शेरबहादुर देउवा: के 'व्यक्तिगत र राजनीतिक फाइदाका' लागि प्रधानमन्त्रीले भारत भ्रमण गरेका हुन्

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा निस्कनुपूर्व नेपाल मामिला विज्ञ भारतीय प्राध्यापक एसडी मुनीले यो भ्रमणको अघोषित व्यक्तिगत र राजनीतिक सन्देश रहेको टिप्पणी गरे।

सामाजिक सञ्जाल ट्विटरमा मुनीले देउवाले दिल्लीलाई नेपाली कांग्रेसमा संस्थागत पकड कायम राखिराख्न आफूलाई सहयोग गरेकोमा धन्यवाद दिने र चुनावमा भारतको सहयोगको खोजी गर्ने उल्लेख गरेका थिए।

विपक्षी दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले 'ठ्याक्कै चुनावअघि विदेश जानुको कारण'बारे आफूले प्रधानमन्त्रीलाई सोध्ने अभिव्यक्ति दिएका छन्।

अझ देउवाले परम्पराविपरित भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको मुख्यालयको भ्रमण गरेपछि त्यसलाई लिएर पक्षविपक्षमा टिप्पणी भइरहेका छन्।

के देउवाको भारत भ्रमणमा चुनाव जोडिन्छ?

वैशाख ३० का लागि तोकिएको चुनाव आउन डेढ महिना पनि बाँकी नरहेको समयमा देउवा भारतको औपचारिक भ्रमणमा निस्किएका थिए।

लगभग चार वर्षको अन्तरालमा भएको नेपाली प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध अभिवृद्धि गर्न महत्त्वपूर्ण भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

सीमा विवाद सहितका विषयमा छलफल भएको यो भ्रमणमा नेपाल र भारतबीच ऊर्जा सहकार्यबारे महत्त्वपूर्ण साझेदारी भएको भनिएको छ।

साथै भारतले यो वर्षभित्र नेपालमा ७५ वटा विकास परियोजनाहरू शिलान्यास गर्ने प्रतिबद्धता जनाएको छ।

भूतपूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत चुनावसँग प्रधानमन्त्रीको भारत भ्रमणलाई जोड्नु औचित्यहीन भएको बताउँछन्।

महत भन्छन्, "कोभिड महामारीको कारणले लामो समयसम्म भ्रमणहरू हुन सकिरहेको थिएन। अहिले भएको भ्रमणले दुवै देशका चासो चिन्ताहरू उच्च तहमा राख्ने अवसर दियो।"

"केही समय पहिले चीनको विदेशमन्त्री पनि नेपाल आउनुभएको थियो। अब हामीले चुनावको अघि किन आउनुभयो भनेर प्रश्न गर्ने? अनावश्यक कुरामा शङ्का उपशङ्का गर्नुको कुनै औचित्य छैन।"

भाजपा कार्यालयको भ्रमण

भारतीय जनता पार्टीको मुख्यालयको भ्रमण गर्ने प्रधानमन्त्री देउवाको निर्णयको बचाउ गर्दै उनले नेपालका वामपन्थी दलहरूले जस्तै चिनियाँ कम्युनिस्ट पार्टीसँग गर्ने वैचारिक प्रशिक्षणजस्तो त्यो नभएको तर्क गरे।

उनी थप्छन्, "हाम्रो प्रधानमन्त्री नेपालको एउटा प्रमुख दलको सभापति पनि हो। त्यस अर्थमा उहाँहरूले निम्तो दिनुभयो र उहाँ त्यहाँ जानुभयो।"

"यो अरू जस्तो त्यहाँ छुट्टै वार्ता गर्न वा प्रशिक्षण गर्न गएको होइन। कुनै किसिमको तुलना गर्नुको अर्थ छैन।"

आफ्नो सत्ता गठबन्धनका दलहरूसँग स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेर नयाँ दिल्ली हिँडेका देउवाले भाजपासँग सम्बन्ध मजबुत बनाउने हिसाबमा मुख्यालयको भ्रमण गरेको ठानिएको छ।

विगतमा कुनै पनि नेपाली प्रधानमन्त्रीले आफ्नो औपचारिक भ्रमणमा प्रतिनिधिमण्डलसहित भारतीय सत्तारूढ दलको मुख्यालयको भ्रमण गरेका थिएनन्।

यसपटक भारतीय विपक्षी दलका नेतालाई समेत नेपालका प्रधानमन्त्रीले भेट्ने कार्यक्रम राखिएको थिएन।

विपक्षी भन्छ: बिनाएजेन्डा भ्रमण

एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजाल प्रधानमन्त्री देउवाले चुनाव घोषणा गरिसकेपछि भारतको भ्रमण गरेर व्यक्तिगत र दलीय लाभ लिने प्रयास गरेको टिप्पणी गरे।

उनी भन्छन्, "देशमा चुनाव घोषणा भएको छ र यहाँ दलहरूको बीचमा तिक्तता छ। संवाद हुन सकिरहेको छैन। संसद् अवरुद्ध छ।"

"मूल विषयहरूमा केही सहमति नै नभइरहेको अवस्थामा उहाँ बिनाएजेन्डा भारतको भ्रमणमा जानुभयो।"

यसअघि प्रधानमन्त्रीको हैसियतमा एमाले अध्यक्ष ओलीले भारतको राजकीय भ्रमण गरेको उल्लेख गर्दै उनले अहिले राष्ट्रपति समेत मुलुकमा नभएको समयमा प्रधानमन्त्री देउवा 'पार्टीगत र व्यक्तिगत फाइदा'का लागि प्रयोग गर्न खोजेको उनको टिप्पणी छ।

उनले थपे, "विगतमा बिपी कोइरालाको पालादेखि नै राममनोहर लोहिया, जयप्रकाश नारायनन, जवाहरलाल नेहरु र इन्दिरा गान्धी हुँदै नेपाली कांग्रेसको सम्बन्ध विकसित हुँदै आएको पाइन्छ।"

"अहिले एउटा अतिवादी र दक्षिणपन्थी भनेर संसारभर आलोचित दलको मुख्यालय गएर देउवाले दक्षिणपन्थतर्फको यात्रा हो है मेरो भन्ने सन्देश दिन खोज्नुभएको छ।"

भारतीय विज्ञ भन्छन्: घरेलु राजनीतिसँग जोड्नु अनुपयुक्त

भारतको छिमेक नीति अन्तर्गत नेपालसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको उल्लेख गर्ने कतिपय भारतीय विज्ञहरू त्यस अन्तर्गत हुने उच्चस्तरीय आदानप्रदानका रूपमा यो भ्रमणलाई लिनुपर्ने ठान्छन्।

नेपाल मामिला नियाल्ने भारतीय विज्ञ निहार नायक घरेलु चुनावका लागि कुनै नेताले अर्को देशको भ्रमण गर्नु आवश्यक नरहेको उल्लेख गर्दै नयाँ दिल्लीले नेपालमा निरन्तर लोकतन्त्रलाई समर्थन गर्दै आएको बताउँछन्।

उनले भने, "भारतकै कुरा गर्नुहुन्छ भने प्रत्येक तीनदेखि छ महिनामा स्थानीय वा प्रादेशिक चुनावहरू भइरहेका हुन्छन्। यस्तोमा अर्को देशलाई जोड्नु सही होइन।"

नायकका अनुसार नेपालमा रहेका कतिपय वामपन्थी दलहरूले पटकपटक भारतविरोधी अडानहरू राखिरहने हुनाले पुरानो मित्र रहेको नेपाली कांग्रेससँग काम गर्न भारतले सहज ठान्ने गर्छ।

यसअघि ओलीको नेतृत्वको सरकारसँगको नयाँ दिल्लीको सम्बन्धबारे चर्चा गर्दै नायकले भने, "सन् २०१८ मार्चमा सत्तामा आएपछि लगभग डेढ वर्ष प्रधानमन्त्री ओलीले अधिकांश अवस्थामा चीन पक्षधर नीतिहरू अगाँल्नुभयो।"

"तर सेप्टेम्बर २०२० मा मात्रै प्रचण्ड र उहाँसँगको चिनियाँ राजदूतको छलफलमा कुरा नमिलेपछि उहाँ पछि हट्नुभयो। वाम दलहरूको सीमासम्बन्धी धारणाहरूलाई पनि भारतले नजिकबाट देखेको छ।"

उनले थपे, "उत्तरी सीमामा पनि समस्याहरू छन् तर त्यसलाई उनीहरूले चटक्कै बेवास्ता गर्छन्।"

"विवादित भूभागलाई नक्सामा समेट्ने र त्यसलाई बदल्न अप्ठेरो हुने राष्ट्रिय चिन्हमा राख्ने जस्ता काम गरियो जुन भारतले असहज महसुस गर्‍यो। ओलीले धेरै विवादास्पद अभिव्यक्ति पनि दिनुभयो जसले गर्दा नेपाल-भारत सम्बन्धलाई प्रभावित पार्‍यो।"

देउवा भारतको 'विशेष मित्र'?

तर एमालेका रिजाल अध्यक्ष ओलीले उठाएका सवालले भारतले असहज महसुस गर्नुपर्ने कारण नरहेको बताउँछन्।

उनी भन्छन्, "केपी ओलीको पालामा भारतले असहज महसुस गरेको हो भने केही सवालहरूमा हामीहरू बहस गर्न तयार हुनुपर्‍यो।"

"के भारतीय नाकाबन्दीको सामना गरेर ओलीले गल्ती गर्नुभयो त? वा भारतले हाम्रो भूमि हडपेर नक्सा जारी गरेपछि हामीले हाम्रो नक्सा जारी गर्नु हुँदैन थियो?"

"हामीले हाम्रोतर्फबाट भारतलाई बिझाउने वा उकास्ने एउटा पनि काम गरेका छैनौँ।"

नायक चाहिँ नेपाली कांग्रेससँगको सम्बन्धलाई भारतले परम्परागत रूपमा नै महत्त्व दिने गरेको र उक्त दलले लोकतन्त्रप्रतिको भारतीय विश्वासलाई नेपालमा समर्थन गरिरहेको टिप्पणी गर्छन्।

नयाँ दिल्लीले 'विशेष मित्रलाई न्यानो स्वागत' गरिएको भन्दै देउवाको यो भ्रमणका बारेमा एउटा ट्वीट गरेको थियो।

हाल पाँचौँ कार्यकालमा सत्ता सम्हालिरहेका देउवाले प्रधानमन्त्री रहँदा प्रत्येक पटक भारतको भ्रमण गरेका छन्।

केही समय पहिले नेपालको भ्रमण गरेका चिनियाँ विदेश मन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई 'चिनियाँ जनताको पुरानो मित्र' भन्दै सम्बोधन गरेका थिए।

पछिल्लो समयमा नेपालमा भूराजनीतिक चासोहरू वृद्धि हुँदै गएको भन्दै कैयौँ विदेश मामिलाका जानकारहरूले सत्तापक्ष र विपक्षी दलहरू परराष्ट्र सम्बन्धबारेमा एक ठाउँमा उभिनुपर्ने धारणा राख्दै आएका छन्।