युक्रेन सङ्कट: आक्रमण गर्न सक्ने गरी रुसको तयारी कस्तो छ?

हतियार

तस्बिर स्रोत, Getty Images

    • Author, डेभिड ब्राउन
    • Role, बीबीसी न्यूज

रुसले युक्रेनको सीमाबाट आफ्ना सेना फर्काउन थालेको दाबी "मिथ्या" भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन्।

ती अधिकारीले हालैका दिनमा रुसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र "कुनै पनि बेला मिथ्या अवस्था" देखाएर आक्रमण गर्न सक्ने बताएका छन्।

आक्रमणको योजना रहेको विषय अस्वीकार रुसले भने सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको छ।

तर पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन्।

युक्रेनमाथि आक्रमण गर्न सकिने गरी रुसले गरेको तयारी कस्तो छ त?

रुसले बख्तरबन्द, हातहतियार र उपचार सुविधासहित करिब एक लाख ३० हजार सैनिक युक्रेनको सीमा नजिक तैनाथ गरेको छ।

यसमा बेलारुसमा सैन्य अभ्यास गरिरहेका ३०,००० सैनिक पनि समावेश छन्।

अघि बढ्दै फौज

आक्रमणका लागि आवश्यक मुख्य-मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ।

यसमा बख्तरबन्द मर्मत गर्ने वर्कसप, माटो पन्छाउने उपकरण र केही स्थानमा रगतको आपूर्ति सहितका अस्पतालहरू रहेको ठानिएको छ।

केही विश्लेषकहरूले मानिसहरूको चहलपहल र अस्पतालहरूको उपस्थिति आक्रमणको तयारीको सङ्केत भएको बताएका छन्।

आक्रमणको लागि यस्तो सहायता इकाईहरू सबै क्षेत्रमा उपलब्ध भए वा नभएको स्पष्ट हुन सकेको छैन।

ट्याङ्क

तस्बिर स्रोत, Getty Images

रुसका विभिन्न स्थानबाट आएका ३५,००० फौजहरू युक्रेनको सीमामा स्थायी इकाईको रूपमै तैनाथ भएका छन्।

केही नयाँ सैन्य इकाईहरू रुसको सुदूरपूर्वबाट करिब ४,००० माइल यात्रा गरेर युक्रेनको सीमा नजिक आएका छन्।

सबैभन्दा गह्रौँ हतियारहरू युक्रेनको सीमाभन्दा ८० माइल टाढाको कुर्स्क हुँदै रेलबाट ल्याइएका छन्।

अरू साधनहरू कराचेभ क्षेत्र सडक मार्क हुँदै ल्याइएका छन्।

एक लाख ३० हजार सैनिक

यसअघि अधिकांशले युक्रेनको सीमा नजिक तैनाथ भएका रुसी फौजहरूको सङ्ख्या एक लाख भएको आकलन गरेका थिए।

तर बिहीवार पश्चिमा अधिकारीहरूले पुरानो आकलनभन्दा धेरै फौज युक्रेन सीमामा रहेको र त्यसको सङ्ख्या एक लाख ३० हजार पुगेको बताएका छन्।

यूकेका रक्षामन्त्री बेन वालेसले रुसले उसको आधा लडाकु फौज युक्रेनको सीमा नजिक बेलारुसमा तैनाथ गरेको बताएका छन्।

युक्रेनले पनि यस्तै सङ्ख्यामा फौजहरू रहेको जनाएको छ। उसका अनुसार रुसले एक लाख १२ हजार स्थल सेना र १८,००० जल र वायुसेना तैनाथ गरेको छ।

ट्याङ्क

तस्बिर स्रोत, Getty Images

पृथकतावादीको समूह

रुसी सेनाबाहेक युक्रेनको लुहान्स्क र डोनेस्क क्षेत्रमा थप १५,००० भन्दा बढी रुसी पृथकतावादीहरू रहेको अनुमान गरिएको छ।

युक्रेनले यो सङ्ख्या अझै बढी रहेको हुनसक्ने आकलन गरेको छ।

गत डिसेम्बरमा अमेरिकी गुप्तचर मूल्याङ्कनले यस्तो फौजको सङ्ख्या एक लाख ७५ हजार पुग्ने आकलन गरेको थियो।

धेरै विज्ञहरूले युक्रेनमाथि पूर्ण आक्रमणका लागि रुसले अहिले भर्ती गरेकोभन्दा धेरै फौज आवश्यक पर्ने बताएका छन्।

माथिबाट देखिने दृश्य

रुसी सेना

तस्बिर स्रोत, RUSSIAN DEFENCE MINISTRY PRESSS SERVICE/HANDOUT

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले थप सूचना दिन्छन्। सेनाको उपस्थिति कहिलेकाहीँ टेन्टको रङ्गबाट पत्ता लगाउन सकिन्छ।

भरिएको टेन्टमा न्यानो हुने हुँदा तिनका छानामा हिउँ पग्लिएको हुन्छ र माथिबाट हेर्दा त्यो अलि अँध्यारो देखिन्छ।

सैन्य क्षमता भएका गाडीहरू तिनको आकारको आधारमा पहिचान गर्न सकिन्छ। अनि जमिन वा माटोमा टायरको छापले सवारी साधनहरू चलेको सङ्केत गर्छ।

बेलारुसमा सैन्य उपस्थिति

केही हजार रुसी सेना संयुक्त सैन्य अभ्यासका लागि बेलारुस पुगेका छन्।

उक्त अभ्यास फेब्रुअरी १० देखि २० तारिखबीच उत्कर्षमा पुग्नेछ।

बेलारुसका नेता अलेक्सान्डर लुकासेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्छन्।

युक्रेनी सेना

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युक्रेनी सेना

युक्रेनको राजधानी किएभ बेलारुसको सीमाबाट १५० किलोमिटरभन्दा कम दूरीमा अवस्थित छ।

अलाइड रिजल्भ संयुक्त सैन्य अभ्यासले युक्रेनलक्षित अभ्यास गर्ने अवसर प्रदान गर्न सक्ने पश्चिमा पर्यवेक्षकहरू बताउँछन्।

अनलाइन पोस्ट गरिएका तस्बिरमा सैन्य क्षमता भएका गाडीहरू, बख्तरबन्द अनि रकेट सिस्टम सहितका सेनाका सरसामान उक्त क्षेत्रतर्फ लाँदै गरिएको देखिएको दाबी गरिएको छ।

रुसले हवाई प्रतिरक्षा प्रणाली, हातहतियार अनि चिकित्सकीय सहायतासहित आधुनिक एसयू-३५ लडाकु विमान बेलारुसमा तैनाथ गर्ने घोषणा गरेको छ।

समुद्रमा सेना

जलसेना

तस्बिर स्रोत, Russian Defence Ministry

रुसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ। यो महिना सुरु भएको उक्त अभ्यास फेब्रुअरीभरि जारी रहनेछ जसमा :

  • १४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुङ्गाहरू,
  • ६० विमान र
  • १०,००० अधिकारीहरू समाविष्ट छन्।

युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रुसी नौसेनाका छ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्य सागरतर्फ जाँदै छन्।

तर मृतसागर र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ।