राष्ट्रिय सभा उपनिर्वाचनः लुम्बिनी प्रदेशबाट निर्वाचित दृगनारायण पाण्डे को हुन्

- Author, माधव नेपाल
- Role, बुटवल
लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको लागि सोमवार भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनवाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्।
निर्वाचन कार्यालयका सूचना अधिकारी गहेन्द्र कुँवरका अनुसार पाण्डेले ४,१४० मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३,६१२ मतभार प्राप्त गरेका थिए।
प्रदेश सदस्यको एक र स्थानीय तहको एक गरी कुल दुई मत बदर भएको छ।
नेपाली काङ्ग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन थियो भने खड्कालाई नेकपा एमाले र महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी नेपालको समर्थन थियो ।
कुल ३०० मतदाता रहेकोमा २९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
पहिला नेकपामा रहेका पाण्डे हालै मात्र लुम्बिनी प्रदेशको सांसदबाट राजीनामा दिई नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
उनी २०७४ सालको निर्वाचनमा सूर्य चिन्ह लिएर उम्मेदवार बनी कपिलवस्तुको निर्वाचन क्षेत्र २ (१) वाट प्रदेशसभामा निर्वाचित भएका थिए।
यसअघि माओवादी केन्द्रवाट राष्ट्रिय सभाका सदस्यमा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।

तस्बिर स्रोत, RSS
को हुन् दृगनाराण पाण्डे?
नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा लागेका उनी २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा मात्र एमालेको टिकट लिन सफल भएका थिए ।
उनी २०५४ सालको स्थानीय निर्वाचनमा कपिलवस्तुको तत्कालीन महाराजगन्ज गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए।
वैशाख १९ गते प्रदेशसभा सदस्यवाट राजीनामा दिएर पाण्डे फेरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए।
उनले राजीनामा दिएका कारण प्रदेशसभाको उक्त सीट अहिले रिक्त नै छ।

तस्बिर स्रोत, Ganesh Oli








