उत्तर कोरियाली सैनिक खतरनाक सीमाबाट भागेर दक्षिण कोरिया छिरेको दाबी

सीमामा दुवै देशका हजारौँ सैनिक खटेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सीमामा दुवै देशका हजारौँ सैनिक खटिएका छन्

कडा सुरक्षाव्यवस्था भएको दुई देशको सीमा पार गर्दै दक्षिण कोरिया प्रवेश गरेका एक उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको दक्षिण कोरियाली सेनाले बताएको छ।

दक्षिण कोरियाले जडान गरेको विशेष खालको थर्मल इमेजिङ उपकरणमा ती सैनिक बुधवार राति सो क्षेत्रमा आएको पत्ता लागेको थियो।

दक्षिण कोरियाको सेनाका अनुसार परिचय स्पष्ट नभएका ती उत्तर कोरियाली सैनिकले शरण लिने इच्छा देखाएका छन्।

दर्जनौँ मानिसहरू प्रत्येक वर्ष उत्तर कोरिया छोडेर भाग्छन्। तर डीएमजेड भनिने कडा सुरक्षा व्यवस्था भएको असैनिकीकृत क्षेत्र पार गरेर भाग्ने घटना अतिदुर्लभ र धेरै खतरनाक हो।

सन् २०१७ को नोभेम्बरमा भागेर दक्षिणतिर जना लागेका एक सैनिकलाई उनका सहकर्मीहरूले ४० चोटि गोली हानेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन् २०१७ मा यसरी एक सैनिक भागेर दक्षिण कोरियातिर छिर्न खोजेका थिए

डीएमजेडको दुईपटि्ट दुवै देशका हजारौँ सैनिकहरू खटेका हुन्छन्।

कोरियाली प्राय:द्वीपको पश्चिममा उत्तर कोरियाबाट बगेर दक्षिणतिर आएको इम्जिन नदीनजिकै बुधवार मध्यरातपछि ती सैनिकलाई पहिलो पटक देखिएको थियो।

त्यसपछि दक्षिण कोरियाली सैनिकहरूले उनलाई आफ्नो नियन्त्रणमा लिए।

यो घटना दक्षिण कोरियाले मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको भोलिपल्ट भएको हो।

उत्तरको सरकारी सञ्चारमाध्यम केसीएनएले देशका सर्वोच्च नेता किम जङ-अनको उपस्थितिमा नयाँ क्षेप्यास्त्रको परीक्षण भएको जनाएको छ।

उक्त परीक्षण दक्षिण कोरिया र अमेरिकाका सेनाले गर्ने भनेको अभ्यासलाई चेतावनी दिन गरिएको उत्तरको भनाइ छ।

भाग्ने घटना ‍

कोरियाली प्रायःद्वीपमा भगौडाहरू सामान्यतया उत्तर कोरियाली हुन्छन् जो आफ्नो देशबाट भागेर लोकतान्त्रिक र सम्पन्न रहेको दक्षिण कोरिया जान खोज्छन्। र, यसरी भाग्ने काम निकै खतरनाक हुन्छ।

डीएमजेड

तस्बिर स्रोत, Getty Images

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध सकिएयता ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

दक्षिण कोरियाली तथ्याङ्कअनुसार पछिल्ला वर्षमा चाहिँ उत्तर कोरियाली भगौडाहरूको सङ्ख्यामा केही कमी आएको छ।

सन् २०११ मा २,७०६ जना भागेर आएकोमा सन् २०१७ मा यो सङ्ख्या घटेर १,१२७ रहेको थियो।

केही घटनामा त गोलीको समेत परवाह नगरी सैनिकहरू हिँडेरै सीमा कटेका छन्।

अधिकांश भगौडा चीन भएर दक्षिण कोरिया पुग्छन्। उत्तर कोरियासँग चीनको लामो सीमा जोडिएको छ।

कडा सुरक्षा भएको दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रबाट भाग्नुभन्दा त्यसरी जानु सहज मानिन्छ।

चीनले भगौडाहरूलाई गैरकानुनी आप्रवासीको रूपमा लिइन्छ र प्राय: उनीहरूकै देश फर्काइदिन्छ।

दक्षिणबाट भागेर उत्तर कोरिया जाने घटना चाहिँ निकै विरल हुन्छ र उनीहरू तथाकथित "दोहोरो भगौडा" हुन्, जो पहिला उत्तर कोरियाबाट भागेर दक्षिण पुगे र फेरि दक्षिणबाट उत्तर पुग्छन्।

सन् १९९० को दशकको मध्यतिर भोकमरीका कारण उत्तर कोरियामा हजारौँ मानिस मारिएको ठानिएका बेला त्यस्तो घटना चाहिँ धेरै सामान्य थियो।