रुस-युक्रेन तनावः रुसी राष्ट्रपति भ्लादिभिर पुटिन के चाहन्छन्?

बेलारुसमा हजारौँ रुसी सेना अभ्यासरत छन्

तस्बिर स्रोत, EPA/Russian Defence Ministry

    • Author, पल किर्बी
    • Role, बीबीसी न्यूज

के रुसी फौजहरू युक्रेनमा युद्ध गर्नका लागि तयार भइरहेका छन्?

युक्रेनसँग जोडिएका सीमा नाकामा आफ्ना करिब एक लाख ३० हजार फौज तैनाथ भइरहँदा रुसले पश्चिमा देशबाट सुरक्षाको सुनिश्चितता खोजिरहेको छ।

रुसले जुनसुकै बेला पनि हमला गर्नका लागि आफ्ना फौजहरू तयारी अवस्थामा राखेको अमेरिकाले बताइरहँदा रुसले त्यसलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

अब त्यहाँ हुने घटनाक्रमले युरोपको समग्र सुरक्षा संरचनालाई जोखिममा पार्न सक्छ।

आक्रमणको जोखिम कति ठूलो छ?

युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको कुरामा रुस अडिग रहिआएको छ।

रुसी गुप्तचर निकायका प्रमुख सर्गेई नरिस्किनले अमेरिकाले फैलाइरहेको "खतरनाक झूट"को निन्दा गरेका छन्।

तर रुसले सन् २०१४ मा युक्रेनमाथि अतिक्रमण गरेको र उसको भूमि आफूमा गाभेको पृष्ठभूमिमा त्यो धम्कीलाई गम्भीर रूपमा लिइँदै छ।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिवले द्वन्द्वको जोखिम वास्तविक रहेको चेतावनी दिएका छन्।

रुसले जतिबेला पनि अतिक्रमण गर्नसक्ने अमेरिकाले बताउँदै आएको छ।

यद्यपि त्यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के निर्णय गरेका छन् भन्नेबारे केही थाहा छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनका उच्च सैन्य अधिकारी जेनरल मार्क मिलीले रुसी फौजको हमलाले ठूलो स्तरमा हताहती निम्त्याउन सक्ने र सहरी क्षेत्रमा डरलाग्दो लडाइँ हुन सक्ने चेतावनी दिएका छन्।

अग्रपङ्क्तिमा देखिएका युक्रेनी राष्ट्रपति

तस्बिर स्रोत, EPA

युक्रेनी राष्ट्रपतिले "त्रास" नफैलाउन पश्चिमा देशहरूलाई अपिल गरेका छन्।

रुसले युक्रेनी सीमानजिक अनुमानित एक लाख फौज तैनाथ गरेको छ भने सीमादेखि १,०८४ किलोमिटर टाढा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासरत छन्।

रुसले युक्रेनलाई किन धम्काइरहेको छ?

रुसले लामो समयदेखि नेटो र युरोपेली सङ्घप्रति युक्रेनी कदमको विरोध गर्दै आएको छ।

उसको अहिलेको मुख्य माग भनेको युक्रेन नेटोमा आबद्ध नहुने कुराको सुनिश्चितता पश्चिमा देशहरूले गर्नुपर्ने रहेको छ।

हुन त युक्रेनी सीमा ईयू र रुस दुवैसँग जोडिएको छ। तर पूर्वसोभियत गणतन्त्रसँग उसको गहिरो सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ।

नेटोबाट रुस के चाहन्छ?

राष्ट्रपति पुटिनका अनुसार युक्रेन नेटोमा आबद्ध भयो भने उक्त गठबन्धनले क्राइमियामाथि पुनः नियन्त्रण कायम गर्ने प्रयास गर्न सक्छ।

रुसलाई समर्थन गर्ने तत्कालीन राष्ट्रपति सन् २०१४ को सुरुतिर पदच्युत भएपछि मस्कोले क्राइमियालाई आफूमा गाभेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, शान्तिका लागि गाइरहेको युक्रेनी युवाको सङ्गीत समूह

नेटोले युक्रेनमा अस्त्रहरू पठाइरहेको र रुसी विकासलाई रोक्न अमेरिकाले तनाव बढाइरहेको मस्कोको आरोप छ।

नेटो सन् १९९७ अघिका सीमामा फर्कियोस् भन्ने रुस चाहन्छ।

नेटो पूर्वतर्फ नबढ्न नहुने र पूर्वी युरोपमा उसका गतिविधि बन्द हुनुपर्ने उसको माग छ।

त्यसको अर्थ पोल्यान्ड तथा इस्टोनिया, लाट्भिआ र लुथिआनियाबाट कम्ब्याट एकाइहरू हटून् अनि पोल्यान्ड र रोमानियाजस्ता देशमा क्षेप्यास्त्र तैनाथ नगरियोस् भन्ने हो।

के रुसी कदम रोकिएला?

अमेरिकी राष्ट्रपति बाइडन र फ्रेन्च राष्ट्रपति एम्यानुअल माक्रोँसँग भएका कैयौँ वार्तामा पुटिनले आफू तनावको स्रोत नबन्ने प्रतिबद्धता जनाएका छन्।

तर प्रश्न यो छ कि रुसले के सम्म गर्ला।

सीमापार चालिने जुनसुकै कदम नयाँ आक्रमण सरह हुने ह्वाइट हाउसले बताउने गरेको छ।

टेलिफोन वार्ता

तस्बिर स्रोत, Reuters

तर रुसले साइबर हमला र अर्धसैनिक रणनीतिहरूलगायत अरू अस्त्रहरू आफूसँग रहेको सङ्केत गर्ने गरेको छ।

गत ज्यानुअरीमा ७० वटा युक्रेनी सरकारी वेबसाइटहरू नचल्दा साइबर हमलामा आफ्नो हात रहेको रुसले अस्वीकार गरेको थियो।

कस्तो सम्झौता हुनसक्छ?

सम्भावित सहमतिले पूर्वी युक्रेन युद्ध र बृहत् सुरक्षा मुद्दा दुवैलाई समेट्नुपर्ने हुन्छ।

सन् २०१४ र २०१५ को मिन्स्क शान्ति सम्झौताहरूलाई ब्युँताउने विषयमा रुस, युक्रेन, फ्रान्स र जर्मनी सम्मिलित वार्ताहरूबाट अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन।

सम्झौताका शर्तहरूलाई लिएर युक्रेन खुशी छैन।

उसलाई लाग्छ त्यसबाट रुस र पृथकतावादीहरूको हात माथि परेको छ।