त्रिकोणात्मक क्रिकेट श्रृङ्खला: ऐेरीको शानदार प्रदर्शनमा नेपाललाई क्रिकेटको उपाधि

ऐरी

दीपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा नेपालले टी-२० त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीलाई हराएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले १६८ रन जोडेको थियो। ऐरीले सर्वाधिक ५४ रन बनाए।

ऐरीले बलिङमा पनि चार विकेट लिएपछि प्रतिद्वन्द्वी टोली १६.१ ओभरमा ११८ रनमा समेटियो र ५० रनले पराजित भयो।

नेपालले लीग चरणमा पपुवा न्युगिनी र मलेशियालाई दुई-दुई पटक पराजित गरेको थियो।

यसअघि काठमाण्डूमा नै भएको एकदिवसीय शृङ्खलामा भने नेपाललाई दुवै खेलमा हराएर पपुवा न्युगिनीले शृङ्खला जितेको थियो।

ऐरीले सोमवार २१ रन पूरा गर्दा १,००० टी-२० अन्तर्राष्ट्रिय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने।

मध्यम लक्ष्य

नेपालको सुरुआत सोमवार पनि राम्रो हुन सकेन।

पहिलो ओभरमा १४ रन जोडेर ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत दिलाएका थिए।

यद्यपि ठूलो पारी खेल्ने मुड बनाएका उनी पाँचौँ ओभरमा आउट हुन पुगे। २२ बलमा पाँच चौकाको मदतले २५ रन बनाएका भुर्तेल लेगा साइकाबाट क्याच आउट भएका थिए।

लगत्तै अर्को ओभरमा रोहित पौडेल आउट भएपछि खेल ४४-२ को स्थितिमा पुग्यो।

त्यसपछि प्रतियोगितामा उच्च फर्ममा देखिएका ऐरीले ओपनर आसिफ शेखसँग मिलेर खेल अगाडि बढाए।

तर १२औँ ओभर नेपालको लागि निकै महँगो ओभर साबित भयो।

सो ओभरमा पपुवा न्यूगिनीका बायाँ हाते तेज गतिका बलर सेमो कामियाले नेपालका तीन खेलाडीहरूलाई आउट गरेर नेपाली ब्याटरहरुलाई ठूलो दबाव दिएका थिए।

उक्त ओभरको पहिलो बलमा आशिक आउट हुन पुगे।

उनी २९ रनमा रहँदा साइकाबाट समातिएका थिए भने तेस्रो बलमा उनका दाजु आरिफले कप्तान भालालाई सामान्य क्याच थमाउन पुगे।

क्रिकेट

त्यसपछि आएका दिलीप नाथ पनि बचेनन्। दोस्रो बलको सामना गर्ने क्रममा कामियाले उनलाई बोल्ड गरिदिए।

नेपालको ब्याटिङ अचानक ८२-५ को धरमराउँदो अवस्थामा पुगेको थियो।

ऐरीको १,००० रन

यद्यपि ऐरीले रन जोडने काम जारी राखेका थिए। उनले आदिल आलमसँग मिलेर छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गरे।

उदयीमान आलम १६औँ ओभरको अन्तिम बलमा आउट भए। उनले १२ बलमा १५ रन बनाएका थिए।

त्यसपछि आएका करण केसीले ऐरीसँग रनको वर्षा गर्दै नेपाललाई सुरक्षित स्कोर तिर लगेका थिए भने कीर्तिपुर मैदानमा उपस्थित दर्शकमा रोमाञ्च भरेका थिए।

केसीले १२ बल खेल्ने क्रममा ५ चौका र एक छक्का सहित अविजित ३३ रन जोडे।

ऐरीले २० औँ ओभरमा आफ्नो अर्धशतक पूरा गरे। ३८ बलको सामना गरेका उनले अविजित ५४ रन जोडे, जसमा ५ चौका सामेल छ।

कुल ३९ टी-२० खेलेका ऐरीले यो क्रममा एक शतक सहित पाँच अर्धशतक प्रहार गरेका छन्। जारी शृङ्खलामा मात्र उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका हुन्।

यसअघि टी- २० मा नेपालबाट बढी रन प्रहार गर्ने पारस खड्काले ७९९ रन बनाएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पिँजडा भत्काउँदै पाकिस्तानी कराते खेलाडी