सामुदायिक जीन ब्याङ्क: बाँकेका होमस्टे सञ्चालकले बनाएका कीराफट्याङ्ग्रा बस्ने घर

- Author, विमला चौधरी
- Role, नेपालगञ्ज
माहुरीलगायत विभिन्न कीराफट्याङ्ग्राको संरक्षणका लागि भन्दै पश्चिम नेपालको बाँके जिल्लामा सामुदायिक जीन ब्याङ्क स्थापना गरिएको छ।
पर्यावरण संरक्षणमा जीवजन्तुको भूमिकालाई ध्यानमा राख्दै बाँकेको बैजनाथ गाउँपालिका-१ का बासिन्दाले गाभर भ्याली होमस्टेमा जीन ब्याङ्क स्थापना गरेका हुन्।
माहुरी र माहुरी प्रजातिका अन्य जीवका साथै पानीमा पाइने कीराका लागि प्राकृतिक वासस्थानको व्यवस्थापन गरिएको होमस्टे सञ्चालकहरू बताउँछन्।
त्यस्ता वासस्थानमा माहुरी प्रजातिका विभिन्न किराफट्याङ्ग्रा आउन थालिसकेको उनीहरूको भनाइ छ।
उक्त जीन ब्याङ्क अवलोकन गर्न आउनेहरूको सङ्ख्या पनि बढिरहेको संरक्षणकर्मीले बताएका छन्।
'कीरा बस्न थालिसके'
होमस्टे एसोसिएशन नेपालका सचिव तथा गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरी जीन ब्याङ्क स्थापनाको एक महिनामै कीराहरू बस्न थालिसकेको बताउँछन्।
उनले भने, "हाम्रा जीन ब्याङ्कमा कीरा आएर बस्न थालिसकेका छन्। माहुरीका विभिन्न घारहरू छन्, ती घारहरूमा काठे घारमौरी आइसकेको छ। पुत्का मौरी पनि आइसकेको छ, त्यसैगरी भँवरा पनि आएका छन्।"
"यो हेर्दा वास्तवमै हामीले बनाएका कृत्रिम घरहरू पनि कीराले प्रयोग गर्दा रहेछन् भन्ने एउटा प्रमाण भएको छ।"

उक्त क्षेत्रका होमस्टे सञ्चालक तथा संरक्षणकर्मीले काठ तथा बाँसबाट कीराका लागि विभिन्न खाले कृत्रिम घर बनाइदिएका छन्।
गाभर भ्याली घर नम्बर एकका होमस्टे सञ्चालक हिमलाल चौधरी भन्छन्, "सिमलको काठमा अलि धेरै रुचाउँछन्। अलि कमलो पनि हुन्छ तातो पनि हुन्छ होला। कुमालकोटीलाई चाहिँ बासको ढुङ्ग्रामा घर बनाइदिएका छौँ।"
'प्रेरणादायी काम'
समुदायस्तरमा पहिलोपटक जीन ब्याङ्क स्थापना भएपछि देशका अन्य क्षेत्रका होमस्टे सञ्चालक पनि अवलोकनका लागि आउन थालेका छन्।
कीरालाई घर बनाइदिएको जीन ब्याङ्क अवलोकन गर्दा आफूलाई "अनौठो" लागेको काठमाण्डूको कपनस्थित ज्ञानमाला होमस्टेकी अध्यक्ष शारदा आचार्यले बताइन्।
जीन अवलोकनपछि उनले भनिन्, "यहाँ अलि भिन्नै लाग्यो। भँवरालाई पनि यहाँ बस्नका लागि व्यवस्थित तरिका बनाइएको रहेछ।"
"धेरै खुसी लाग्यो। यो त सबैका लागि प्रेरणा जस्तै भयो।"
जैविक विविधताको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले जीन ब्याङ्क स्थापना गरिएको होमस्टे एसोसिएशन नेपालका विदेश विभाग सदस्य पूर्णचन्द्र उपाध्यायले बताए।
कीराको महत्त्व
उपाध्यायले भने, "भँवरा, माहुरी भएनन् भने हामी धेरै दिन बाँच्न सक्दैनौँ किनकि त्यसैको कारणले हाम्रा बीउ उत्पादन हुने हुन्।"
"परागसेचनको प्रक्रियाले हाम्रा बीउबिजन तयार हुने हुन्। बीउबिजन भएनन् भने हामीले के खाने? स्थानीय बीउ उत्पादनमा यी किराहरूको महत्त्व छ भनेर तिनलाई बचाउनका लागि यो जीन ब्याङ्कको स्थापना गरिएको हो।"
जीन ब्याङ्कको स्थापनाले भविष्यमा कृषि र पर्यावरणमा आधारित पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ।
त्यस्तै जीव विज्ञान अध्ययनरत विद्यार्थीलाई समेत सहयोग पुग्ने उपाध्याय बताउँछन्।

तस्बिर स्रोत, Plant Quarantine and Pesticide Management Centre
उनी भन्छन्, "जीन भन्ने बित्तिकै धेरै कीटपतङ्ग पनि पर्छन् त्यसैले यो हेर्न आउने विद्यार्थी भविष्यमा हाम्रा पर्यटक हुन्छन्।"
"उनीहरूलाई सजिलो पनि हुन्छ नि! प्रयोगात्मक रूपमा देखाएर 'यस्तो घार हुन्छ र त्यसमा यसरी बस्छन्' भनेर देखाउन सकिने भयो। त्यसले उनीहरूको अध्ययनमा पनि सहयोग गर्छ।"
प्राकृतिक चक्र संरक्षणमा मद्दत पुग्ने
प्राकृतिक चक्रलाई सन्तुलनमा राख्न विभिन्न प्रजातिका जीवको संरक्षण आवश्यक रहेको विज्ञहरू बताउँछन्।
कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि आनुवंशिक स्रोत केन्द्र एवम् राष्ट्रिय जीन ब्याङ्कका प्रमुख डा. बालकृष्ण जोशी बाघ, बाली, घाँसे बाली र कीराफट्याङ्ग्राले प्रकृतिलाई जोगाएको बताउँछन्।
"हाम्रो अनुमान अनुसार ३५ सय कीराहरू नेपाली किसानका लागि उपयुक्त छन्। त्यसैले ती कीराहरूलाई संरक्षण गरे कृषिलाई वातावरणमैत्री बनाउन सकिन्छ।"
"अहिले प्राकृतिक असन्तुलन छ, त्यसलाई सन्तुलित राख्नुपर्छ किनकि कीराको सङ्ख्या बढी भएन भने हाम्रो वातवारण खतम हुन्छ।"








