युक्रेन युद्धः रुस र चीनबीच कति ठूलो व्यापार छ, के प्रतिबन्ध सामना गर्न चीनले सघाउन सक्छ

पाइपलाइनमा काम गर्दै कामदार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाइपलाइनमा काम गर्दै कामदार
    • Author, काई वाङ र वाङ्युङ सङ
    • Role, बीबीसी रीयालिटी चेक

रुसले युक्रेनमा आक्रमण गरेपछि उसलाई एक्लो पार्न अमेरिका, ईयू र ब्रिटेनले जस्तै प्रतिबन्धहरू लागु गर्नका निम्ति अस्ट्रेलियाले चीनलाई आग्रह गरेको छ।

प्रधानमन्त्री स्कट मरिसनले रुसबाट थप गहुँ किन्न चीनले गरेको हालैको सम्झौताको आलोचना गरेका छन्।

उनले त्यसले रुसलाई "आर्थिक जीवन" दिने बताए।

त्यसो भए चीनले रुसलाई आर्थिक रूपमा कत्तिको सहयोग गर्न सक्छ त?

रुसमाथिको प्रतिबन्धले व्यापारलाई असर गर्छ?

चीनले रुससँग "सामान्य व्यापार सहकार्य जारी राख्ने" बताएको छ।

तर केही रुसी ब्याङ्कहरूलाई स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट प्रतिबन्धित गरिएको छ। यो विश्वभरि वित्तीय भुक्तानीका लागि लागि प्रयोग गरिन्छ।

प्रतिबन्धले निर्यातका लागि भुक्तानी गर्न अझ गाह्रो हुने सम्भावना छ।

पुटिन र सी

तस्बिर स्रोत, Getty Images

व्यापारीहरूले वित्तीय व्यवस्थापन गर्न सङ्घर्ष गर्नु परेपछि चीनले हालै रुसबाट गर्ने आफ्ना केही खरिदलाई कटौती गर्नुपरेको छ।

पछिल्ला वर्षहरूमा दुवै देशले स्विफ्टजस्ता डलरमा आधारित प्रणालीमा उनीहरूको निर्भरतालाई न्यून गर्न आफ्नै वैकल्पिक भुक्तानी प्रणालीहरू विकास गर्ने प्रयास गरिरहेका छन्।

रुससँग वित्तीय सन्देशहरू पठाउने प्रणाली (एसटीएफएम) छ भने चीनसँग अन्तरसीमा अन्तरब्याङ्क भुक्तानी प्रणाली (सीआईपीएस) छ। ती दुवै प्रणाली आफ्नै मुद्रामा सञ्चालन हुन्छन्।

कार्नजी मस्को सेन्टरले प्रकाशित गरेको एउटा अध्ययनले ती भुक्तानी प्रणालीहरू "स्विफ्टको विकल्प नभएको" भन्ने तर्क गरेको छ।

सन् २०२१ सम्म एउटा मात्र चिनियाँ ब्याङ्क एसटीएफएममा सामेल भएको थियो।

यद्यपि धेरै रुसी ब्याङ्क र विश्वव्यापी वित्तीय संस्थाहरू चिनियाँ प्रणालीमा जोडिएका छन्।

रुसले सामान निर्यात गर्ने प्रमुख राष्ट्र. नोभेम्बर २०२१ मा गरिएको निर्यातको प्रतिशत. *रातो रङ्गमा ईयू सदस्यराष्ट्र.

हाल रुस र चीनबीच हुने व्यापारको लगभग १७ प्रतिशतमा मात्रै चिनियाँ युआनको प्रयोग हुन्छ। त्यो सन् २०१४ मा ३.१ प्रतिशत मात्र थियो।

यो आधिकारिक रुसी तथ्याङ्कलाई उद्धृत गर्दै सञ्चारमाध्यममा आएका खबरहरूमा आधारित विवरण हो।

युआनको प्रयोग बढिरहेको भए पनि उनीहरूबीचको ऊर्जा व्यापार धेरैजसो अझै पनि अमेरिकी डलरमा हुने गर्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसमा लामो समय शासन गर्न लागेका भ्लादिमिर पुटिन को हुन्?

रुसले चीनसँग कति व्यापार गर्छ?

पछिल्ला वर्षहरूमा यी दुई देश बीचको व्यापार लगातार बढ्दै गएको छ।

गत वर्ष नयाँ उचाइमा पुग्दै यी दुई देशबीच लगभग १४७ अर्ब डलरको व्यापार भयो।

त्यो अघिल्लो वर्षको तुलनामा लगभग ३६ प्रतिशत र सन् २०२१ मा रुसको समग्र व्यापारको लगभग १८ प्रतिशत हो।

गत महिना राष्ट्रपति पुटिनको बेइजिङ भ्रमणका क्रममा दुवै देशले सन् २०२४ सम्ममा आफ्नो व्यापार २५० अर्ब डलरमा पुर्‍याउने बताएका थिए।

चिनियाँ भन्सार अधिकारीहरूले युक्रेनमाथि आक्रमण सुरु भएको दिनदेखि रुसी गहुँ र जौ आयातमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेका थिए।

चीनले पहिले रोगको चिन्ताका कारण रूसका केही क्षेत्रहरूबाट गहुँ आयातमा प्रतिबन्ध लगाउने गरेको थियो।

चीनसँग रुसको व्यापार यसरी बढिरहेको छ. अर्ब अमेरिकी डलरमा. .

गत वर्ष चीन गहुँको विश्वको चौथो ठूलो खरिदकर्ता र जौको सबैभन्दा ठूलो खरिदकर्ता रहेको थियो। रुस दुवै अन्न बालीको धेरै उत्पादन गर्ने देश हो।

हाल कृषि उत्पादन बाहेक तेल, ग्यास र कोइला रुसी वस्तु निर्यातका लागि पनि चीन सबैभन्दा ठूलो एकल बजार हो।

चीन रुसको सबैभन्दा ठूलो कोइला खरिदकर्ता हो र यी दुई देशहरू युक्रेनमा आक्रमण हुनुभन्दा एक साताअघि मात्र २० अर्ब डलर भन्दा बढीको नयाँ सम्झौतामा सहमत भएका थिए।

यद्यपि एउटा क्षेत्रीय साझेदारका रूपमा ईयू रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो।

सन् २०२१ मा रुस र ईयू बीचको कुल व्यापार रुससँग चीनको व्यापारभन्दा झन्डै दोबर थियो।

व्यापार अर्थशास्त्री डा. रेबिका हार्डिङका अनुसार त्यसमा अब परिवर्तन हुन थाल्नेछ।

"प्रतिबन्धका कारण रुस-ईयू व्यापार कम हुनु अपरिहार्य छ। हालको सङ्कटले आपूर्ति विविधीकरणको आवश्यकतालाई ईयूभित्र बहसमा ल्याएको छ," उनले भनिन्। रुसको अमेरिकासँगको व्यापार भने निकै कम छ।

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line

के चीनले थप रुसी इन्धन किन्न सक्छ?

रुसको अर्थतन्त्र तेल र ग्यासको निर्यातमा धेरै निर्भर छ र पछिल्ला प्रतिबन्धहरूले अहिलेसम्म ती क्षेत्रहरूलाई लक्षित गरेका छैनन्।

गत वर्ष रुस चीनको दोस्रो ठूलो तेल र तेस्रो ठूलो ग्यास आपूर्तिकर्ता थियो।

सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार गत वर्ष रुसले चीनमा ४१.१ अर्ब डलर बराबरको तेल र ४.३ अर्ब डलर बराबरको ग्यास आपूर्ति गरेको थियो।

पुटिनले चीनसँग हालै अनुमानित ११७.५ अर्ब डलरको रुसी तेल र ग्यास निर्यातसम्बन्धी सम्झौता गरेका छन्।

यद्यपि अझै पनि रुसी ऊर्जाको सबैभन्दा ठूलो बजार भनेको ईयू नै हो।

तेल प्रशोधन केन्द्र

तस्बिर स्रोत, Getty Images

रुसले अहिले पनि उक्त क्षेत्रमा आवश्यक पर्ने ४० प्रतिशत ग्यास र २६ प्रतिशत तेल आपूर्ति गर्छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को पछिल्लो विवरणअनुसार गत वर्ष तेलसहित रुसी निर्यातको २० प्रतिशत मात्र निर्यात चीनमा भएको थियो।

"रुसबाट तेल र ग्यासको निर्यात [चीनमा] पछिल्ला पाँच वर्षमा वार्षिक ९ प्रतिशतभन्दा बढी दरले बढ्दै गएको छ। यो तीव्र वृद्धि हो तर पनि चीन रुसी तेलका लागि ईयूभन्दा आधाजतिको मात्र बजार हो" हार्डिङले भनिन्।

रुसी प्राकृतिक ग्यासको मुख्य निर्यात गन्तव्य जर्मनीले हालै युक्रेनमाथि भएको हमलाको विरोधमा नोर्ड स्ट्रीम टू ग्यास पाइपलाइन बन्द गर्ने घोषणा गर्‍यो।

रुसबाट हुने ग्यास निर्यात. अर्ब घन मिटर ग्यास आयात गर्ने देश. .

एउटा विश्लेषण अनुसार रुस र चीनबीच सहमति भएको नयाँ पाइपलाइन द पावर अफ साइबेरिया टूमार्फत् हुने आपूर्ति नोर्ड स्ट्रीम टू पाइपलाइनबाट हुने आपूर्ति क्षमताको पाँच भागको एक भाग मात्र हुनेछ।

साइबेरियाबाट नयाँ ग्यास पाइपलाइन कहिले स्ट्रीममा पुग्छ भन्ने पनि स्पष्ट छैन।

तर चीनले हरितगृह ग्यास कटौती गर्ने लक्ष्य पूरा गर्न कोइलामा आफ्नो निर्भरता कम गर्न प्रयासका लागि रूसी ग्यासको आयातलाई अझ बढाउन सक्छ।