स्थानीय तह चुनाव: कुन पार्टीबाट कुन पदमा कतिजना उम्मेदवार निर्विरोध निर्वाचित?

तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले कम्प्युटरमा प्रविष्ट गरिएको तथ्याङ्क अनुसार साना ठूला राजनीतिक पार्टी र स्वतन्त्र उम्मेद्वार गरी विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ।
स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, महिला सदस्य, दलित महिला सदस्य जस्ता विभिन्न पदमा उम्मेद्वारहरू निर्विरोध भएका छन्।
प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेबाट सबैभन्दा धेरै १२३ जना उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताएका छन्।
एमालेबाट अध्यक्षमा १, उपाध्यक्षमा २, वडा अध्यक्षमा १४, सदस्यमा २६, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा ५७ गरि १२३ जना उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका हुन्।
सत्ता गठबन्धनमा कति निर्विरोध निर्वाचित?
आयोगको तथ्याङ्क अनुसार सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट जम्मा १९० जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन्।
गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसबाट १०१ जना उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेसमा वडा अध्यक्षमा १४, उपाध्यक्षमा १, सदस्यमा ३१, महिला सदस्य १५ र दलित महिला सदस्यमा ४० जना निर्विरोध भएका छन्।

तस्बिर स्रोत, RSS
सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका तर्फबाट भने वडा अध्यक्षमा ३, सदस्यमा ५, महिला सदस्यमा ७, दलित महिला सदस्यमा ३९ गरी ५४ जना निर्विरोध निर्वाचित भएका छन्।
त्यसपछि एकीकृत समाजवादीबाट अध्यक्षमा २, वडा अध्यक्षमा ६, उपाध्यक्षमा १, सदस्यमा १२, महिला सदस्यमा ७, दलित महिला सदस्यमा ६ जना गरी ३४ जना उम्मेद्वार निर्वाचित भएका छन्।
त्यसपछि सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीबाट एक जना दलित महिला सदस्यमा निर्वाचित भएका छन्।
सत्ता गठबन्धनबाहेक नेपाल किसान पार्टीमा पनि दलित महिला सदस्य २, राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यमा २, लोकतान्त्रिक समाजवादी पार्टीमा दलित महिला सदस्यमा २ र राष्ट्रिय जनमुक्ति पार्टीबाट महिला सदस्यमा १ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन्।
स्वतन्त्रतर्फ वडा अध्यक्षमा ६, सदस्यमा १६, महिला सदस्यमा ८, दलित महिला सदस्यमा ४ जना गरी ३४ निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।
कम्प्युटरमा प्रविष्ट गरिएका यी तथ्याङ्क प्रमाणित गर्न भने बाँकी रहेको आयोगले जनाएको छ।








