कोभिड खोप: केही खेलाडी किन कोरोना भाइरसविरुद्ध खोप लगाउन तयार छैनन्

सन् २०२० को अस्ट्रेलियाली ओपेन टेनिस प्रतियोगितामा नोभाक जोकोविच।

तस्बिर स्रोत, Getty Images

    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी वर्ल्ड सर्भिस

अस्ट्रेलिया पुगेका टेनिस खेलाडी नोभाक जोकोविचलाई कोभिड-१९ को खोपसम्बन्धी नियम पालना नगरेको कारण देखाउँदै अध्यागमन अधिकारीहरूले केही दिनअघि हिरासतमा लिएका थिए। उनी पहिलो वरीयताका टेनिस खेलाडी हुन्।

विश्वभरि जोकोविच प्रकरणको चर्चा भइरहँदा थियागो मोन्टेरोले भने आसन्न अस्ट्रेलियाली ओपेन टेनिस प्रतियोगिताका लागि आफ्नो प्रशिक्षण जारी राखे।

उनान्नब्बेऔँ वरीयतामा रहेका ब्रजिलका यी खेलाडी प्रतियोगितामा स्थान गुम्ने कुनै पनि जोखिम उठाउन तयार छैनन्। किनभने उनले पहिलो चरणको खेलमा सहभागी हुँदा नै पुरस्कारस्वरूप एक लाख अमेरिकी डलर रकम पाउँछन्।

तर अस्ट्रेलियाको कडा खोप नीतिका कारण मात्र उनले प्रतियोगिताअघि खोप लगाएका भने होइनन्।

"मेरो खोप लगाउने निर्णयको अस्ट्रेलियन ओपनसँग कुनै सम्बन्ध छैन। यो मैले आफू र अरूलाई सुरक्षित राख्न गरेको कार्य मात्र हो," बीबीसीसँगको कुराकानीमा मोन्टेरोले भने।

श्रेष्ठ खेलाडीहरूको अनिच्छा

पुरुष टेनिस खेलाडीहरूको नियामक संस्था असोसिएशन अफ टेनिस प्रोफेसनल्स (एटीपी)का अनुसार शीर्ष १०० वरीयताका ९५ प्रतिशतभन्दा धेरै र कुल पुरुष टेनिस खेलाडीको ८० प्रतिशतले खोपको दुवै मात्रा लगाइसकेका छन्।

तर यो सङ्ख्या गत अक्टोबरमा अस्ट्रेलियन ओपनले अनिवार्य खोप नीति घोषणा गरेपछिको हो। उक्त घोषणा हुनुभन्दा अघि खोप ६५ प्रतिशतभन्दा कम खेलाडीले खोप लगाएका थिए।

विमन्स टेनिस असोसिएशन (डब्ल्यूटीए) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८० प्रतिशतभन्दा धेरै महिला खेलाडीले दुई मात्रा खोप लगाइसकेका छन्। अरू महिला खेलाडीले पनि दुवै मात्रा खोप लगाउने क्रम बढेको छ। ज्यानुअरी ६ सम्ममा शीर्ष १०० वरीयताका ८५ प्रतिशत महिला खेलाडीले दुवै मात्रा खोप लगाएका थिए।

ब्राजिली खेलाडी थियागो मोन्टेरो।

तस्बिर स्रोत, Getty Images

जोकोविचको जस्तै घटना बास्केटबल, गल्फ र फुटबलजस्ता खेलमा पनि देखिएको छ।

तर स्वास्थ्यप्रति अधिकतम सचेत भएका श्रेष्ठ खेलाडीहरू नै किन खोप लगाउन हिचकिचाइरहेका छन् त?

यस प्रश्नको सहज उत्तर दिन मोन्टेरो स्वयं सङ्घर्षरत छन्।

खोप लगाउन असहमति जनाउनेहरूको नाम लिन अस्वीकार गर्दै मोन्टेरोले व्यावसायिक खेलाडीहरूले वैज्ञानिक सुझावमाथि प्रश्न उठाएको देख्दा आफू वास्तवमै चकित भएको स्वीकार गरे।

"मलाई साँच्चै यो किन भइरहेको छ स्पष्ट कारण थाहा छैन। तर मलाई लाग्छ यो खोपबारे फैलिएको मिथ्या जानकारीको परिणाम हो," उनले सम्भावित कारणबारे बोले।

यूकेस्थित सोलन्ट विश्वविद्यालयका स्वास्थ्य मनोवैज्ञानिक डा. ड्यारन ब्रिटनले यस्तो आनाकानी बुझ्ने पहिलो प्रयासस्वरूप सर्वसाधारण मानिसको तुलनामा कसरी खेलाडीहरू आफ्नो शरीरलाई लिएर अधिक चिन्तित हुन्छन् भन्ने निरीक्षण हुनुपर्ने कुरामा जोड दिन्छन्।

डा. ब्रिटन भन्छन्,"खेलाडीहरूका लागि सबैभन्दा मूल्यवान् सम्पत्ति उनीहरूको शरीर हो।"

"यथेष्ट जानकारी नहुँदा वा मिथ्या जानकारीका कारण उनीहरूमध्ये केही खोप लगाउन हिचकिचाएको हुन‍सक्छ।"

"खोपलाई लिएर सुरुसुरुमा केही चिन्ताहरू थिए। जस्तैः खोपले कतै उनीहरूको खेलमा दुष्प्रभाव पार्छ अथवा डोपिङमा पो परिन्छ कि भन्ने," उनले थपे।

गत वर्ष मात्र जोकोविचले आफू "खोपको विरुद्ध" रहेको बताएका थिए।

उनीजस्तै श्रेष्ठ खेलाडीहरूले सार्वजनिक रूपमा खोपप्रति प्रश्न उठाउँदा यस्तो स्थिति अझ बढ्ने धारणा डा. ब्रिटनजस्ता विशेषज्ञहरूको छ।

आरोन रोजर्स।

तस्बिर स्रोत, Getty Images

यस्तै स्थिति अमेरिकाको न्याश्नल फुटबल लीग (एनएफएल) प्रतियोगितामा पनि देखियो। एनएफएलका अनुसार उसका ९० प्रतिशत खेलाडीहरूले दुवै मात्राको खोप लगाइसकेका छन्। तर त्यहाँका एक खेलाडी आरोन रोजर्सले कोभिड-१९ विरुद्ध वैकल्पिक प्रतिरक्षात्मक उपायस्वरूप होमियोप्याथी प्रयोग गरे।

उनलाई खोपको बारेमा सर्वसाधारण मानिसलाई भ्रमित तुल्याएको आरोप समेत लागेको थियो।

ब्रिटिश फुटबलमा पनि खेलाडीहरूले खोप लगाउन आनाकानी गरेका छन्। त्यहाँ कोभिड-१९ फैलिएसँगै कैयौँ खेलहरू स्थगन भएका थिए।

यूकेमा तल्लो श्रेणीका फुटबल समूहहरूको नियामक निकाय इङ्ग्ल्यान्ड फुटबल लीगले खोपलाई लिएर आफ्ना ७२ टोलीका खेलाडीहरूमा एउटा सर्वेक्षण गरेको थियो। डिसेम्बरको अन्त्यतिर सार्वजनिक गरिएको उक्त सर्वेक्षणको नतिजाअनुसार एकचौथाइ खेलाडीले "खोप लगाउने आफ्नो इच्छा नरहेको" बताएका थिए।

यूकेको शीर्ष एवं प्रतिष्ठित प्रीमीअर लीग खेल्ने २३ प्रतिशत खेलाडीले खोपको एक मात्रा मात्र लगाएको वा दुवै मात्रा नलगाएको पाइएको थियो।

शङ्का र हल्लाबाट प्रभावित

"हामीहरू खेलाडीलाई आदर्श मान्छौँ। तर उनीहरू मिथ्या जानकारी वा शङ्काका सिद्धान्तप्रति हामी सर्वसाधारण मानिसजति नै संवेदनशील छन्," नटिङ्गम ट्रेन्ट विश्वविद्यालयको स्वास्थ्य तथा खेलकुद विभागमा कार्यरत वरिष्ठ अध्यापक डा. ग्याभिन वीडनले भने।

डा. वीडन एउटा नयाँ अनुसन्धानका संयोजक हुन् जसले विशेषगरी खेलाडीहरूमा 'खोपप्रतिको अनिच्छा'का बारेमा अध्ययन गरिरहेको छ। खोप र प्रतिरक्षाबारे विवाद र बहस भइरहँदा खेलाडीहरूलाई अलग्गै राख्न नहुने चेतावनी उनले दिए।

"नोभाक जोकोविचले केही नभनेको खण्डमा पनि विश्वस्तरमा हामी कहाँ खोप लगाउन नचाहनेको समूह ठूलो हुने थियो," उनले आफ्नो धारणा राखे।

तर विशेषज्ञहरूले "श्रेष्ठ भनिएका व्यक्तिहरूले खोपविरुद्ध देखाएको व्यवहार" खोप लगाउने दर वृद्धि गर्न भइरहेका प्रयासहरू प्रति अनुत्पादक हुने बताए।

"उनको उद्देश्य थियो या थिएन, तर जोकोविच यतिबेला आफ्नो हैसियत र अभिव्यक्तिका कारण खोपबारे शङ्का गर्नेहरूको प्रतिनिधि अनुहार बनेका छन्," डा. ब्रिटनले भने।

खोपविरूद्ध प्रचार सामाग्री।

तस्बिर स्रोत, Getty Images

स्वास्थ्य अधिकारी, खेलकुद निकाय र समूहहरूले जारी गरेको खोप आदेशका कारण खेलाडीमा खोप लगाउने दर बढे पनि यस्ता आदेशका कारण खेलाडीलाई "खोपदूत" नियुक्त गर्ने पहलमा बाधा पुग्ने उनको आशङ्का छ।

"तपाईँ केही कुरालाई जति बाध्यकारी बनाउनुहुन्छ मानिसहरू उति त्यसलाई प्रतिरोध गर्न लालायित हुन्छन्," उनले भने।

"यदि हामी खेलाडीहरू वास्तवमै उदाहरणीय बनून् भन्ने चाहन्छौँ भने उनीहरूलाई सूचित र शिक्षित बनाउन जरुरी छ।"

थियागो मोन्टेरोका लागि खोप नलगाउनु कहिल्यै विकल्प थिएन।

आफ्नै आमाको कमजोर स्वास्थ्यस्थिति र आफ्नो देश ब्रजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या छ लाखभन्दा बढी भएकाले उनी स्तब्ध थिए।

जोकोविचको नाम नतोकी उनले खेलाडीहरूले आफ्नो कार्यको सम्भावित परिणामबारे विचार गर्नुपर्ने बताए।

"खोपका बारेमा मानिसहरूका आआफ्नै धारणा हुन सक्छन्। यद्यपि खोपले जीवनरक्षा गर्ने कुरा धेरै पटक प्रमाणित भइसकेको छ," उनले भने।

"तर मलाई थाहा छ विश्वभरि धेरै मानिसहरूले हामीलाई नियालिरहेका छन्। यदि हामीसँग साँच्चिकै उनीहरूलाई प्रभाव पार्न सक्ने क्षमता छ भने राम्रो तरिकाले प्रभावित पार्न सकियोस् भन्ने सुनिश्चित गरौँ," उनले बीबीसीसँग भने।