त्रिकोणात्मक क्रिकेट श्रृङ्खला: ५०औँ टी -२० अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
करण केसीको कीर्तिमानी ह्याट्रिक सहित ५ विकेटको मदतमा पपुवा न्यूगिनीलाई ३७ रनले पराजित गर्दै नेपाल टी -२० त्रिकोणात्मक क्रिकेट शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।
दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहित रोहित पौडेल, टोलीका नयाँ खेलाडी आदिल अन्सारी र आशिफ शेखको ब्याटिङ चम्किएपछि नेपालले बिहीवार पपुवा न्यूगिनी विरुद्ध २०३ रनको विशाल स्कोर खडा गरेको थियो।
जवाफमा एक समय लक्ष्य पछ्याउने सङ्केत देखाएको पपुवा न्यूगिनी २ बल खेल्नु अगावै १६६ रनमा समेटिन पुग्यो।
यो नेपालले खेलेको ५० औँ टी-२० खेल पनि हो।
नेपालले सन् २०१४ को ढाका विश्वकपमा पहिलो आधिकारिक टी-२० प्रतियोगिता खेलेको थियो।
त्रिकोणात्मक शृङ्खलामा पाएको लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ।
पराजयसँगै पपुवा न्यूगिनीको फाइनलमा पुग्ने सम्भावना कठिन भएको छ।
अहिलेसम्म खेलेका तीन वटै खेल हारेको पपुवा न्यूगिनीले अब फाइनलमा पुग्न मलेसियासँगको खेल जित्न सके रन रेटको आधारमा सम्भावना बन्न सक्छ।
तर नेपालले मलेसियालाई हराउन सकेको खण्डमा मात्र त्यो अवस्था बन्नेछ।
नेपालको खेलको खेलप्रेमी तथा खेलाडीहरूका तर्फबाट समेत प्रशंसा भैरहेको छ।
फाइनलमा पुगेको नेपाली टोलीलाई राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्रीले बधाई दिँदै युवा खेलाडीहरूको प्रशंसा गरिन्।
"नेपाली टोली बलियो देखिन थालेको छ। यो सबैको मेहनत र टिम भावनाको कारणले हो। घरेलु दर्शक र ब्याटिङ मैत्री पिचको कारण पनि खेल रोमाञ्चित बन्यो। सबैलाई बधाई छ" उनले भनिन्।
करणको ह्याट्रिक

करण केसी टी-२० मा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । साथै एउटै खेलमा ५ विकेट लिने पनि उनी पहिलो नेपाली खेलाडी बने।
एक समय जिततर्फ उन्मुख भएको पपुवा न्यूगिनीलाई रोक्ने काम अविनाश बोहराले गरे भने केसीको ह्याट्रिकबाट त्यसको उत्कृष्ट अन्त्य हुन पुग्यो।
पपुवा न्यूगिनीले अन्तिम ३ ओभरमा ८ रन जोड्नका लागि ६ विकेट गुमाएको थियो।
पपुवा न्यूगिनीका ओपनर जोडी कप्तान असद भाला र लेगा साइका (दुवैको १/१ रन) सुरुको तेस्रो ओभर भित्र आउट भएपछि नेपालको सुरुआत राम्रो बनेको थियो। दुवै विकेट करण केसीले लिएका थिए।
तर त्यसपछि चार्ल्स अमिनी र टोनी उराले खेललाई नियन्त्रणमा राख्दै नेपाली बलरहरूलाई निरन्तर दबाबमा राखे।
तेस्रो विकेटका लागि यो जोडीले ८४ रनको साझेदारी गरेपछि खेलमा प्रतिस्पर्धात्मक स्थिति बनेको थियो।
१२ औँ ओभरमा ४३ रन बनाएर खेलिरहेका उरालाई सोमपाल कामीले आउट गरेपछि यो जोडीको साझेदारी टुट्न पुग्यो।
१४ औँ ओभरमा अमिनी पनि आउट भएपछि मात्र खेल नेपालको पक्षतिर ढल्किन पुगेको थियो।
अमिनीले ६२ रनको इनिङ खेल्ने क्रममा ४७ बलमा ९ चौका प्रहार गरे।
यद्यपि नोर्मन भानुआले आक्रामक ब्याटिङ गर्दै खेल अझ रोमाञ्चक बनाएका थिए।
१५८/४ को प्रतिस्पर्धात्मक अवस्थामा पुगेको बेला अविनाश बोहराले महत्त्वपूर्ण विकेट लिए।
१८ औँ ओभरमा उनले भानुआलाई दीपेन्द्र सिंह ऐरीबाट क्याच गराए भने अर्को बलमा सेसे बाउलाई एलबीडब्लूको सिकार बनाएपछि नेपालको जित सुनिश्चित भएको हो।
बोहरा ह्याट्रिक नजिक पुगेका थिए। उनी त सफल भएनन् तर त्यसपछि करण केसीले त्यो काम गरिदिए।
नेपालको आक्रामक ब्याटिङ
ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेसँगै नेपाली ब्याटरहरु कीर्तिपुरमा खुलेर खेल्ने सङ्केत देखिएको थियो।
भुर्तेल सातौँ ओभरमा हाकुरेको बलमा १७ रनमा क्याच आउट भए भने त्यसपछि भानुआले १०औँ ओभरमा शेखको विकेट लिएका थिए।
आशिफले २९ बलमा चार चौका र एक छक्काको मदतले ३८ रन बनाए।

शृङ्खलामा प्रभावकारी प्रदर्शन गरिरहेका रोहित पौडेलले पनि २३ बलमा ४१ रन जोडे। जसमा चार चौका र दुई छक्का सामेल थियो।
रोहित १५औँ ओभर आउट हुँदा नेपालको स्कोर १२३ रन पुगेको थियो।
त्यसपछि खेलमा जमेका दीपेन्द्रसिंह ऐरी र नयाँ खेलाडी आदिल अन्सारीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।
दबावबिना खेल्ने मौका पाएका ऐरीले ६६ रन बनाउँदै टी-२० अन्तर्राष्ट्रिय खेलमा चौथो पटक ५० भन्दा बढी रन बनाए। ३३ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरेका थिए।
ऐरीले १८औँ ओभरको सुरुको तीन बलमा लगातार तीन छक्का प्रहार गरेर खेलमा रोमाञ्च थपेका थिए। जसले गर्दा उनले २९ बलमा अर्धशतक पूरा गर्न भ्याएका थिए।
१९औँ ओभरको अन्तिम बलमा उनी पोकानाको बलमा क्याच आउट हुन पुगे। सो ओभरमा अन्सारीले लगातार तीन छक्का हान्दा नेपालले कूल ३२ रन जोडेको थियो।
अन्सारीले ११ बलमा एक चौका र तीन छक्कासहित ३३ रन जोडेर आफ्नो "डेब्यू" मा प्रभाव छोडे।
अन्तिम ओभरमा भने नेपालको तीन विकेट झरेको थियो। काबुआ मोरियाको सो ओभरमा अन्सारी, करण केसी (१ रन) र दिलीप नाथ (० रन) आउट भएका थिए।
आदिलको 'डेब्यू'
पपुवा न्युगिनी विरुद्धको खेलबाट यु-१९ टोलीका प्रभावशाली अलराउन्डर आदिल अन्सारीले राष्ट्रिय टोलीमा "डेब्यू" गरे।
प्रशिक्षक पुबुदु दशानायकेले कुशल मल्ललाई बेन्चमा राखी मधेस प्रदेशको प्रतिनिधित्व गर्ने अन्सारीलाई मौका दिएका थिए।

यो सँगै काठमाण्डूमा भएको एकदिवसीय र त्रिकोणात्मक शृङ्खलाको अवसरमा राष्ट्रिय टोलीमा प्रवेश पाउने खेलाडीहरूको सङ्ख्या तीन पुगेको छ।
अघिल्लो दिन मलेशियासँग विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले "डेब्यू" गरेका थिए भने पपुवा न्युगिनी विरुद्धकै एकदिवसीयमा यू-१९ टोलीका कप्तान देव खनाल राष्ट्रिय टोलीमा भित्रिएका थिए।
अन्सारीलाई पूर्व राष्ट्रिय खेलाडी तथा क्यानको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले "डेब्यू क्याप" प्रदान गरे।
अन्सारी आक्रामक खेल्ने ब्याटर तथा मध्यम गतिका बलर हुन्।
गत डिसेम्बरमा उनले यू-१९ एशिया कपमा कुवेतविरुद्ध ४९ रन जोडेका थिए भने यू-१९ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ८७ रनको आक्रामक इनिङ खेलेका थिए।










