मिशनरीज अफ च्यारिटीः भारत सरकारद्वारा मदर टेरेसाको संस्थालाई विदेशी दाताबाट सहयोग लिन रोक

तस्बिर स्रोत, Getty Images
भारतमा मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थाले विदेशबाट आर्थिक सहयोग लिन पाउने अनुमति नवीकरण गर्न भारत सरकारले अस्वीकार गरिदिएको छ।
टेरेसाले मानवसेवाका लागि नोबेल पुरस्कार पाएकी थिइन्।
भारतमा मिशनरीज अप च्यारिटीसँग हजारौँ इसाई ननहरू आबद्ध छन्। उनीहरू टुहुरा बालबालिकाका लागि सञ्चालित आश्रयस्थल, विद्यालय, क्लिनिक र हस्पिसको रेखदेखमा खट्छन्।
भारतको गृह मन्त्रालयले "केही प्रतिकूल निवेशबारे पत्ता लागेकाले" मिशनरीज अफ च्यारिटीको दर्ता नवीकरण अस्वीकार गरिएको जनाएको छ।
चरमपन्थी हिन्दूहरूले उक्त संस्थाले आफ्ना कार्यक्रमहरूको आडमा धर्मप्रचार गर्न तथा मानिसहरूलाई धर्म परिवर्तन गराएर इसाई बनाउन खोजेको आरोप लगाउने गरेका छन्।
तर मिशनरीज अफ च्यारिटीले त्यस्ता आरोपको खण्डन गरेको छ।
सोमवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले संस्था नवीकरणको आफ्नो आवदेन अस्वीकृत भएको पुष्टि गरेको छ। यो विषय टुङ्गोमा नपुगुन्जेलसम्म आफूले कुनै विदेशी खाता नचलाउने उसको भनाइ छ।
मिशनरीज अफ च्यारिटीसँग कति पैसा छ?
यसअघि पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सरकारले च्यारिटीका ब्याङ्क खाताहरू रोक्का गरिदिएको भन्दै ट्वीट लेखेपछि उनको आलोचना भएको थियो।
तर सङ्घीय सरकारले ब्याङ्क खाताहरू रोकिएको आरोपको खण्डन गरेको छ।

तस्बिर स्रोत, Reuters
ममता बनर्जीले च्यारिटीलाई रोक लगाउँदा २२,००० बिरामी तथा कर्मचारीले खाना तथा औषधि नपाउने टिप्पणी गरेकी थिइन्। कानुन सर्वोपरि भए पनि मानवीय प्रयासमा कुनै प्रभाव पर्नु नहुने उनको धारणा थियो।
'द हिन्दू' पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले मिशनरी अफ च्यारिटीले ३४७ विदेशीबाट व्यक्तिगत र ५९ वटा संस्थाबाट ७५ करोड भारतीय रुपैयाँ दान लिएको जनाएको छ।
उक्त संस्थाको खातामा गत वर्ष विदेशबाट प्राप्त २७.३ करोड रुपैयाँ बाँकी भएको र अहिले कुल १०३.७६ करोड रुपैयाँ भएको विवरण द हिन्दूले प्रकाशित गरेको छ।

मदर टेरेसा र मिशनरीज अफ च्यारिटी
रोमन क्याथोलिक नन मदर टेरेसा म्यासडोनियाबाट भारत आएकी थिइन्।
उनले कोलकातामा सन् १९५० मा कुष्ठरोगीहरूको सेवा गर्न मिशनरीज अफ च्यारिटी स्थापित गरेकी थिइन्।
संसारभरि चिनिएका क्याथोलिक परोपकारी संस्थामध्ये उक्त च्यारिटी पनि पर्छ।
मदर टेरेसाले सन् १९७९ मा नोबेल पुरस्कार पाएकी थिइन्।
उनको निधन सन् १९९७ सेप्टेम्बर ५ मा भयो। त्यसको १९ वर्षपछि पोप फ्रान्सिसले उनलाई सन् २०१६ मा "सेन्ट" घोषणा गरेका थिए।

तस्बिर स्रोत, Getty Images

नरेन्द्र मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टीको सरकारले भारतमा च्यारिटी तथा अन्य गैरसरकारी संस्थाले प्राप्त गर्ने वैदेशिक सहायतामा कडाइ गर्न खोजेको छ।
सरकारी नीतिका कारण गत वर्ष ग्रीनपीस र एम्नेस्टी इन्टर्न्याश्नलका ब्याङ्क खाताहरू रोक्का भए।
भारतमा धार्मिक अल्पङ्ख्यकविरुद्ध बेलाबेलामा आक्रमण हुने गरेको छ।
इभ्यान्जेलिकल फेलोशिप अफ इन्डियाका अनुसार दक्षिण भारतको कर्नाटक राज्यमा धेरै आक्रमण हुने गरेको छ। उसका अनुसार त्यहाँ धाकधम्की वा हिंसाका ४० वटा घटना जानकारीमा आएका छन्।
चरमपन्थी हिन्दूका भिजिलान्ते समूहहरूले भारतका केही स्थानमा क्रिसमसको उत्सवमा अवरोध गरेका थिए। उत्तर भारतमा एउटा गिर्जाघरमा आक्रमण पनि भएको थियो।
भारतमा बहुसङ्ख्यक हिन्दूहरूको बसोबास छ। देशको कुल जनसङ्ख्याको दुई प्रतिशत अर्थात् २.४ करोड मात्र इसाई छन्।
सरकारले हिन्दूहरूको धर्म परिवर्तन गराएर इसाई वा मुसलमान बनाउने खोजिएको भनिएको अभियानलाई दमन गर्न खोजेको छ।
भारतीय जनता पार्टीको शासन भएका राज्यमा विवाहपछि धर्म परिवर्तन गर्न रोक लगाउने कानुन पारित गरिएको छ वा त्यसबारे विचार गरिएको छ।

तस्बिर स्रोत, Reuters
भारतमा कुन धर्म मान्नेको जनसङ्ख्या कति?
सन् २०११ को जनगणना अनुसार भारतको एक अर्ब २० करोड जनसङ्ख्यामा हिन्दू ७९.८ प्रतिशत छन्। विश्वका हिन्दूमध्ये ९४ प्रतिशत भारतमा बस्छन्।
कुल भारतीयमध्ये १४.२ प्रतिशत मुस्लिम छन्। भारत विश्वमा धेरै मुस्लिम जनसङ्ख्या हुने मुलुकमध्येमा पर्छ। इन्डोनेशियापछि भारतमा सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या छ।
इसाई, सिख, बौद्ध र जैनहरू सबैको गरेर भारतमा ६ प्रतिशत जनसङ्ख्या छ।
सन् २०११ मा करिब ३० हजार भारतीयले मात्र आफूलाई नास्तिक बताएका थिए।
करिब ८० लाख मानिसहरूले आफूहरू कुनै पनि ठूला छवटा समूहभित्र नपर्ने बताएका थिए।
भारतमा ८३ वटा साना धार्मिक समूह थिए र तिनका कम्तीमा १०० जना अनुयायी थिए।
प्रत्येक महिना भारतमा करिब १० लाख निवासी थपिन्छन्। सोही गतिमा यो वृद्धि भइरहे सन् २०३० मा भारत चीनलाई उछिन्दै विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश बन्नेछ।
(स्रोत: २०११ को जनगणना, प्यू रिसर्च सेन्टर)

यो पनि हेर्नुहोस्









