कोरियाः कडा सुरक्षा घेराबीच एक दक्षिण कोरियाली भागेर उत्तर कोरियाली क्षेत्र प्रवेश

कोरियाली सैनिक

तस्बिर स्रोत, Getty Images

एक जना दक्षिण कोरियाली नागरिकले सधैँ उच्च रहने सुरक्षा व्यवस्थाबीच उत्तर कोरियासँगको सीमा पार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

देश छोडेर भाग्न खोजेको ठानिएका ती व्यक्तिले उनलाई खोजिरहेका दक्षिण कोरियाली सैनिकहरूलाई समेत कैयौँ घण्टासम्म छल्न सफल भएका थिए।

सउलस्थित सेना प्रमुखले ती व्यक्ति जीवितै रहे नरहेको आफूहरूलाई थाहा नभए पनि उत्तर कोरियालाई सजग रहन भनिएको बताएका थिए।

उत्तर कोरियाले महामारीको समयमा विना अनुमित सीमा पार गर्नेहरूलाई देख्नासाथ गोली हान्ने नीति लिएको बताइएको छ।

पूर्वी तटीय बिन्दुको दुई कोरियाबीच सीमा छुट्टाउने असैनिकीकृत (दशगजा) क्षेत्रमा ती व्यक्ति शनिवार स्थानीय समयानुसार राति नौ बजेर २० मिनेटमा देखा परेको दक्षिण कोरियाली अधिकारीले जानकारी दिए।

विगतमा पनि सीमा पार सम्बन्धी यस्तै घटना भएपछि सउलका रक्षा अधिकारीहरूले सीमा रक्षा प्रणालीमा व्यापक सुधार गर्ने वाचा गरेका थिए।

भगौडालाई कठोर सजाय

सन् २०२०को सेप्टेम्बरमा उत्तर कोरियाली सैनिकहरूले समुद्रबाट हराइरहेका एक जना दक्षिण कोरियाली माछा मार्ने मामिला हेर्ने अधिकारीलाई गोली प्रहारी मृत्युदण्ड दिएर जलाएका अनुमान गरिएको थियो।

उक्त घटनालाई "क्रूर कार्य"को सङ्ज्ञा दिँदै सउलले त्यसको निन्दा गरेको थियो।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए। उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो।

विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सउल पुगेको थियो।

त्यो घटनाले ठूलो खैलाबैला भएपछि प्योङयाङले कोरोना भाइरस सम्बन्धी नियमलाई दोष देखाउँदै माफी मागेको थियो।

यसअघि उत्तर कोरियाली नेता किम जङ अनले दक्षिण कोरियाबाट एक जना कोभिड लक्षण भएका व्यक्ति उत्तर कोरिया प्रवेश गरेको भन्दै एउटा सहर बन्द गर्नुका साथै राष्ट्रिय सङ्कटकाल घोषणा गरेका थिए।

महामारी लक्षित लकडाउन र प्रतिबन्धहरूले देशभित्र हुने आवतजावतमा कडाइ भएपछि उत्तर कोरिया छोडेर दक्षिण कोरिया प्रवेश गर्नेहरूको सङ्ख्यामा पनि कमी आएको थियो।

उत्तर र दक्षिण कोरियाबीचको सीमा विश्वमा सबैभन्दा धेरै सैन्य सुरक्षा व्यवस्था भएको सीमा मध्येमा पर्छ।

यो सीमा जमिनमुनि विच्छ्याइएको विस्फोटक पदार्थ , करेन्ट बहने काँडे तार र सीसीटिभी क्यामरा सहित २४ घण्टा सतर्क अवस्थामा रहने सुरक्षाकर्मीहरूको निगरानीमा रहन्छ।

दर्जनौँ मानिसहरू प्रत्येक वर्ष उत्तर कोरिया छोडेर भाग्छन्। तर डीएमजेड भनिने कडा सुरक्षा व्यवस्था भएको असैनिकीकृत क्षेत्र पार गरेर भाग्ने घटना अतिदुर्लभ र धेरै खतरनाक हो।

भाग्ने घटना

कोरियाली प्रायद्वीपमा देश छाडेर भाग्नेहरू धेरैजसो उत्तर कोरियाली हुन्छन् जो आफ्नो देशबाट भागेर लोकतान्त्रिक र सम्पन्न रहेको दक्षिण कोरिया जान खोज्छन्। र, यसरी भाग्ने काम निकै खतरनाक हुन्छ।

सन् २०१९ मा एक जना उत्तर कोरियाली कूटनीतिज्ञले भागेर सपरिवार दक्षिण कोरियामा शरण लिएका थिए। त्यसअघि सन् २०१७ मा दक्षिणतिर जान लागेका एक सैनिकलाई उनका सहकर्मीहरूले ४० चोटि गोली हानेका थिए।

केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरूले हिँडेरै सीमा काटेका छन्।

सउलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध रोकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैर कानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

दक्षिण कोरियाली तथ्याङ्कअनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाबाट भागेर जानेहरूको सङ्ख्यामा केही कमी आएको छ।

सन् २०११ मा २,७०६ जना भागेर गएकामा सन् २०१७ मा यो सङ्ख्या घटेर १,१२७ रहेको थियो।

सन् २०११ मा किम जङ अन शासनमा आएपछि उत्तर कोरियाबाट देश छोडेर दक्षिण भाग्नेहरूको सङ्ख्यामा उल्लेख्य कमी आएको तथ्याङ्क छ।

पहिले सफलतापूर्वक सीमा पार गर्ने सम्भावना ५० प्रतिशतसम्म रहेकोमा पछिल्लो समय यो सम्भावना १० प्रतिशत मात्रै रहेको उत्तर कोरिया छोडेर भागेका एक जनाले बीबीसीलाई बताएका छन्।

उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ। अधिकांश मानिसहरू भागेर चीन हुँदै दक्षिण कोरिया पुग्छन्।

कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मानिन्छ।

चीनले भागेर आएकाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिन्छ र प्राय: उनीहरूकै देश फर्काइदिन्छ।

दक्षिणबाट भागेर उत्तर कोरिया जाने घटना चाहिँ निकै विरल हुन्छ र उनीहरू तथाकथित "दोहोरो भगौडा" हुन्, जो पहिला उत्तर कोरियाबाट भागेर दक्षिण पुगेका र फेरि दक्षिणबाट उत्तर नै फर्कन चाहन्छन्।

सन् १९९० को दशकको मध्यतिर भोकमरीका कारण उत्तर कोरियामा हजारौँ मानिस मारिएको ठानिएका बेला त्यस्तो घटना चाहिँ धेरै सामान्य हुने गरेको बताइन्छ।