युक्रेन तनाव: सम्भावित रुसी कदम पर्खँदै बसेका छन् अग्रमोर्चाका युक्रेनी सैनिक र नागरिक

- Author, ओर्ला गेरिन
- Role, बीबीसी न्यूज,डोनबास, युक्रेन
पूर्वी युक्रेनका अग्रमोर्चाहरू हिउँले भरिएका छन् र ठूला बन्दुकहरू धेरै हदसम्म मौन छन्।
तर लामो दुरीका निशानेबाज सैनिक, स्नाइपरहरू, चिसो सेतो उजाड भूमिमा बिछ्यौनामा पल्टिएझैँ तयारी अवस्थामा बसेका छन्।
प्रथम विश्वयुद्धकालीन शैलीका सुरुङमा बस्न बिर्सिसकेका युक्रेनी सैनिकहरू आफ्नो टाउकोमा गोली लाग्ने जोखिमका साथ तैनाथ भएका छन्।
मस्को समर्थित पृथकतावादीले डोनबास क्षेत्रका केही भाग कब्जा गरेपछि सन् २०१४ देखि यहाँको द्वन्द्व स्थिर छ।
लडाकु र सर्वसाधारण दुवै गरी कम्तीमा १३ हजार मानिसहरू मारिइसकेका छन्।
अहिले पश्चिमी नेताहरूले त्यो भन्दा पनि खराब कुराको चेतावनी दिइरहेका छन्।

उनीहरूका भनाइमा युक्रेनमाथि पूर्णस्तरको रुसी हमला हुनसक्छ।
यदि त्यस्तो भयो भने पूर्वी मोर्चाबाट लडाइँ सुरु गर्न सजिलो हुनेछ किनकि त्यहाँका रुस समर्थक विद्रोहीहरूले त्यसका लागि मार्ग प्रशस्त गर्नेछन्।
मारिया ती सबै कुरालाई लिएर तनाव नलिने प्रयासमा थिइन्।
२६ वर्षीया बोलक्कड र सीधा कुरा गर्ने युक्रेनी सैनिक उनी कलास्निकोभका साथ एउटा सुरुङमा थिइन्।
उनले एकदमै राम्रोसँग हातको नङ्को सिंगार, मेनिक्योर, गरेको स्पष्ट देखिन्छ।

उनी युक्रेनको ५६ औँ इन्फन्ट्री ब्रिगेडको हिस्सा हुन्। (सामाजिक सञ्जालमा ट्रोल हुनबाट रोक्नका निम्ति सेनाले हामीलाई उनको पहिलो नाम नलेख्न आग्रह गरेको छ।)
"म राजनीतिबाट बच्न र टीभी नहेर्न कोसिस गर्छु, म धेरै चिन्तित नहुने प्रयास गर्छु," मारियाले भनिन्।
"तर हामी तयार छौँ। हामीले धेरै तालिम लिएका छौँ। तर मलाई थाहा छ- यो तालिमको अभ्यास जस्तो हुने छैन, यो सबैको लागि कठिन हुनेछ। तर हाम्रो मनोबल उच्च छ र हामी आफ्नो मैदानमा खडा छौँ।"
मारियासँग दाजुभाइहरूको समूहै छ। उनका दुई जना दाईले युक्रेनको राष्ट्रिय गार्डमा सेवा गरेका थिए।
उनको कान्छो भाइ चाँडै नै ट्याङ्क गनरका रूपमा अग्रमोर्चामा जाँदैछन्।
घरमा उनका सेवानिवृत्त आमाबाबुले उनको चार वर्षको छोराको रेखदेख गरिरहेका छन्।
"उसलाई छाड्न धेरै गाह्रो थियो," उनले भनिन्।

"तर म ६ वर्षको हुँदादेखि नै मेरो सपना सेनामा भर्ना हुने थियो। मैले अग्रपङ्क्तिमा पुग्छु भन्ने सोचेको पनि थिइनँ, तर म यहाँ आइपुगेकोमा मलाई कुनै पछुतो छैन।"
मारियाको युद्ध उनको मातृभूमिको भविष्यका लागि हो। तर त्यहाँ युक्रेनको भाग्य भन्दा धेरै नै खतरा हुन सक्छ।
रुसले नयाँ शीतयुद्धमा लडाइँका रेखा कोरिरहेको छ। अहिले समस्याको जड नेटोको भावी रूप र युरोपमा स्थापित सुरक्षा व्यवस्था देखिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्ने "विशिष्ट सम्भावना" रहेको र त्यसो गरेर उसले "विश्वलाई परिवर्तन" गर्ने चेतावनी दिएका छन्।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले चेचन्या र बोस्नियाको जस्तै भयावह अवस्था आउन सक्ने बताएका छन्।
तर बढ्दो अन्तर्राष्ट्रिय चिन्ता र केही युक्रेनीबाट सुनिने कुरा परस्पर बाझिन पुग्छन्।
"मलाई विश्वास लाग्दैन रुसीहरू आउने छन्," पूर्वी युक्रेनकी एकजना सामाजिक कार्यकर्ताले भनिन्।
उनले हामीलाई नाम प्रयोग नगर्न आग्रह गरेकी थिइन्।

"मलाई मेरो आँखा र कानमा विश्वास छ। वास्तवमा यहाँ गत महिनाभन्दा अहिले शान्ति छ। यो केवल एक वाक् युद्ध हो।"
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि 'यहाँ केही पनि देखिँदैन' भन्ने कुरालाई नियमित रूपमा प्रतिध्वनित गरिरहेका छन्।
तर यहाँ केही भने डराएका छन्। "प्रत्येक पल्ट हल्ला सुन्दा मेरो मुटु धड्किन्छ," ६४ वर्षीया लुड्मिला मोमोटले भनिन्।
मस्को र उसका सहयोगीहरूले के गर्न सक्छन् भनेर मोमोटलाई राम्ररी थाहा छ।
नेभिल्स्के गाउँमा रहेको उनको ३० वर्ष देखिको घर गत नोभेम्बरमा पृथकतावादीको गोलाबारीबाट ध्वस्त भएको थियो।
हामीलाई भग्नावशेष देखाउन उनी अहिले उजाड बस्ती बनेको नेभिल्स्केमा फर्किइन्।
"यो एउटा घाउ हो र यो मेरो बाँकी जीवनभरि दुखिरहनेछ," आँसु बगाउँदै उनले भनिन्।
त्यसबेला उनले पहिले घरको मूल ढोका रहेको स्थानमा परेको भ्वाङलाई एक टकले हेरिरहेकी थिइन्।
"मैले कट्टु मात्रै लगाएको अवस्थामा भग्नावशेषमा बामे सर्नुपर्यो। मेरो खुट्टा रगतले लतपतिए। यो युद्धको आठौँ वर्ष हो, हामीले यस्तो कहिलेसम्म सहनु पर्ने हो?"
भ्लादिमिर पुटिनको अन्तिम खेल अस्पष्ट छ।
उनले युक्रेनी सिमानामा करिब एक लाख सेना तैनाथ गरेका छन्। त्यो नेटो पूर्वतर्फ नआओस् भनेर पनि हुनसक्छ वा आक्रमण गर्न अथवा अर्को देशको भाग कब्जा गर्न पनि हुनसक्छ।
एउटा सम्भावित अवस्था भनेको सीमित घुसपैठ हुनसक्छ। त्यसका लागि केवल पूर्वी युक्रेनमा सेना पठाइन सक्छ।
क्रेमलिनले सम्भवतः उनीहरूलाई "शान्ति सेना"का रूपमा प्रस्तुत गर्ने प्रयास गर्नेछ।
रुसी राहदानीधारीको रक्षार्थ आफूले त्यसो गरेको भन्न सक्छ।
मस्को पृथकतावादी नियन्त्रित क्षेत्रमा लाखौँ राहदानी जारी गर्न व्यस्त छ।
युक्रेनी सेनाहरू रुसी हमला भएमा सन् २०१४ मा क्राइमियाली प्रायद्वीपलाई गाभे जस्तो सहज नहुने बताउँछन्।
"हामी यस पटक उत्कृष्ट रूपमा तयार छौँ," पूर्वी युक्रेनमा तैनाथ सिपाही आल्योनाले भनिन्।
"मलाई शङ्का छ- रुसीहरूले आक्रमण गर्नेछन्। तिनीहरू आतङ्क सिर्जना गर्न र त्यसलाई लाभको रूपमा प्रयोग गर्न चाहन्छन्," उनले भनिन्।
मस्कोले आक्रमण हुने छैन भन्ने दावी गरिरहेको छ। तर स्थलगत रूपमा आक्रमण नभए पनि क्षति भने पहिले नै भइसकेको छ।
सम्भावित आक्रमण बारेको चिन्तायुक्त अन्तर्राष्ट्रिय 'कोरस गायन'ले यो विशाल र पश्चिममुखी राष्ट्रलाई अस्थिर बनाउँदैछ।
आफूले लालसा राखेको छिमेकी राज्यलाई कमजोर बनाएर र अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना प्रत्येक शब्दमा अल्झाउन बाध्य पारेर राष्ट्रपति पुटिनले एक गोली पनि नचलाई एउटा युद्ध त जितिसकेका छन्।
तर धेरै पश्चिमी नेताहरूलाई के चिन्ता छ भने- उनी त्यतिबाट मात्र सन्तुष्ट पक्कै हुने छैनन्।










