तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमसीसी नेपाल: 'भ्रष्टाचार र बाह्य प्रभावले नेपालको निर्णयलाई प्रभावित पारे त्यो चिन्ताजनक' हुने अमेरिकी चेतावनी
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी नेपाली
अमेरिकाले बाह्य प्रभाव र भ्रष्टाचारले अमेरिकी सहायता परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे नेपाली निर्णय प्रभावित पारे त्यसले नेपाल-अमेरिका सम्बन्धमा असर पार्ने चेतावनी दिएको छ।
दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुले बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन र प्रमुख विपक्षी दलका नेतासँग एमसीसी अनुमोदनमा भइरहेको ढिलाइप्रति चासो प्रकट गरेका विवरण आएका थिए।
त्यसबारे प्रतिक्रिया माग्दा काठमाण्डूस्थित अमेरिकी दूतावासकी प्रवक्ताले भनिन्, "संयुक्त राज्य अमेरिकासँग आफूले हस्ताक्षर गरेको दायित्व पूरा गर्ने वा त्यसबाट पछि हट्ने छनौट नेपाल सरकारले गर्दा त्यसले कुनै पनि द्विपक्षीय कूटनीतिक सम्बन्धमा प्रभाव पार्नेछ।"
"यदि बाह्य प्रभाव र भ्रष्टाचारका कारण यी निर्णयहरू गरिएका हुन् भने हामीलाई लाग्छ कि त्यो ज्यादै चिन्ताजनक घटनाक्रमहरू हुनेछन् र नेपाली जनताका लागि क्षति हुनेछ।"
एमसीसी सम्झौतालाई संसद्मा प्रस्तुत गर्ने विषयमा सत्ता गठबन्धनमा विवाद चुलिएको बेला अमेरिकाको तर्फबाट पछिल्लो धारणा आएको हो।
'सार्वभौम निर्णय हुनुपर्छ'
नेपाललाई झन्डै ६० अर्ब रुपियाँ अनुदान दिने प्रतिबद्धतासहित दुई देशबीच सन् २०१७ मा भएको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने विषयलाई लिएर सत्तापक्षीय दलहरूबीच गम्भीर मतभेद देखिएको छ।
केही दिन पहिले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मध्य फाल्गुनसम्ममा एमसीसीलाई संसद्बाट अनुमोदन गराउने प्रतिबद्धता जनाउँदै एमसीसीका उच्च अधिकारीहरूलाई पठाएको संयुक्त पत्र बाहिर आएपछि उक्त विषय राष्ट्रिय राजनीतिको केन्द्रमा छ।
प्रधानमन्त्री देउवा त्यसलाई संसद्मा प्रस्तुत गर्ने प्रयासमा रहेको बताइएको छ।
तर परिमार्जनबिना उक्त सम्झौता अनुमोदन गर्न नसक्ने धारणा राखेका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले चुनावपछि मात्रै एमसीसीबारे निर्णय लिइनुपर्ने बताइरहेका छन्।
अमेरिकी दूतावासकी प्रवक्ताले एमसीसीबारे गरिने जुनसुकै निर्णय नेपाल एक्लैको सार्वभौम निर्णय हुनुपर्नेमा जोड दिएकी छन्।
उनले भनिन्, "नेपाली सरकार र नेताहरूले एमसीसी अनुमोदन गर्ने या नगर्ने एउटा प्रजातान्त्रिक मुलुकको हिसाबले नेपालले र मात्रै नेपालले गर्नुपर्ने सार्वभौम निर्णय हो।"
प्रधानमन्त्री र प्रमुख नेतालाई फोन
सत्ता गठबन्धनका दलबीच विवाद र प्रमुख विपक्षी दल एमाले एमसीसीबारे मौन बसिरहेको अवस्थामा लुले बिहीवार प्रधानमन्त्री र अन्य नेतालाई टेलिफोन गरेका थिए।
उक्त संवादमा उनले एमसीसीका विषयमा नेपालले गर्ने निर्णयले नेपाल र अमेरिकाबीचको भावी सम्बन्धलाई असर पार्ने धारणा राखेको बताइन्छ।
सत्ता गठबन्धनमा सहमति नहुँदा प्रतिनिधिसभाको बैठक आगामी सोमवारसम्मका लागि स्थगित गरिएको छ।
प्रधानमन्त्रीको दल नेपाली काँग्रेसको बैठकमा नेताहरूले संसद्भित्रै एमसीसीलाई बहस गराएर एउटा निर्णयमा पुग्नुपर्ने धारणा राखेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच राजनीतिक सहमति जुटेपछि मात्रै उक्त सम्झौतालाई संसद्मा पेस गर्न सकिने धारणा राख्दै आएका विवरण आएका छन्।
तर एमसीसी अनुमोदन गर्न पहल गर्ने प्रतिबद्धता सहित प्रधानमन्त्री र प्रचण्डले लेखेका पत्र सार्वजनिक भएयता भने सभामुखले उक्त विषयमा सार्वजनिक टिप्पणी गरेका छैनन्।
यसै साता सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी आबद्ध सङ्गठनले एमसीसी अनुमोदनको विपक्षमा आन्दोलन गर्ने निर्णय गरेको छ।
मुख्य गरी वामपन्थी दलहरूबाट एमसीसीका प्रावधानको विरोध भइरहेकाले कतिपयले यसमा चीनको भूराजनीतिक चासो जोडिएको हुनसक्ने धारणा राख्ने गरेका छन्।
कूटनीतिक सम्बन्ध बिग्रने चिन्ता
विद्युत् प्रसारण लाइन र सडक निर्माणका लागि अमेरिकाले झन्डै ६० अर्ब रुपियाँ उपलब्ध गराउने एमसीसी अनुदान हालसम्म नेपालले प्राप्त गर्न लागेको सबैभन्दा ठूलो वैदेशिक सहयोग हो।
संसद्बाट अनुमोदन भएपछि मात्रै उक्त सम्झौता कार्यान्वयनमा आउनेछ।
यो वर्ष नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको छ।
तर एमसीसी सम्बन्धी पछिल्लो विवादले नेपालको एउटा पुरानो विकास साझेदारसँगको सम्बन्धमा गतिरोध निम्त्याउने जोखिम देखिएको कतिपय परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।