाए, "अवकाशपछि बुवा-आमा त जान्छौँ भनेर झापा लाग्नु भयो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, बदर नहुने गरी कसरी मतदान गर्ने?

दोधारा-चाँदनीमा बाढीको समस्या पुरानो हो। अहिले छाडा चौपायाको ठूलो समस्या छ। अनि आरक्षणका वन्यजन्तुले पनि सताउँछन्।

नेता वीरबहादुर सुनारका अनुसार २०२२ सालमा आएका धेरै मानिस जनजीवन कष्टकर भएकाले छाडेर गए।

अहिले भने गाउँ गाउँमा पिच बाटो छ। विद्यालय छन्। धेरै सुविधा भइसकेको छ।

त्यस नगरपालिकाको जिम्मेवारी बिसाउने तरखरमा वीर बहादुर सुनार छन् भने उनको दलका उम्मेदवारसँग चुनावमा भिडिरहेका छन् किशोर कुमार लिम्बु।