सार्वजनिक यातायात: नौ महिनामा ३८ प्रतिशत भाडा बढ्यो, मेची-महाकाली यात्रा गर्न कति लाग्छ?

बसपार्क
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा लामो दूरीका सार्वजनिक बसहरूमा विगत नौ महिनामा मात्रै ३८ प्रतिशतले भाडा वृद्धि भएको छ। सार्वजनिक यातायातका उपभोक्ता डिजेल, पेट्रोल लगायत यातायात सञ्चालनका लागि खपत हुने इन्धनको मूल्यमा भएको भारी वृद्धिको प्रत्यक्ष असर खेप्न बाध्य भएका छन्।

यातायात व्यवस्था विभागले गत असार अन्तिम र चैतमा गरी दुई पटक लामो दूरीका सवारी साधनको भाडा दर बढाएको छ। अधिकांश प्रदेश सरकारहरूले छोटो दूरीका सवारीसाधनको भाडा पनि कात्तिक र वैशाखबाट लागु हुने गरी यसबीचमा दुई पटक बढाएका छन्।

काठमाण्डू उपत्यकाभित्र यो नौ महिनाको अवधिमा सार्वजनिक यातायातको न्यूनतम भाडा १५ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ।

काठमाण्डूबाट सबैभन्दा बढी भाडा लाग्ने गन्तव्य

पछिल्लो पटक समायोजन भएको भाडा दर अनुसार राजधानी काठमाण्डूबाट सिधा बस चल्ने सबैभन्दा टाढाको गन्तव्य दार्चुला सदरमुकाम खलङ्गा पुग्न रु ३,८९८ भाडा लाग्ने यातायात व्यवसायीहरूले जानकारी दिएका छन्।

काठमाण्डू-दार्चुला सिधा बस सेवा सञ्चालनमा रहे पनि सरकारले यो रुटको भाडा दर तोकेको छैन। यातायात व्यवस्था विभागले भाडा दर तोकेको काठमाण्डूबाट सबैभन्दा टाढाको गन्तव्य अछामको साँफेबगर हो।

असार २८ गतेसम्म काठमाण्डूबाट करिब ९०० किलोमिटर दूरीको साँफेबगर पुग्न वा साँफेबगरबाट काठमाण्डू आउन रु १,८७३ भाडा तिर्नुपर्थ्यो। पछिल्लो भाडा दर अनुसार काठमाण्डू-साँफेबगरको न्यूनतम भाडा रु २,५८५ कायम गरिएको छ। यो भाडा दर साधारण गाडीका लागि हो।

तर लामो दूरीका गन्तव्यमा साधारण बस नचल्ने भएकाले यातायात व्यवसायीहरूले डिलक्ससहित थप सुविधाका लागि अतिरिक्त भाडा लिने गरेका छन्।

"अन्तर प्रदेश सञ्चालन हुने सवारीसाधनको भाडा असार र चैतमा गरि दुईपटक समायोजन भएको छ। प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा सम्बन्धित प्रदेशले नै समायोजन गर्ने हो," यातायातका व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने।

बसपार्क

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष डम्बर पन्तका अनुसार साधारण गाडीभन्दा डिलक्स सुविधा भएका गाडीमा थप १० प्रतिशत र एसी सुविधा भएका गाडीमा २० प्रतिशत बढी भाडा लाग्छ।

असार २९ गते सरकारले लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशत चैत्र १७ गते थप १० प्रतिशत भाडा वृद्धि गरेपछि सस्तो मानिने सडक मार्गको यात्रासमेत महँगो पर्न थालेको उपभोक्ताहरूको गुनासो छ।

पूर्वतर्फ सबैभन्दा बढी भाडा लाग्ने गन्तव्य भने ताप्लेजुङ हो। यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार काठमाण्डू-ताप्लेजुङको भाडा रु ३,००० लाग्छ। सरकारले यो रुटका लागि पनि भाडा तोकेको छैन तर काठमाण्डू ताप्लेजुङ सिधा बस सेवाहरू सञ्चालनमा छन्।

राजधानी आउन कहाँबाट कति भाडा

उच्च शिक्षा, स्वास्थ्योपचार र विभिन्न प्रशासनिक कामका लागि मात्रै नभएर हालसम्म सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल राजधानीमा मात्रै भएकाले काठमाण्डू आवतजावत गर्ने मानिसहरूको सङ्ख्या ठूलो छ।

त्यस कारण पनि केही हिमाली र जिल्ला बाहेक देशका अधिकांश जिल्ला सदरमुकामहरूबाट राजधानीमा सिधा बस सेवा सञ्चालनमा छन्।

यही वैशाखबाट लागू भएको नयाँ भाडा दर अनुसार राजधानीबाट सबैभन्दा नजिकको जिल्ला सदरमुकाम धुलिखेलबाट काठमाण्डू सम्मको ३० किलोमिटर यात्रा गर्न ८५ रुपैयाँ लाग्छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यस्तै झापाको पूर्वी नाका काँकडभिट्टाबाट काठमाण्डूसम्मको ६१० किलोमिटर यात्रा गर्न १,६१७ रुपैयाँ भाडा तोकिएको छ।

तर यो रुटमा साधारण बस नचल्ने भएकाले डिलक्स भनिने आरामदायी बसहरूको भाडा दर यातायात व्यवसायीहरूले १,९०० तोकेका छन्। वातानुकूलित एसी बसहरूमा यात्रा गर्न भने २,३०० भाडा दर तोकिएको छ।

"हामीले सरकारले तोकेको भन्दा बढी भाडा लिएका छैनौँ। बरु हामी छुट गरेरै यात्रुहरूसँग भाडा लिइरहेका छौँ," नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले भने।

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र साधारण महँगी अनुरूप भाडा समायोजन नगरेको गुनासो यातायात व्यवसायीहरूको छ।

प्रदेश १ को राजधानी विराटनगर-काठमाण्डूको भाडा दर रु १४३९ तोकिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरबाट काठमाण्डूसम्मको ३७५ किलोमिटर यात्रा तय गर्न सरकारले १,०१५ रुपैयाँ भाडा दर तय गरेको छ।

बुटवल

गण्डकी प्रदेशको राजधानी पोखराबाट काठमाण्डूसम्मको २०२ किलोमिटर यात्राका लागि रु ५९१ भाडा दर तोकिएको छ। लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट २५९ किलोमिटर टाढाको काठमाण्डू पुग्न ७१६ रुपैयाँ भाडा दर तोकिएको छ।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरबाट काठमाण्डूसम्मको ६०० किलोमिटर यात्राका लागि १,६७१ रुपैयाँ भाडा तोकिएको छ। यस्तै सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीबाट काठमाण्डूसम्मको भाडा रु १८२३ तोकिएको छ।

मेची महाकाली यात्रा गर्न कति लाग्छ

एक हजार २७ किमी लामो पूर्वपश्चिम महेन्द्र राजमार्ग नेपालको पुरानो प्रशासनिक संरचना अनुसार मेचीको काँकडभिट्टा देखि र महाकालीको महेन्द्रनगर सहरसम्म फैलिएको छ।

हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका यी दुई सहरको ९२२ किलोमिटर दुरी तय गर्न सरकारले तोकेको पछिल्लो भाडा दर अनुसार रु २,३७६ भाडा तिर्नुपर्छ।

महेन्द्र राजमार्गको पूर्वी सहर काँकडभिट्टाबाट पश्चिमी सहर महेन्द्रनगरसम्म दैनिक बस सञ्चालन हुने गरेका छन्।

तर यो रुटमा यात्रुवाहक बस सञ्चालन गर्दै आएको महाकाली यातायातमा बीबीसी न्यूज नेपालीले सम्पर्क गर्दा त्यहाँका कर्मचारी कमान सिंह ठगुन्नाले महेन्द्रनगर काँकडभिट्टा एकतर्फी यात्राका लागि २,७७६ रुपैयाँ भाडा लाग्ने बताए।

उनका अनुसार एसी बसमा यात्रा गर्दा ३,३९२ रुपैयाँ भाडा तिर्नुपर्छ।

टिकट काउन्टर

"हामीले यो रुटमा साधारण बस सञ्चालन गरेका छैनौँ। डिलक्स बसमा २,७७६ भाडा हो," उनले भने।

ठगुन्नाका अनुसार महेन्द्रनगरबाट काँकडभिट्टाका लागि बिहान १०:३० बजे र दिउँसो १:३० बजे गरी दुई वटा बस छुट्छन्। "यताबाट छुटेको बसलाई उता पुग्न १४ देखि १६ घण्टासम्म लाग्छ," उनले भने।

राजमार्गको वारपार यात्रा गर्ने को हुन्छन्?

यातायात व्यवसायीहरूका अनुसार महेन्द्रनगर काँकडभिट्टा ओहोरदोहोर गर्ने यात्रुहरूको सङ्ख्या भने निकै कम हुन्छ।

"दिनमा १० देखि १५ जनासम्म मात्रै पूरा यात्रा गर्ने हुन्छन् बाँकी मान्छेहरू बीच बाटोमै झर्ने हुन्छन्। बीचबाटै चढ्ने पनि हुन्छन्," ठगुन्नाले भने।

अधिकांश यात्रुहरू भारत काममा जाने वा भारतबाट समय-समयमा फर्कने नेपालीहरू र केही नेपालमै रोजगारी गर्नेहरू हुने उनले बताए।

सस्तो र छिटो हुने भएकाले कतिपय यात्रुहरू भारतको बाटो हुँदै पूर्व जाने गरे पनि रेलको यात्रा एक्लै गर्न असुरक्षित महसुस गर्ने र बीचमा रेल परिवर्तनको झन्झट बेहोर्न नचाहनेहरू बसमै काँकडभिट्टा-महेन्द्रनगर यात्रा गर्ने ठगुन्नाले बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विद्युतीय गाड़ीबाट कसरी हुन्छ फाइदा