नेपाल अर्थतन्त्रः श्रीलङ्का सङ्कट सँग तुलना गरिएकोमा जनार्दन शर्मा असन्तुष्ट, आठ महिनाको तथ्याङ्कले के भन्छ

अर्थमन्त्री जनार्दन शर्माले नेपाली अर्थतन्त्रका समष्टिगत परिसूचकहरू सामान्य रहेको दाबी गरेको भए पनि आयातमुखी मानिने देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाव सिर्जना भएको स्वीकारेका छन्।

सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रमा "कुनै ठूलो सङ्कट नआएको" दाबी गर्दै श्रीलङ्काको आर्थिक सङ्कटसँग देशको तुलना गरिएकोमा असन्तुष्टि व्यक्त गरे।

उनले अर्थतन्त्रलाई "नियमित गतिमा चल्न दिनुपर्ने" र त्यसमा राजनीति गर्न नहुने धारणा राखे।

उनले "उद्योगधन्दा चलिरहेको, पर्यटकहरू आउने क्रम वृद्धि भइरहेको, रेमिट्यान्स पनि वृद्धि हुने क्रममा गइरहेको, राजस्व पनि लक्ष्यअनुसार उठिराखेको, बजेटको खर्च पनि ढिलो सुरु भएर पनि एक ढङ्गले भइरहेको, ऋण पनि व्यापक प्रवाह भइरहेको अवस्था" लाई अर्थतन्त्रका आशाजनक सूचकका रूपमा प्रस्तुत गरे। 

तर उनले विगत आठ महिनाको विवरण प्रस्तुत गर्दा अवस्था सहज देखिँदैन। 

आयात एकतिहाइ बढ्यो

मन्त्री शर्माले पढेको लिखित वक्तव्यमै देशले व्यापार घाटा झन्डै १२ खर्ब ९१ अर्ब रुपैयाँले बेहोरेको देखाउँछ।

उनको वक्तव्यमा पछिल्लो समय अर्थतन्त्रमा दबाव सिर्जना हुनेगरी त्यसको लागि बढ्दो दरमा वस्तु आयात भएको उल्लेख गरिएको छ।

विदेशी मुद्रा धेरै खर्च हुने आयात मात्र यस आर्थिक वर्षको सुरुको आठ महिनामा अघिल्लो सोही अवधिभन्दा एकतिहाइले बढेको देखिन्छ।

विदेशी मुद्रा १६ प्रतिशत घट्यो

विदेशी मुद्रा सञ्चिति साउनयता झन्डै १६ प्रतिशतले घटेर ६.७ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त देखिन्छ। 

यद्यपि मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्ने गर्छ।

गत असार मसान्तमा राष्ट्रिय ढुकुटीमा झन्डै १४ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा थियो जुन पछिल्लो फागुन मसान्तमा घटेर ११.१७ खर्ब रुपैयाँ भएको देखिन्छ। 

इन्धनमा चाप

अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थलाई कारण बताउँदै त्यसले व्यापार घाटा र महँगी बढाएको अर्थमन्त्री शर्मा बताउँछन्।

पेट्रोलियम पदार्थ खरिद गर्न उच्च वैदेशिक मुद्रा खर्च हुने र नेपाली बजारभन्दा भारतमा त्यो महँगो भएकाले सीमावर्ती क्षेत्रमा अवैध विक्री वितरण भइरहेको समेत उनले बताए।

उनले अत्यावश्यकबाहेक अन्य क्षेत्रमा सुविधाबापतको इन्धन घटाउने उपाय अपनाउन लागिएको, जनतालाई इन्धन जोगाउन आग्रह गरिने र सार्वजनिक विद्याका दिनमा गाडीहरूको प्रयोगबारे निर्णय गर्न लागिएको बताए।

इन्धनमा चाप परेकै कारण सरकारी निकायले इन्धनबापतको खर्च २० प्रतिशतले घटाउन लागिएको बताए।

रेमिट्यान्स झन्डै ५ प्रतिशत कम

फागुन मसान्तसम्म नेपालमा विदेशी मुद्राको पहिलो मुख्य स्रोत रेमिट्यान्स आप्रवाह झन्डै ६.३१ खर्ब रुपैयाँ देखिन्छ।

तर सोही वर्षको अघिल्लो सात महिनाको तुलनामा झन्डै ५ प्रतिशत आप्रवाह कम हो।

तर वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यस आठ महिनामा १९२ प्रतिशतले बढेको छ।

जसका कारण आउँदा दिनमा तिनले रेमिट्यान्स पठाउने क्रम बढ्ने अधिकारीहरूले आशा गरेका छन्।

मूल्यवृद्धि

यस आर्थिक वर्षमा अहिलेसम्मको उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको अर्थमन्त्री शर्माले बताएका छन्।

यो ५.१८ प्रतिशत रहेको गत तीन वर्षको औसत मुद्रास्फीतिभन्दा उच्च हो।

मुद्रास्फीति बढ्नुमा पेट्रोलियम पदार्थको बढिरहेको मूल्य र विश्वबजारमा बिथोलिएको आपूर्तिचक्रलाई प्रमुख कारण मानिएको छ।

कतिपय अर्थशास्त्रीहरूले खाद्यान्नजस्ता कतिपय क्षेत्रमा महँगी दोहोरो अङ्कमा पुगिसकेको दाबी गर्छन्।