तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अनीरा कबीर: ‘इच्छा मरण’को निवेदनले सनसनी मच्चाउने भारतीय पारलैङ्गिक व्यक्ति
- Author, शरण्या ऋषिकेश
- Role, बीबीसी न्यूज, दिल्ली
गत वर्ष नोभेम्बरमा अनीरा कबीर जागिरका लागि दुई महिनाबीच दिएको १४औँ अन्तर्वार्तामा टोपी, अनुहार लुकाउने मास्क र पुरुषका पहिरन लगाएर सहभागी भइन्।
३५ वर्षीय यी पारलैङ्गिक महिलाका भनाइमा उक्त कदम त्यस अघिका अन्तर्वार्तामा सामना गर्नुपरेका पारलैङ्गिक व्यक्तिप्रति हेय भाव राखेर गरिने टिप्पणीबाट उत्पन्न निराशाको परिणाम थियो।
उनले दक्षिणी भारतीय राज्य केरलाको सरकारी विद्यालयमा आंशिक कर्मचारीका रूपमा जागिर पाइन्।
तर त्यहाँबाट पनि दुई महिनाभन्दा कम समयपछि आफूलाई अन्यायपूर्ण तरिकाले बर्खास्त गरिएको उनको आरोप छ।
उक्त विद्यालयका प्रधानाध्यापकले यसबारे टिप्पणी गर्न अस्वीकार गरे। जिल्ला अधिकारी पी कृष्णनले ती प्रधानाध्यापकसँग उक्त मामिलालाई लिएर कुराकानी गरेको बताएका छन्।
विद्यालयका प्रधानाध्यापकले कबीरलाई बर्खास्त नगरिएको बरु परिस्थितिलाई ती पारलैङ्गिक महिलाले "गलत अर्थमा लिएको" जानकारी दिएका छन्।
अन्य कुनै विकल्प नभएपछि ज्यानुअरीमा कबीरले उक्त राज्यको कानुनी सहायता सेवाको ढोका ढकढक्याउन पुगिन्।
उनी एक वकिलमार्फत इच्छा मृत्युको निवेदन दिन चाहन्थिन्।
कबीर भन्छिन्, "म काम गरेर जीविकोपार्जन गर्न चाहन्थेँ। तर त्यसो गर्न पनि असम्भव भयो।"
उनले इच्छा मृत्युलाई अनुमति दिने देशहरूबारे पढेकी थिइन्। तर भारतले अप्रत्यक्ष इच्छा मृत्युलाई मात्र अनुमति दिन्छ।
"मैले कानुनी अनुमति पाउने छैन भन्ने मलाई थाहा थियो। तर म सन्देश प्रवाह गर्न चाहन्थेँ," उनी भन्छिन्।
खासमा उनी राज्यको ध्यानाकर्षण गर्न चाहन्थिन् र त्यो उनले गर्न सफल भइन् पनि।
सरकारले उक्त मामिलामा तुरुन्तै कदम चाल्यो र अहिले उनले अर्कै एउटा जागिर पाइसकेकी छन्।
विरोध… र प्रतिज्ञाहरू
आफ्नो ज्यान लिने उनको कुनै आकाङ्क्षा थिएन न त जे गरिन् त्यो अरूका लागि उदाहरण होस् भन्ने उद्देश्य नै थियो। त्यो कुरामा कबीर स्पष्ट छिन्।
विरोधका यस्ता नाटकीय रूपहरू भारतमा असामान्य भने होइनन्।
वर्षौँदेखि न्याय वा प्रणालीगत सुधार खोज्ने भारतीयहरूले भोक हडताल गरेका छन्, कैयौँ दिनसम्म कम्मरसम्म पानीमा डुबेर उभिएका छन् र मुखमा जिउँदो मुसा समेत राखेका छन्।
समाजशास्त्रीहरूका बुझाइमा यस्ता विरोधका शैलीले महात्मा गान्धीको अहिंसात्मक अवज्ञाको विरासतलाई थामेका छन्।
हैदरावाद विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गर्ने अनघा इंगोले कबीरले गरेका जस्ता कार्यहरूले सरकारलाई आफ्ना वाचाहरू पूरा गर्न असफल भएको स्मरण गराउने बताइन्।
"यो घटनामा नागरिकको काम गर्ने अधिकार रक्षा गर्नुपर्ने आफ्नै औपचारिक वाचाबाट राज्य चुक्यो," इंगोले भनिन्।
उनले सामाजिक भेदभावका मुद्दाहरूमा धेरै काम गरेकी छन्। भारतमा करिब २० लाख पारलैङ्गिक मानिसहरू रहेको अनुमान छ।
यद्यपि अधिकारकर्मीहरू यो सङ्ख्या अझै बढी हुनसक्ने बताउँछन्।
सन् २०१४ मा भारतको सर्वोच्च अदालतले पारलैङ्गिक व्यक्तिहरूको पनि अन्य लिङ्गका मानिसहरूको जस्तै अधिकार भएको भन्ने आदेश दिएको थियो।
तर उनीहरूले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउन अझै सङ्घर्ष गरिरहेका छन्।
धेरैले अहिले पनि भिख मागेर वा यौन कार्यका माध्यमबाट जीविकोपार्जन गर्न बाध्य छन्।
कबीर पारलैङ्गिक समुदायलाई राजनीतिक प्रतिनिधित्व र रोजगारीका लागि आरक्षित कोटा चाहिने बताउँछिन्।
उनले भनिन्, "म यस्तो कडा कदम चाल्न चाहन्न थिए तर मसँग के छनोटका लागि के थियो त?"
आफैँ बन्ने कोसिसको लडाइँ
मध्य केरलाको पलक्कड जिल्लामा हुर्केकी कबीरले जन्मका बेला आफूलाई दिइएको लिङ्ग पहिचानलाई परिवर्तन गरी आफ्नो वास्तविक लिङ्ग बाहिर ल्याउन वर्षौँ सङ्घर्ष गर्नुपरेको थियो।
उनी आफ्नो परिवारको बारेमा बोल्न चाहिनन्। उनका भनाइमा उनको परिवार हालै भएको भाइको मृत्युको शोकबाट अझै बाहिर आएको छैन।
उनले पलक्कडमा अन्य ट्रान्सजेन्डरहरूलाई खोज्ने प्रयास गर्दा कबीर किशोरी नै थिइन्।
तर त्यस्तै एउटा प्रयासमा उनको गिरफ्तारी भयो। त्यसपछि उनी रोकिइन्।
एउटा अखबारमा ट्रान्सजेन्डरको फोटो देखेपछि उनी घरबाट भागेर बैङ्गलोर सहर पुगेकी थिइन्।
त्यहाँ उनले एउटा सहयोगी ट्रान्सजेन्डर समुदाय भेट्टाइन् र उक्त समुदायले उनलाई स्वीकार पनि गर्यो।
तर उनीहरूको जीवन कठिन थियो। त्यहाँका पारलैङ्गिक व्यक्तिमध्ये धेरैले लिङ्ग परिवर्तन वा पुन:स्थापित गर्ने शल्यक्रियाको लागि पैसा जुटाउन वर्षौँसम्म भिख मागे।
निराश भएकी कबीर घर फर्किइन्। "मैले मेरो परिवारले चाहेको जस्तो जीवन जिउन धेरै प्रयास गरे," उनी भन्छिन्।
उनका आसपासका मानिस उनलाई एक पुरुष बनाउन चाहन्थे। त्यसका लागि चुरोट पिउनु, व्यायामशालामा जानु र व्यक्तित्व विकास अन्य कुराहरू गर्नुपर्ने हुन्थ्यो।
तर कसैलाई देखाएर वा बहाना बनाएर उनले आफूलाई दु:खी बनाइनन्।
उनले कडा मेहनत गरेर अध्ययन पनि गरिन्। उनलाई सानैदेखि पढाउने जोस थियो र आफ्नो छिमेकका बच्चाहरूलाई पढाउने गर्थिन्।
अन्ततः आफूले चाहेको जीवन बिताउन घर छोडेपछि पनि त्यसलाई उनले निरन्तरता दिइन्।
कबीरले अहिलेसम्म तीन वटा विषयमा स्नातकोत्तर गरिसकेकी छन्। त्यसमा एउटा शिक्षा विषय पनि हो।
उनले राज्य स्तरीय एउटा परीक्षामा उत्तीर्ण गरेकी छिन् त्यसले उनलाई माथिल्लो कक्षाका विद्यार्थीलाई पढाउन अनुमति दिन्छ।
तर जागिरका लागि दिइएका अन्तर्वार्तामा उनले असहज प्रश्नहरूको सामना गर्नुपर्यो।
एक जना अन्तर्वार्ताकारले उनलाई "तिमीले कसरी विद्यार्थीलाई यौनिक आँखाबाट हेर्दैनौँ भनेर विश्वास गर्ने" भनेर पनि प्रश्न गरे।
उनी भन्छिन्, "मलाई जुन कामको लागि पास गरियो त्यसका लागि त मेरो योग्यता धेरै माथिको थियो।"
उनलाई अन्ततः समाजशास्त्र विषय पठाउने कनिष्ठ शिक्षकको रूपमा अस्थायी दरबन्दीमा नियुक्ति दिइयो।
त्यसपछि उनले आफ्नो लैङ्गिक वास्तविकता विद्यालयका अधिकारीलाई बताइन्।
"मैले उनलाई म ट्रान्स महिला हुँ भनेँ र अन्तर्वार्तामा त्यस्तो हुलिया अर्थात् पुरुषको भेषमा उपस्थित भएकोमा माफी मागेँ। जागिरविना म भाडा तिर्न पनि नसक्ने अवस्थामा रहेको बताएँ," उनले भनिन्।
उनका आरोपमा गत नोभेम्बरमा पढाउन थालेपछि उनले सहकर्मीबाट आउने विभिन्न खाले टिप्पणीको सामना गर्नुपर्यो तर विद्यार्थीहरूले त्यस्तो गरेका थिएनन्।
कबीरका अनुसार उनलाई गत ६ ज्यानुअरीमा अचानक विद्यालय नआउन भनियो। आफ्नो बर्खास्तकी नियम विपरीत भएको उनको आरोप छ।
जागिर नभएपछि चिन्तित बनेकी उनले विद्यालय नजिकैको एउटा पसलमा गएर काम पनि मागिन्। तर उनी उनले काम पाउन सकिनन्।
त्यसपछि मात्र उनले कानुनी सहायता लिन खोजेकी हुन्।
उक्त समाचार भाइरल बन्यो।
त्यसपछि केरलाका शिक्षामन्त्रीले तुरुन्तै त्यसलाई सम्बोधन गर्ने तत्परता देखाए।
उनले कबीरलाई भेटे र पलक्कडको एउटा सरकारी कार्यालयमा कबीरले अहिले अर्को अस्थायी जागिर सुरु गरेकी छन्।
अरू अझै पनि उनीजस्ता धेरै पारलैङ्गिक व्यक्तिहरू सहयोगको पर्खाइमा छन्।
न्यायका लागि लामो बाटो
सन् २०१८ मा शानवी पोनुस्वामीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई इच्छा मृत्युको माग गर्दै पत्र लेखिन्।
अघिल्लो वर्ष उनले एयर इन्डियाले पारलैङ्गिक कर्मचारी भर्ना गर्ने नीति नभएको भन्दै अस्वीकार गरेपछि देशको सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्।
उक्त विमान कम्पनी र सरकारले महिनौँसम्म उक्त निवेदनको जवाफ दिएनन्।
पछि कम्पनीले मुद्दालाई "व्यर्थको" भन्यो र उल्टै मानहानिको मुद्दा हाल्ने धम्की दियो।
त्यसपछि उनले राष्ट्रपतिलाई पत्र लेखिन्। तर त्यसपछि पनि केही परिवर्तन नभएको उनको भनाइ छ।
उनले एयर इन्डियाबाट कहिल्यै पनि कुनै प्रतिक्रिया पाइनन्।
एयर इन्डियालाई अहिले निजी कम्पनीले खरिद गरेको छ र उनले जागिर पाउने आशा अझ कमजोर बनेको छ।
यद्यपि उनले मद्रास उच्च अदालतमा अहिलेसम्म आफूले गरेको कानुनी खर्चको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छिन्।
"यदि प्रणाली नै यस्तो छ भने हामी जस्ता मानिसहरू कसरी बाँच्ने?" उनी प्रश्न गर्छिन्।