कोभिड नेपाल: थप पाँच हजार जनाभन्दा बढीमा कोरोना भाइरस, अहिले काठमाण्डू उपत्यकामा झन्डै ११ हजार जनामा सक्रिय सङ्क्रमण

खोप

तस्बिर स्रोत, EPA

नेपालमा थप ५,०८७ जनामा कोभिड भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा २०,५६० वटा नमुना परीक्षण गरिएकामा करिब २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये पीसीआर विधिबाट झन्डै साढे १३ हजार जनाको परीक्षण गर्दा ३१ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो।

विगत एक सातामा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण लगभग पाँच गुनाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाउँछ।

सबैभन्दा बढी सङ्क्रमण भने २१ देखि ३० र ३१ देखि ४० वर्षको उमेर समूहका मानिसमा देखिएको छ।

पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ।

अधिकारीहरूले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन्।

उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित. देशभरि १८ हजारभन्दा बढी मानिसमा सक्रिय कोभिड, तीमध्ये उपत्यकाका आधाभन्दा बढी. पौष ३० गते शुक्रवार अपराह्णसम्मको विवरण.

के छ तथ्याङ्क?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोभिड-१९ सम्बन्धी विवरणमा अहिले देशभरि १८ हजार जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा भएको उल्लेख छ।

अहिले काठमाण्डू उपत्यकामा १०,८११ जना निको हुन बाँकी सङ्क्रमित छन्।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. नेपालमा कोभिड-१९. पौष १२ गतेदेखि दैनिक पुष्टि भएको सङ्क्रमितको सङ्ख्या.

मन्त्रालयका अनुसार अहिले आईसीयूमा १११ जना र भेन्टिलेटरमा २५ जना बिरामी छन्।

विगत २४ घण्टामा १,९१३ जना काठमाण्डूमा, ३७७ जना ललितपुरमा र ३१७ जना भक्तपुरमा नयाँ सङ्क्रमित थपिएका छन्।

कस्तो छ सङ्क्रमण विस्तारको प्रवृत्ति

एक हप्ताअघि १० वर्ष मुनिको उमेर समूहका ११ बालबालिकामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसैगरी ११ देखि २० वर्षको उमेर समूहमा ५६ जना सङ्क्रमित थपिएका थिए।

तर शुक्रवारसम्म आइपुग्दा २४ घण्टाको अवधिमा थपिएका १० वर्षमुनिका बालबालिकाको सङ्ख्या ६१ छ। त्यसबाहेक ११ देखि २० वर्षको उमेर समूहका ३५१ जना सङ्क्रमित थपिएका छन्।

केही समय अघिबाट मात्रै सरकारले खोपको दायरा विस्तार गर्दै १२ वर्षभन्दा माथिका किशोरकिशोरीलाई पनि खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

नेपालमा कोभिड. बालबालिका र किशोरकिशोरीमा पनि सङ्क्रमण बढ्दो. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रकाशित गर्ने तथ्याङ्कमा आधारित.

हेटौँडा अस्पतालमा कार्यरत बालरोगसम्बन्धी चिकित्सक डा. राजु सेढाईँ बच्चामा खोपको उपलब्धता नभएका हुनाले पनि सङ्क्रमण बढी देखिएको हुनसक्ने बताउँछन्।

उनले भने, "सार्नेहरू भनेको वयस्कहरूले नै हो। किनभने यो समूह भिडभाडमा जान्छ र ल्याएर बच्चाहरूमा सङ्क्रमण गराइदिन्छ। वयस्कहरूले स्वास्थ्यका मापदण्डहरू राम्रोसँग पालना गरिदिने र समयमै खोप लिइदिने हो भने केही हदसम्म यसलाई नियन्त्रण गर्न सकिएला।"

पछिल्ला दिनमा सबैभन्दा बढी सङ्क्रमण २१ देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा भइरहेको देखिन्छ।

गत शुक्रवार उक्त उमेर समूहभित्र रहेका ३०० जना भन्दा बढीमा सङ्क्रमण देखिएको थियो।

अघिल्लो साताको तुलनामा उक्त सङ्ख्या दैनिक अहिले आठ गुनाभन्दा बढीले वृद्धि भएर २५ सय नाघेको छ।

के भन्छन् विज्ञ

इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाखाका पूर्वप्रमुख डा. वासुदेव पाण्डे ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमणको सङ्ख्या बढिरहेको हुनसक्ने बताउँछन्।

पर्सामा कोभिड परीक्षण गराउँदै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, रक्सौलबाट वीरगन्ज सीमानाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुको हेल्थ डेस्कमा परीक्षण गरिँदै

उनले भने, "हाम्रोमा त्यति राम्रोसँग नमुना सङ्ककल हुन सकेको छैन। यो हिसाबले भन्दा समुदायस्तरमा यो ठूलै लहरको रूपमा सङ्क्रमण फैलिरहेको १० दिनबीचको अवधिमा देखिएको छ।"

"धेरै व्यक्तिहरूलाई सङ्क्रमण भइसके पनि परीक्षणमा रहेको कमजोरीका कारण नदेखिएको हुनसक्छ।"

उनले अरू देशहरूको अनुभव हेर्दा आगामी साताहरूमा सङ्क्रमितको सङ्ख्या अझै वृद्धि हुने उल्लेख गरे।

डा. पाण्डे थप्छन्, "अहिलेसम्मको अध्ययनले हेर्दा ओमिक्रोन सजिलैसँग सर्न सक्छ। यसले घाँटीको माथिल्लो भागमा सङ्क्रमण गराउँछ र अहिलेसम्मको अध्ययनले तल फोक्सोमा खासै असर नगर्ने देखाएको छ।"

"श्वासप्रश्वासमा मात्रै असर हुने र दुवै मात्रा खोप लगाएको व्यक्तिलाई पनि सङ्क्रमण हुन सक्ने भएकाले प्राकृतिक रूपमा ‌ओमिक्रोनविरुद्धको एन्टिबडी नआउन्जेलसम्म यो रोग अझै व्यापक रूपमा नै हुन्छ र समुदायमा ४० देखि ५० प्रतिशतलाई भएपछि मात्रै कम भएर जान्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने

कस्तो कदम चाल्नुपर्छ

नेपालमा सङ्क्रमण वृद्धि भएको भए पनि अहिलेसम्म अस्पतालहरूमा चाप बढिनसकेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन्।

अधिकारीहरूले कुन भेरिअन्टका कारण सङ्क्रमण वृद्धि भइरहेको छ भनेर स्पष्ट नबताए पनि अघिल्लो साता पौष महिनामा सङ्कलित १,१४६ वटा नमुनाको एस-जीन स्क्रीनिङ गरिएको र त्यसको २२ प्रतिशतमा एस-जीन नभएको पत्ता लागेको थियो।

एस-जीन नभएका भनिएका २५० नमुनामध्ये २४ वटालाई जीन सीक्वन्सिङका लागि पठाउँदा सबैमा ओमिक्रोन पाइएको थियो।

खोप अभियान

तस्बिर स्रोत, RSS

सरुवा रोगसम्बन्धी विशेषज्ञ डा. अनुप बास्तोला सङ्क्रमण समुदायस्तरमा फैलिएकाले खोप अभियान तीव्र बनाउनुका साथै नयाँ देखिने सङ्क्रमितहरूको निगरानी बढाउनुपर्ने बताउँछन्।

उनले भने, "नयाँ भेरिअन्टका कारण खोप लगाएकामा पनि सङ्क्रमण देखिन्छ। पहिला सङ्क्रमित भइसकेका व्यक्तिहरू पनि नयाँ भेरिअन्टका कारण फेरि सङ्क्रमित हुन सक्छन्। हामीले एकदमै नजिकबाट नियालेर अस्पतालमा भर्ना हुनेको दर के छ भनेर हेर्नुपर्छ।"

"रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियानलाई तीव्र बनाउनुपर्छ। कोही अस्पताल भर्ना भयो भने खोप लगाएको व्यक्ति हो वा होइन कुनै गम्भीर समस्या थियो या थिएन यस्ता विषयको सूक्ष्म ढङ्गले निगरानी गर्न सकियो भने भावी दिनमा कस्तो असर पर्न सक्छ भनेर आकलन गर्न सकिन्छ।"

विगतमा के कमजोरी देखिए

यसअघि गएको चैत-वैशाखमा कोरोनाभाइरसको महामारीको दोस्रो लहरले नेपालको स्वास्थ्यप्रणालीमा रहेका कमी कमजोरीलाई उजागर गरिदिएको थियो।

त्यस बेला अस्पतालहरूमा शय्याहरूको अभाव हुनुका साथै अक्सिजन, भेन्टिलेटर र आईसीयू जस्ता अत्यावश्यक संरचनाको अभावका कारण सर्वसाधारणहरूले सास्ती खेप्नुपरेका विवरण आएका थिए।

सङ्क्रमणको दर पनि ह्वातै बढेको थियो जसले गर्दा स्वास्थ्यसंस्थाहरूले थेग्नै नसकिने प्रकारको चाप खेप्नुपरेको बताएका थिए।

गत वैशाख ८ गते पीसीआर परीक्षण गराउने झन्डै ८,८५० जनामध्ये २५ प्रतिशतभन्दा बढीमा कोभिड-१९ पुष्टि भएको थियो।

एकै दिनमा पुष्टि भएका सङ्क्रमितहरूको सङ्ख्या वैशाख २८ गतेसम्म आइपुग्दा वृद्धि भएर ९,४८३ पुगेको थियो जुन हालसम्मकै सर्वाधिक हो।

त्यस दिन सार्वजनिक गरिएका विवरणमा २२५ जनाले ज्यान गुमाएको उल्लेख छ।

त्यस बेला एक दिनमा करिब ११ सय जना आईसीयूमा र ३०० जना भेन्टिलेटरमा रहेको सरकारी तथ्याङ्क छ।

हाल झन्डै २८ सय आईसीयू बेड, एक हजारभन्दा बढी भेन्टिलेटर र १४ हजार अक्सिजन सिलिन्डर मौज्दात रहेको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको थियो।

थप निगरानी आवश्यक

अहिलेको ओमिक्रोन भेरिअन्ट एकदमै घातक प्रकृतिको नरहेका अध्ययनहरूले देखाइरहेकाले विगतको जस्तो चाप स्वास्थ्य संस्थामा नदेखिने आफूहरूलाई लागेको विज्ञहरू बताउँछन्।

सङ्क्रमण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सङ्क्रमित बढे पनि राजधानीमा भिड घटेको छैन

डा. बास्तोला भन्छन्, "दोस्रो लहरमा जुन किसिमको गम्भीर लक्षणहरू देखिएका र अस्पतालहरूमा भर्ना हुने क्रम थियो त्यो अहिलेसम्म सुनिएको छैन। तर जसरी सङ्क्रमण बढिरहेको छ त्यो हेर्दा केही हप्तामा यो उच्चबिन्दुमा पुग्छ। त्यही भएर हामी रोकथामका उपायमा सुरक्षित हुन जरुरी छ।"

तर सङ्क्रामक रोग विशेषज्ञ डा. बाबुराम मरासिनी यस पटक अस्पतालमा विगतमा जस्तो चाप नदेखिन सक्ने बताउँछन्।

उनले भने, "यो तेस्रो लहरको सुरुवात हो जस्तो मलाई लाग्छ। सरकारले पनि यो आमिक्रोन हो कि डेल्टा भेरिअन्ट हो कि स्पष्टसँग भन्न सकेको छैन। ओमिक्रोन हो भने व्यापक सङ्क्रमित बनाए पनि फाट्टफुट्टबाहेक अस्पताल जानुपर्ने अवस्था आउँदैन भनिएको छ किनभने यसले फोक्सोको निमोनिया गराउँदैन।"

"त्यही भएर अस्पतालमा चाप अलिक कम हुने हो की भन्ने आकलन गर्न सकिन्छ।"

विज्ञहरूले सरकारले खोप केन्द्रहरू विस्तार गर्नुपर्ने र बढी सङ्क्रमण देखिएका क्षेत्रमा निगरानी बढाउनुपर्ने पनि उल्लेख गरेका छन्।

सरकारले पौष मसान्तभित्र १९ वर्षको उमेर समूहका दुईतिहाइ नागरिकलाई पूर्ण मात्रा खोप दिने लक्ष्य राखेको छ।

उक्त लक्ष्य हासिल गर्न सम्भव नदेखिने सङ्केत देखिएका बेला यसै साता विभिन्न सार्वजनिक सेवाहरू उपभोग गर्न खोप कार्ड अनिवार्य हुनुपर्ने नियम ल्याइएको छ।