राष्ट्रिय सभा निर्वाचनः लगभग सबै सिटमा सत्ता गठबन्धनको जित

तस्बिर स्रोत, RSS
राष्ट्रिय सभाका १९ सिटका लागि बुधवार भएको चुनावमा लगभग सबैमा सत्तारूढ गठबन्धनले जित हात पारेको छ।
निर्वाचन आयोगले बुधवार साँझ सार्वजनिक गरेको परिणाम अनुसार गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका हुन्।
रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित 'क्लस्टर'सँग सम्बन्धित रहेका थिए।
हरेक दुई दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गर्छन्।
कति उम्मेदवार थिए?
यसपालि १९ पदका निम्ति ९ दलका ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।
आगामी फागुन २० गते कार्यकाल सकिने राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका ८ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, नेकपा माओवादी केन्द्रका ४ जना र नेपाली काँग्रेसका ३ जना रहेका छन्।
यो निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले तालमेल गरेर उम्मेदवार अगाडि सारेका थिए।

तस्बिर स्रोत, RSS
त्यस अनुसार काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवार उठाएका थिए।
को निर्वाचित भए?
निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र नेपाली काँग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन्।
मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपा नेपालका मोहम्मद खालिद निर्वाचित भएका छन्।
बाग्मती प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना र नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्।
गण्डकी प्रदेशबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर चुनिएका छन्।
लुम्बिनीबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली काँग्रेसका युवराज शर्मा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ्, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा चुनिएका छन्।
सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, नेकपा माओवादी केन्द्रका जगतबहादुर पार्की र नेपाली काँग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका छन्।
विगतमा जस्तै गठबन्धनबीचको तालमेलका कारण प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभामा सिटहरू गुमाउनुपर्यो।
तालमेल एमालेका लागि झट्का
विगतमा गठबन्धनका दलबीच तालमेल भएकै कारणले एमालेले चार वटा प्रदेशका मुख्यमन्त्रीहरू गुमाएको थियो।
त्यहाँ अहिले सत्ता गठबन्धनका नेताहरूले प्रदेश सरकार चलाइरहेका छन्।
यसअघिको राष्ट्रिय सभा चुनावमा पनि एमालेलाई तालमेलले असर गरेको थियो।
अहिलेको गठबन्धनलाई अबको एक वर्षभित्र गर्ने भनिएको स्थानीय, प्रदेश र सङ्घीय सरकारका चुनावहरूसम्म निरन्तरता दिनुपर्ने पक्षमा कतिपय सत्ता साझेदार दलका नेताहरूले बताइरहँदा राष्ट्रिय सभा चुनावको पछिल्लो परिणाम आएको हो।
यस निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष अनि नगरपालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ जना मतदाता रहेका थिए।
प्रदेश सभा सदस्यको मत भार ४८ र स्थानीय तहका प्रमुखको मत भार १८ निर्धारण गरिएको थियो।
सात वटै प्रदेशमा गरी १४ वटा मतदान केन्द्र बनाइएको र कोरोनाभाइरस सङ्क्रमण सर्ने जोखिम नहुने गरी मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।








