श्रीलङ्काः देश आर्थिक सङ्कटमा फसेपछि राष्ट्रपति गोटाबय राजपक्षद्वारा चीनलाई ऋण तिर्न सजिलो पारिदिन आग्रह

श्रीलङ्काका राष्ट्रपति र चीनका विदेशमन्त्री

तस्बिर स्रोत, Reuters

देश आर्थिक सङ्कटमा परेपछि श्रीलङ्काका राष्ट्रपतिले आफ्नो देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्न चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह गरेका छन्।

गोटाबय राजपक्षले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतवार भएको भेटमा सो अनुरोध गरेका हुन्।

गएको एक दशकमा चीनले श्रीलङ्कालाई सडक, विमानस्थल र बन्दरगाह बनाउन पाँच अर्ब अमेरिकी डलरभन्दा बढी ऋण प्रवाह गरेको छ।

तर आलोचकहरूले सो पैसा फाइदा नहुने अनावश्यक योजनाहरूमा खर्च गरिएको बताउने गरेका छन्।

"कोभिड-१९ महामारीका कारण देखिएको आर्थिक सङ्कटको समाधानका लागि ऋण भुक्तानीलाई पुनर्संरचना गर्न ध्यान दिए देशका लागि ठूलो सहयोग हुने राष्ट्रपतिले औँल्याउनुभयो," राजपक्षको कार्यालयले बताएको छ।

विज्ञप्तिमा चीनलाई श्रीलङ्का निर्यात हुने वस्तुमा "सहुलियत" दिन पनि अनुरोध गरिएको बताइएको छ। यद्यपि त्यसबारे थप विवरण दिइएको छैन।

श्रीलङ्का

तस्बिर स्रोत, EPA

गत वर्ष श्रीलङ्काले चीनबाट साढे तीन अर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो।

राजपक्षले चिनियाँ पर्यटकहरूले कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएका कडा नियमको पालना गरेमा श्रीलङ्काको ढोका उनीहरूका लागि खोल्न सकिने बताएका छन्।

महामारीअघि श्रीलङ्का आउने पर्यटकमा सबैभन्दा ठूलो सङ्ख्या चिनियाँको थियो र उनले चीनबाट अन्य देशभन्दा धेरै सामान आयात गरेको थियो।

श्रीलङ्कामा सङ्कट

हालैका महिनामा श्रीलङ्कामा ऋण र विदेशी मुद्राको गम्भीर सङ्कट देखिएको छ। अनि पर्यटनबाट हुने आम्दानी सुक्दा स्थिति झन् बिग्रिएको छ।

श्रीलङ्कालाई सबैभन्दा बढी ऋण दिने सूचीमा अन्तर्राष्ट्रिय वित्त बजारबाहेक एशियाली विकास ब्याङ्क र जापानपछि चीन चौथो स्थानमा छ।

श्रीलङ्काले यो वर्ष साढे चार अर्ब अमेरिकी डलर ऋण तिर्नुपर्नेछ। त्यसमध्ये ५० करोड डलर ज्यानुअरी १८ मा तिर्नुपर्नेछ।

त्यहाँको केन्द्रीय ब्याङ्कले यो वर्षको ऋण तिरिने र ज्यानुअरीको ऋण भुक्तानीका लागि पैसा छुट्टाइसकेको बताएको विवरण आएका छन्।

चीनलाई विश्वसँग जोड्ने दीर्घकालीन बेल्ट एन्ड रोड इनिशटिभमा श्रीलङ्का महत्त्वपूर्ण साझेदार हो।

चियाबारी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानलाई २५ करोड डलरबराबरको ऋण तिर्न श्रीलङ्काले मासिक ५० लाख डलरको चिया पठाउन लागेको छ

अमेरिकासहित कतिपय राष्ट्रले यसलाई गरिब र साना देशका लागि ऋणको पासो बताएको गरेका छन्।

बेइजिङले सो आरोपलाई अस्वीकार गर्दै पश्चिमा देशहरूले आफ्नो छवि बिगार्न प्रयास गरेको आरोप लगाउने गरेको छ।

गत महिना श्रीलङ्काका एक मन्त्रीले इरानसँग तेल किन्दा बाँकी रहेको ऋण चियापत्ती दिएर तिर्ने बताएका थिए।

इरानलाई तिर्न बाँकी २५ करोड डलर ऋण तिर्न मासिक ५० लाख डलरको चिया पठाउने श्रीलङ्काको योजना छ।

गत सेप्टेम्बरमा खाद्य सामग्रीको मूल्य बढेका कारण आफ्नो मुद्राको मूल्य घटेपछि श्रीलङ्काले आर्थिक सङ्कटकाल घोषणा गरेको थियो।