युक्रेन द्वन्द्व: पुटिनले हमला गर्ने निर्णय गरिसकेकोमा बाइडन 'विश्वस्त'

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र "आगामी दिनमा" हमला हुनसक्ने बताएका छन्।
उनले अमेरिकी गुप्तचर निकायको सुझावमा आफ्नो विश्लेषण आएको बताएका छन्। उक्त निकायले राजधानी किएभलाई पनि निशाना बनाउन सक्ने उल्लेख गरेको छ।
रुसले आफूले आक्रमणको योजना बनाइरहेको अस्वीकार गरेको छ।
रुसले युक्रेनका टुक्रिएका पूर्वी क्षेत्रमा बनाबटी सङ्कटहरू खडा गरेर त्यसलाई हमला गर्ने कारणका रूपमा प्रस्तुत गर्नसक्ने भय पश्चिमा राष्ट्रहरूको छ।
अमेरिकाले १,६९,००० देखि १,९०,००० रुसी सैनिकहरू युक्रेन 'भित्र र नजिकै' भेला भइरहेको आकलन गरेको छ।
त्यसमा पूर्वी युक्रेनका स्वघोषित डोनिएत्स्क र लुहान्स्क गणतन्त्रहरूमा तैनाथ रुसी समर्थन प्राप्त लडाकुहरूको सङ्ख्या पनि जोडिएको छ।
के भने बाइडनले?
ह्वाइट हाउसबाट गरेको टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले रुसी फौजहरूले युक्रेनमा आगामी दिन वा हप्ताहरूमा आक्रमण गर्ने योजना बनाएको विश्वास गर्ने आधार रहेको बताएका थिए।
राष्ट्रपति पुटिनप्रति सङ्केत गर्दै उनले, "अहिलेको क्षणसम्म आइपुग्दा म विश्वस्त छु कि उनले त्यस्तो निर्णय गरिसकेका छन्।"
यसअघि अमेरिकी राष्ट्रपति र उनका उच्च अधिकारीहरूले यस्तो अवस्था रहे या नरहेको आफूलाई जानकारी नभएको बताउँदै आएका थिए।
तर उनले रुसले अझै पनि कूटनीतिक बाटो रोज्न सक्ने र अहिले पनि तनाव कम गरेर वार्ताको टेबलमा फर्कन ढिला नभइसकेको बताए।
यसअघि शुक्रवार दुईवटा पृथकतावादी क्षेत्रका नेताहरूले युक्रेनले गोलाबारी बढाएको र हमला गरिरहेको भन्दै स्थानीयवासीको उद्धार गर्ने घोषणा गरेका थिए।
मिथ्या विवरणको आरोप
युक्रेनले बारम्बार आफूले आक्रमणको कुनै योजना नबनाएको बताउँदै आएको छ।
युक्रेनी विदेशमन्त्रीले त्यस्ता विवरणलाई "रुसले फैलाएको मिथ्या खबर" को रूपमा चित्रण गरेको छ।
उक्त क्षेत्रमा लाखौँ मानिसहरूको बसोबास छ र उनीहरूको उद्धार अघि बढाउनु एउटा ठूलो जिम्मेवारी हुनेछ।

तस्बिर स्रोत, Anadolu Agency via Getty Images
त्यस्तो सामूहिक उद्धारको सङ्केत मिलेको छैन तर रुसी सरकारी सञ्चार माध्यमले कैयौँ बसहरू चढेर स्थानीय बासिन्दाहरू रुस आएको विवरण प्रकाशित गरेका छन्।
क्रेमलिनले राष्ट्रपति पुटिनले सीमा नजिकै शरणार्थी शिविर स्थापनाका लागि आदेश दिएको जनाएको छ र पृथकतावादी क्षेत्रबाट आउने मानिसहरूलाई 'आपत्कालीन सहायता' उपलब्ध गराउन भनेको जनाइएको छ।
रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा सन् २०१४ यता सशस्त्र विद्रोहलाई समर्थन गर्दै आएको छ। त्यहाँको द्वन्द्वमा १४ हजार भन्दा बढीको ज्यान गइसकेको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले ४८ घण्टा यताका घटनाक्रमले रुसले थप तनाव बढाउन 'झुट्टो उत्तेजना' सृजना गर्ने प्रयास गरेको देखाएको बताए।
शुक्रवार राति युक्रेनको सैनिक गुप्तचर निकायले झुट्टा आक्रमणको तयारीका लागि डोनिएत्स्कका पूर्वाधार क्षेत्रमा विस्फोटक सामग्रीहरू राखिएको सूचना आफूले पाएको जनाएको थियो।
विपक्षीलाई आरोप लगाउने उद्देश्यसहित उक्त कारबाही गर्न लागिएको उसको भनाइ छ।
पूर्वी युक्रेनमा तनाव बढिरहेका विवरण रुसले देशको सीमामा सुरक्षा फौजको तैनाथी बढाएका भन्ने विवरणमाझ आएका छन्।
यसअघि केही दिन पहिले रुसले फौजहरू फिर्ता गर्न लागेको भनिएको थियो।








