सञ्जु चौधरीः १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जित्ने खेलाडी मृत फेला, के भन्छ प्रहरी

सञ्जु चौधरी
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

भारोत्तोलनमा महिलातर्फ नेपाललाई पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउने खेलाडी सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।

मङ्गलवार बिहान ललितपुर लुभुस्थित आफ्नो गुरु सञ्जय महर्जनको घरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

चीनमा हुने एशियाली खेलकुद प्रतियोगिताको तयारीको लागि चौधरी गुरुकै घरमा बसेर प्रशिक्षण गरिरहेकी थिइन्।

प्रशिक्षक महर्जनले बिहान खेलाडीलाई त्यस्तो अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा ढोका फोडेर हेर्दा चौधरी झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

एसपी शाहले भने, "प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरे जस्तो देखिन्छ। सुसाइड नोट भेटिएको छैन। उनको दुवै मोबाइल स्विच अफ छ। त्यसलाई अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाइएको छ। पोस्टमार्टमको रिपोर्टपछि बाँकी कुरा भन्न सकिन्छ।"

चौधरीको शव परीक्षणका लागि पाटन अस्पतालमा लगिएको छ।

नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले अघिल्लो रात मात्र लुभु जात्रामा सञ्जु चौधरीसँग बसेर भोज खाएको तर भोलि बिहानै नराम्रो खबर सुनेको भन्दै दुःख प्रकट गरे।

उनले भने, " हिजो राति सँगै भोज खाएका थियौँ। त्यति बेला उनको मुहारमा त्यस्तो कुनै दुःख वा फरक व्यवहार देखिएको थिएन।"

अध्यक्ष श्रेष्ठका अनुसार चौधरीले बेलाबेलामा साथीहरूसँग आत्महत्या गर्ने कुरा गर्ने गरेकी थिइन्। तर सबैले त्यसलाई ठट्टाका रूपमा लिने गरेका उनले बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आत्महत्याको सोच आए कसरी बच्ने

सबैभन्दा सफल खेलाडी

सञ्जु चौधरीलाई नेपाली भारोत्तोलनमा अहिलेसम्मकी सबैभन्दा सफल खेलाडी मानिन्छ।

नेपालगन्जकी २२ वर्षीया चौधरीले दुई वर्षअगाडि काठमाण्डूमा भएको १३औँ दक्षिण एशियाली खेलकुदमा (साग) स्वर्ण पदक जितेकी थिइन्, जुन नेपाली भारोत्तोलनमा महिला खेलाडीले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता थियो।

महिला भारोत्तोलन खेलाडीले पाएको त्यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि थियो।

क्रिकेट, एथ्लेटिक्स हुँदै भारोत्तोलनमा प्रवेश गरेकी चौधरीले राष्ट्रिय स्तरको सबैजसो प्रतियोगितामा स्वर्ण पदक जितिसकेकी छन्। उनको नाममा थुप्रै राष्ट्रिय कीर्तिमान पनि छ।

सन् २०१७ मा नेपालमा भएको एशियन यूथ एन्ड जुनियर च्याम्पीअनशिपबाट उनी चर्चामा आएकी थिइन्।

त्यतिबेला पदक जित्न नसके पनि उनले अन्तर्राष्ट्रिय अरिनामा प्रभावशाली प्रदर्शन गरेकी थिइन्।

सन् २०१७ मा दक्षिण कोरियामा भएको एशियन कप एन्ड क्लब च्याम्पीअनशिपमा उनले दुई रजत र तीन कांस्य पदक जितेकी थिइन्।

सन् २०११८ मा इन्डोनेशियाको जकार्तामा भएको १८ औँ एशियाली खेलकुदमा उनले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

जापानमा सन् २०२१ मा भएको टोक्यो ओलिम्पिक्सका लागि चौधरी नेपाल ओलिम्पिक कमिटीले प्रदान गरेको ओलिम्पिक छात्रवृत्ति पाउन सफल भएकी थिइन्।

सो सुविधामा झन्डै दुई वर्ष विशेष प्रशिक्षण पाए पनि उनी टोक्यो ओलिम्पिक्सको लागि भने छनोट हुन सकिनन्।

अर्को वर्ष चीनमा हुने एशियाली खेलकुदका लागि पनि गत हप्ता मात्र उनी बन्द प्रशिक्षणका लागि छानिएकी थिइन्।

त्यसको तयारी थाल्न सुरु गरेकै बेला यो घटना भएको हो।